कान्तिपुर संवाददाता
काठमाडौ, जेष्ठ २३ - माओवादीले चितवनका डाक्टर भक्तमान श्रेष्ठको अपहरणमा पार्टीलाई 'षडयन्त्रमूलक ढंगले मुछ्ने काम भएको' निष्कर्ष निकाल्दै त्यसको भण्डाफोर गर्ने बताएको छ ।
आइतबार बसेको माओवादी पदाधिकारी बैठकले अपहरण सम्वन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक भएको पनि बताएको छ । अमिक सेरचनको नेतृत्वमा पार्टीले गठन गरेको छानबीन समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि पार्टीले त्यस्तो निष्कर्ष निकालेको माओवादीले जनाएको छ ।
'अपहरणमा प्रकरणमा माओवादीलाई षडयन्त्रपूर्ण ढंगले मुछ्ने काम भएको छ । माओवादीमाथि लगाइएको आरोप सरासर झुठ हो भन्ने पुष्टि भइसकेको छ', बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'यस्तो घोर आपत्तिजनक आरोपको हामी भण्डाफोर गर्छौ ।' उनले श्रेष्ठलाई अपहरणमुक्त गराउन सरकार विफल भएको भन्दै उसको अंगले काम गर्न नसकेको बताए ।
भर्ना प्रकृयाबारे सरकार र सुरक्षा निकायसँग छलफल गर्ने
त्यसैगरी माओवादीले वृहत शान्ति सम्झौता विरुद्ध नेपाली सेनाको नयाँ भर्ना खोल्न लागिएको भन्दै आधिकारीक धारणा बुझ्न सरकार र सुरक्षा निकायसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
'नयाँ भर्नाको आधिकारीकताको लागि सरकार र सुरक्षा निकायसँग बुझ्छौ', श्रेष्ठले भने, 'यदि भर्ना खोल्न लागिएको हो भने त्यो अत्यन्तै गम्भीर र आपत्तिजनक छ । त्यसको विरुद्ध हामी अघि बढ्छौ ।'
राजीनामा आएपछि मात्रै सहमति
त्यसैगरी माओवादीले पाँच दिनभित्र राजीनामा दिने सहमतिको उल्लंघन गरेर सरकारले राष्ट्रिय आत्मसम्मानमा चोट पुर्याएको, राजनीतिको साख गिराएको र जनचाहनामा कुठाराघात गरेको आरोप लगाएको छ । माओवादीले प्रधानमन्त्रीको राजीनामापछि शान्ति प्रकृयामा न्यूनतम सहमति गरेर अघि बढ्न सकिने पनि बताएको छ ।
श्रेष्ठले भने, 'प्रधानमन्त्रीको राजीनामा आएपछि शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने बिषयमा न्यूनतम सहमति गरेर अघि बढ्न सकिन्छ ।'
बजेट अधिवेशनबारे छलफल
त्यसैगरी संसदीय मर्यादा र परम्परा तोडेर सरकारले सातौ हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै माओवादीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि छलफल गरेको छ ।
श्रेष्ठले भने, 'बजेट अधिवेशनमा कसरी भूमिका प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा पनि छलफल भयो ।' (ekantipur)
Sunday, June 6, 2010
षडयन्त्रपूर्ण अपहरण आरोपको भण्डाफोर गर्छौ : माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment