मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 8, 2010

मैले नबिर्सिने २० घटना

श्रीलोचन राजोपाध्याय
एक जमानाका नामी फुटबल खेलाडी गणेश थापाको फुटबलप्रतिको लगावले उनलाई चड्कन पनि खुवाएको थियो र फुटबलप्रेमीको धड्कन पनि बनाएको थियो । उनको तीसवर्षे फुटबल-जीवनका २० अविस्मरणीय घटनाः

कमल थापाको चड्कन

०२८ मा पद्मोदय स्कुल कक्षा ६ मा पढ्थेँ । एक दिन ज्ञानेश्वरमा फुटबल म्याच खेल्नु थियो । अघिल्लो दिन दाजु नेत्रबहादुर र कमल थापालाई भोलि फुटबल खेल्न जानुपर्छ भनेर भनेको थिइनँ । म्याचको अघिल्लो दिनै कुपन्डोल साथीको घरमा सुत्न हिँडेँ । त्यतिवेला अहिलेजस्तो घडी लगाउने चलन थिएन । रातभरि निद्रै लागेन । घरि-घरि हुनेवाला म्याचको तिर्सना मात्र आइरहयो ।

रातभरि आँखा झिमिक्क नगरी घरबाट हामी निस्कियौँ । कुपन्डोलबाट सिंहदरबार आएर चियापसलमा जेरी खाँदा बिहानको पौने चार भएको रहेछ । त्यसपछि हामी ज्ञानेश्वरतिर लाग्यौँ । यता, घरमा दाजुहरूले हरायो भन्दै मलाई रातभरि खोजेछन् । दुवै दाइ बिहान कतै ज्ञानेश्वरमै फुटबल खेल्दै त छैन भन्ने हेतुले खोज्दै खेलमैदान आइपुगे । मैले दुवै दाजुको अनुहारमा अजीवको आक्रोश देखेँ । के आँखा मात्र जुध्दै थिए, दाजु कमल थापाले मलाई एक्कासि गालामा आँैलाको डाम बस्नेगरी बजाए । कमल दाइको त्यो चड्कन अहिले पनि मलाई झल्झली याद आउँछ ।

चर्चा चाइनिज बुटको

०३२ मा दस कक्षा पढ्दा-पढ्दै मैले 'ए' डिभिजन क्लब विद्यार्थी खेलमण्डलबाट डेब्यु गर्ने अवसर पाएँ । प्रतियोगिताका लागि क्लबले चाइनिज बुट ल्याएको थियो । सामान्य जुत्ताको भरमा फुटबल खेल्ने खेलाडीका लागि चाइनिज बुट निकै लोभलाग्दो थियो । सोच्थेँ, 'चाइनिज बुट लगाएर मज्जा नै बेग्लै होला ।' अर्को कुरा, हेटौँडाका साथीहरूलाई मैले पाएको चाइनिज बुट देखाउने इच्छा थियो । चाइनिज बुट लगाएर म हेटौँडातिर लागँे । चाइनिज बुट देखाउँदा साथीहरूले मेरा खुट्टामा मिनेटौँसम्म अचम्म मानेर हेरिरहे । मानाँै, मेरा खुट्टामा सुनकै बुट छन् । साथीहरूले मेरो चाइनिज बुटको चर्चा गरेको सम्भदा अहिले हाँसो उठेर आउँछ ।

बल खोस्दाको मज्जा

०३५ तिर काठमाडौँमा बर्थ डे कप फुटबल प्रतियोगिता आयोजना भएको थियो । म र दाजु कमल संकटा क्लबबाट खेल्थ्यौँ । हाम्रो टिमका खेलाडी प्रकाश केसी रिटायर्ड हुने तरखरमा थिए । कमल दाइले भने, 'प्रकाश केही मिनेट खेलेर बाहिरिएपछि तिमीले मैदानमा प्रवेश पाउनेछौ ।' म बेन्चमै बसेर खेल हेरिरहेँ । तर, पहिलो हाफ सकिँदा पनि प्रकाश दाइले मैदान छाडेनन् । मलाई साह्रै रिस उठयो । बदलाको भावनास्वरूप मैले संकटामा रहेको मेरो नाम काटेँ । र, पर्सा-११ को टिममा समावेश भएँ ।

पर्सा-११ प्रतियोगिताको फाइनलमा पुग्यो । ब्वाइज युनियनसँग भिडन्त हुँदै थियो । ब्वाइजमा चर्चित फुटबलर श्याम थापा पनि खेल्थे । मेरो एउटै सपना के थियो भने श्याम दाइको खुट्टाबाट बल जसरी भए पनि खोस्ने । भर्खर १६ वर्ष लागेको म नूतन खेलाडीले उनको खुट्टाबाट बल खोस्नु असम्भवजस्तै थियो ।

श्याम दाइले केन्द्रभागबाट बल गुडाउन सुरु गर्दा-नगर्दै मैले टयाकल गरेँ, बल खोस्न सफल भएँ । खोसेको बल मैले हाम्रा साथी कृष्ण थापालाई पास दिएँ । कृष्णले ३० सेकेन्डभित्रै गोल गरे । त्यसवेला मेरो 'मुभमेन्ट'मा श्याम थापा समेत अचम्मित थिए । उनको प्रतिक्रियाले मलाई यति धेरै हौस्यायो कि, मन थाम्न नसकेर म खुसीले मिनेटौँसम्म उफ्रिरहेँ ।

लाहुरे होइन गणेश पो त !

सन् १९७८ मा काठमाडौँ-११ भारतको चर्चित क्लब मोहन बगानसँग म्याच खेल्नु थियो । खेलाडी छनोटको काम बाँकी थियो । टोलीका प्रशिक्षक पदमकृष्ण श्रेष्ठ थिए भने कप्तान आपनै दाजु कमल । टोलीमा मेरो नाम पर्ला कि नपर्ला भन्नेमा म बडो जिज्ञासु थिएँ । सम्भावना कम थियो, तर त्यतिखेरका चर्चित स्ट्राइकर महेश्वर मुल्मी कारबाहीमा परेकाले म टोलीमा पर्छु कि भन्ने झिनो आशामा थिएँ ।

नभन्दै मलाई टोलीमा समावेश गराइयो । प्रशिक्षक श्रेष्ठले मलाई भन्थे, 'तेरो डि्रब्लिङ राम्रो छ ।' भारतीय क्लबसँगको भिडन्तमा उत्रनुअघि प्रशिक्षक श्रेष्ठले मलाई जोड दिँदै भने, 'गणेश तिमीले डि्रब्लिङमात्र गर है, झुक्किएर पनि पोलमा प्रहार नगर्नु ।' खेल सुरु भयो । मैले कोचको टिप्सलाई एउटा कानले सुनेर अर्को कानबाट उडाइदिएँ ।

खेल चल्दै गर्दा मेरो खुट्टाको बल कृष्ण थापाले खोसेर गोल ठोके । अर्कोपटक बल खुट्टामा आउँदा मैले पोल ताकेर हानेँ, तर बाहिर गयो । त्यसवेला कमल दाइले आक्रोशले अनुहार रातो बनाउँदै मलाई मैदानमा हप्काउनुसम्म हप्काए । उनले पटक-पटक भने, 'ए, तँलाई प्रशिक्षकले डि्रब्लिङमात्र गर भनेको होइन, साथीलाई पासमात्र मिलाइदे भनेको हैन ? तँ कहिल्यै नसुध्रने भइस् ।'

तर, रंगशालामा सबैले मेरो खेलको तारिफ गरे । उनीहरूलाई त्यो फुच्चे केटो गणेश थापा भन्ने हेक्कै भएन । मलाई लाहुरे भनेर बोलाइयो । भोलिपल्ट पाटन क्याम्पस पुग्दा त साथीहरूले मतिर हेर्दै भने, 'त्यो लाहुरे त गणेश पो रहेछ ।' त्यही खेलपछि म नेपाली राष्ट्रिय फुटबल टोली छिरेको थिएँ ।

फिफा नियम उल्लंघन गर्‍यो पुलिसले

सन् १९७९ मा त्रिभुवन च्यालेन्ज फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइलनमा संकटा र महेन्द्र पुलिसबीचको खेल थियो । पुलिसमा दिग्गज खेलाडीहरू रूपकराज शर्मा, अच्युतकृष्ण खरेल, धीरेन्द्र प्रधान, मानबहादुर, लोकबहादुर शाही र अशोक केसी आदि थिए । पुलिसले टाइब्रेकरमा संकटालाई हरायो । खेलपछि संकटाका सर्वज्ञरत्न तुलाधर र पुरुषोत्तम मानन्धर, पुरुषोत्तमप्रसाद श्रेष्ठ -पाकाचा) ले फिफाको नियम बोकेर आए । आश्चर्यजनक रूपमा त्यतिवेला कुनै पनि खेलाडीलाई फिफाको फियर प्ले नियमबारे जानकारी थिएन । पुलिसले अशोक केसी र लक्ष्मण क्षेत्रीलाई पहिलो हाफमै बाहिर निकालेको थियो । पछि, टाइब्रेकरमा दुवैले पेनाल्टी प्रहार गरेका थिए । हामीले खेलकुद परिषद्समक्ष उजुरी राख्यौँ । नियमबाहिर गएर पुलिसले प्रतिस्पर्धा गरेकोले संकटालाई फाइनल खेलाउने निर्णय भयो । पुलिसले त्यसको चर्को विरोध गर्‍यो ।

अब फाइनलमा संकटाको विपक्ष

कोसी-११ थियो । सुरक्षा व्यवस्था पुलिसकै थियो । हामीसँग प्रतिशोध लिन उनीहरूले रंगशालामा सबै दर्शकलाई पि|mमा भित्र छिराए । दर्शकले पहिलोपटक नकआउट प्रतियोगिता पि|mमा हेरे । खेलमा झै-झगडा हुँदा संकटाका खेलाडीलाई पुलिसले निर्ममतापूर्वक कुट्ने योजना बनाएको थियो । हामीलाई सदस्य-सचिव शरदचन्द्र शाहले खेल अगाडि भनेका थिए, 'आज पुलिसले सबै दर्शकलाई सित्तैमा छिराएका छन् । खेलमा तिमीहरूले झै-झगडा नगरी खेल्नु । स्थिति तिमीहरूको विपक्षीमा छ ।' शाहले भनेजस्तै संकटाले शान्तिपूर्वक खेलेको थियो ।

खेलको दौरान संकटाका अजर मानन्धरले हेड गर्न जाँदा कोसीका जीवन श्रेष्ठ जुधे र उनी फेन्ट भएर ढले । अर्का राम्रा खेलाडी दीपक श्रेष्ठको मसल्स क्रयाम भयो । त्यसपछि टोलीको जिम्मेवारी ममाथि आयो । अनि सेन्टरबाट मैले ६ खेलाडी तथा गोलरक्षकलाई छलाएर उत्कृष्ट गोल गर्दै संकटालाई २-० ले विजयी गराएँ । सोही प्रदर्शनकै आधारमा त्यस वर्ष परिषद्ले मलाई नेपालको सर्वोकृष्ट खेलाडी घोषित गर्‍यो ।

बल पोलमा ठोक्किएपछि के लाग्छ ?

सन् १९८१ को एन्फा कपमा बंगलादेशको आराम बागलाई बराबरी गरे पनि नेपाली राष्ट्रिय टोली फाइनलमा पुग्ने थियो । नेपाली टोलीको तुलनामा उनीहरू निकै कमजोर थिए । सदस्य-सचिव शरदचन्द्र शाहले नेपालले नै जित्छ भनी ठोकुवा गरिसकेका थिए । र, चिफगेस्ट बडामहारानी ऐश्वर्य शाह पनि रंगशालामा खेल हेर्न आइन् ।

टोलीका कप्तान थिए- रूपकराज शर्मा । रूपक दाइले डिफेन्ससमा अल्छी गर्दा बंगाली टोलीले १ गोल ठोक्यो । रूपक दाइको एक मिस्टेकमा हामीले गोल खाए पनि हार मानेनौँ । नेपाली टोलीबाट धेरै मिस प्रहार भयो । मैले पनि एकल प्रयासमा राम्रो अवसर चुकाएँ । गोलरक्षक र मबीच वान भर्सेज वानको अवस्थामा एक्कासि एक खेलाडीले झयाम्म बल बाहिर प्रहार गरे । उनी त हाम्रै टोलीका प्रवीण लामा रहेछन् । यदि मैले हानेको भए खेल बराबरीमा जाने थियो, किनकि म पोसिजनमा थिएँ । त्यसपछि रिसको सुरमा प्रवीणलाई मैदानभित्रै लखेटेँ । र, नेपालले उक्त खेल १-० ले गुमायो । खेलपछि बडामहारानीले शरदचन्द्रलाई सोधिन्, 'खै नेपालले जित्छ भनेको होइन, हार्‍याँै नि । त्यसको जवाफमा शरदचन्द्रले भने, 'बल पोलमा लागेर हारेको, नत्र भने जित हाम्रो थियो ।'

खेल सुधार्न खेलबाटै आउट

एन्फा कप फुटबल प्रतियोगिता नेपालले भुटान र एयर इन्डियाविरुद्ध खेल्नु थियो । एयर इन्डियासँग पहिलो खेल थियो । टोलीभित्र पर्छु भन्नेमा म ढुक्क थिएँ । तर, सपनामा पनि नचिताएको घटना भयो । म छनोटमा परिनँ । रिसले आगो हुँदै जयनेपाल सिनेमा हलमा १२ बजेको शो हेर्न गएँ । सदस्य-सचिव शरदचन्द्र शाहले प्रशिक्षक पदमकृष्ण श्रेष्ठलाई सोधेछन्, 'किन गणेशलाई टिममा नराखेको ?' प्रशिक्षक पदमले 'यो मेरो डिसिजन हो, कसैले पनि मेरो निर्णय परिवर्तन गर्न सक्दैन,' भनेछन् ।

पहिलो हाफमा एयर इन्डियाले १ गोल हान्यो । फिल्म हेरेर रंगशाला आउँदा आश्चर्यजनक ढंगले दोस्राे हाफमा मैले खेल्ने अवसर पाएँ । प्राप्त अवसरको सदुपयोग गर्दै बराबरी गोल गरँे । त्यसपछि मेरै पासमा अशोक केसीले २-१ को विजयी गोल गर्न सफल भए ।

फाइनलमा भुटानविरुद्ध खेल्नु थियो । प्रशिक्षक पदमले पुनः म र लोकबहादुर शाहीलाई टोलीमा राखेनन् । दुवैले कसम खायौँ- अब टोलीबाट खेल्दै खेल्दैनौँ । योपटक पनि शरदचन्द्रले प्रशिक्षकसँग पुरानै प्रश्न गरे, गणेशलाई किन नराखेको ? उनले पनि पुरानै रेडिमेड उत्तर फर्कार्ए । हामी प्यरापिटमा गएर नेपालको खेल हेर्‍यौँ ।

खेलपछि मात्र थाहा भयो- प्रशिक्षकले मेरो खेल सुधार्नका लागि मलाई बाहिर राखेका रहेछन् । युवा जोशका कारण दिनप्रतिदिन मेरो खेल बिग्रदै गइरहेको रहेछ । जसको मेसो मैले पाउन सकिनँ । मलाई कन्ट्रोलमा ल्याउनका प्रशिक्षकले सो निर्णय गरेका थिए । प्रशिक्षकका रूपमा उनलाई म हृदयदेखि नै मान्छु । प्रशिक्षकको निर्णय भनेको बलियो हुनुपर्छ । कसैको दबाबमा निर्णय परिवर्तन गर्नु हुदैन भन्ने मैले जानेँ । मेरो भविष्यका लागि मलाई नखेलाउने उनको त्यो निर्णयको म अहिले पनि सम्मान गर्छु ।

फुटबलले दिलायो मोटरसाइकल

सन् १९८१ ताका मेरो जीवनमा ठूलै परिवर्तन आएको थियो । त्यही वर्ष मैले थाहा पाएँ कि फुटबल खेलेर पनि कमाउन सकिन्छ । यसभन्दा अघि मैले व्यावसायिक फुटबलबाट कमाउन सकिन्छ भन्ने सोचेकै थिइनँ । एसियन युथ यु-२० बाट बंगलादेशमा खेल्न जाँदा मलाई केही बंगाली क्लबबाट अफर आयो । ढाकाको प्रतिष्ठित मोहन स्पोर्टिङ क्लबसँग तीन महिनाका लागि ५० हजार टाकामा अनुबन्धित भएँ । पहिलोचोटि त तीन महिना खेल्दा ५०-५० हजार आउने सुन्दा अचम्ममा परँे । किनकि, खेल्दा हजारौँ आउने कुरा मैले सुनेकै थिइनँ । तीन महिना खेली नेपाल फर्केर सिजी १२५ मोटर साइकल किनेँ । जुन मोटरसाइकल ११ नम्बर नामबाट चर्चित भएको थियो । पसिना चुहाएर कमाएको पैसामा त्यतिवेला मैले निकै मोज गरेँ । तर, त्यतिखेर जति खर्च गर्दा पनि पैसा सकिएन । व्यावसायिक फुटबल करिअरमा पहिलो खुड्किलो पार गरेको वर्ष नै मैले इस्ट बंगाल तथा मोहन बगानबाट पनि फुटबल खेलेँ ।

टुप्पीका कारण हारिएको म्याच

सन् १९८२ मा पाकिस्तानमा काइदा आजम प्रतियोगितामा सहभागिता जनाउँदा नेपालको प्रतिद्वन्द्वी थियो- चीनको नम्बर दुई टोली साङडोङ । त्यतिवेला नेपाली टोली चिनियाँ प्रशिक्षकबाट प्रशिक्षित थियो । चाइनिज लिगको उपविजेता साङडोङले नेपाली टोलीबाट हार्छु भनेर सोचेकै थिएन । उनीहरूले हामीलाई सजिलै हराउने मनसाय बनाएका थिए सायद । तर, हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौँ । सो टोलीविरुद्ध मैले नै विजयी गोल गरेँ । उनीहरू स्तब्ध भए ।

त्यही वर्ष नेपाली टोलीले चीनको बेइजिङ भ्रमण गरेको थियो । त्यहाँ घरेलु टोली बेइजिङसँग म्याच थियो । नेपाली टोलीले पाकिस्तानमा साङडोङलाई हराएकै कारण बेइजिङमा हामीलाई हेर्न आउने दर्शकको ताँती थियो । नेपाली खेलाडीको खेल हेर्न आतुर थिए चिनियाँ दर्शक । ८० हजार दर्शकले खचाखच भरिएको बेइजिङ रंगशालामा नेपाली टोली उत्रियो । पहिलो हाफसम्म बेइजिङलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा टोलीका कप्तान रूपक दाइले भर्खर व्रतबन्ध गरेका नरेन्द्र श्रेष्ठसँग ख्यालठट्टा गर्दा नेपालले १ गोल खायो । रूपक दाइ नरेन्द्रको टुप्पी हल्लाएर चाइनिजलाई देखाइरहेकै वेला बेइजिङका खेलाडीले गोल गरेका थिए । हामी २-० ले हार्‍यौँ । जीवनमै पहिलोपटक ८० हजार दर्शकअगाडि प्रतिस्पर्धा गरेको क्षण कहिले पनि म बिर्सिन सक्दिनँ ।

फुटबलमा गोली चल्यो

सन् १९८३ मा नेपाली टोली मलेसियामा मर्डेका कप खेलेर काठमाडौँ फर्किएको थियो । मलेसियामा म बेहोस भएको थिएँ । काठमाडौँ आएको केही दिनभित्रै दार्जिलिङ गोल्डकप खेल्नुपर्ने भयो । स्वास्थ्य खराब भए पनि दार्जिलिङतिर हिँडेँ । सो प्रतियोगितामा मोहन बगान र इस्ट बंगालजस्ता शक्तिशाली टोली पनि थिए । त्यतिवेला मेरो कुराकानी मोहन बगानसँग चलिसकेको थियो । नेपाली टोली टिस्टा पुग्दा त्यहाँका मानिस मोहन बगान अनुबन्धित हुने गणेश थापा कस्तो होला भनेर हेर्न आएका रहेछन् । खराब स्वास्थ्यका कारण दाजर्लिङविरुद्ध पहिलो प्लेइङ सेटमा मेरो नाम थिएन । कमजोर टोली मानिएको दार्जिजिङ पहिलो हाफमा १-० ले अघि बढयो ।

दोस्रो हाफमा म मैदान छिरेँ । र, बराबरी गोल गरेँ । वाइबी घलेलाई मीठो पास दिँदै नेपाली टोलीलाई २-१ ले जिताउन सफल भएँ । त्यसपछिको दुई खेलमा मेरै गोलमा नेपाली टोली विजयी भयो । र, फाइनलमा पुग्दा इस्ट बंगाल हाम्रो प्रतिद्वन्द्वी थियो । फाइनलको प्रत्यक्ष प्रसारण अलइन्डिया रेडियोले गरेको थियो । कमेन्टेटरले स्थानीय बंगाली भाषामा 'फुटबल सुरु भयो' लाई 'फुटबलमा गोली चल्यो' भनेका थिए । फुटबल म्याचमा गोली चल्यो भन्दा काठमाडाँैमा रेडियो सुनेर बसेका श्रोता त्रसित बन्न पुगेका थिए । सो खेलमा धीरेन्द्र प्रधानको शक्तिशाली पि|m किकमा भारतीय खेलाडी मैदानमा ढल्न पुगे । अन्तिम क्षणमा मैले इस्ट बंगालका गोलरक्षक भाष्करलाई 'डच' खुवाउँदै उत्कृष्ट 'भलिगोल' गरेँ र नेपाली टोलीलाई उपाधि दिलाएँ । इस्ट बंगालजस्तो दक्षिण एसियाकै बलियो टोलीविरुद्ध विजयी गोल गरेको क्षण सम्भ"mदा अहिले पनि आनन्दित हुन्छु ।

रुपक दाइको रेडकार्ड 'फिलोसफी'

सन् १९८३ मा मर्डेका कपमा अकल्पनीय घटना घटयो । वास्तवमा मर्डेका कपमा हाम्रो प्रदर्शन उच्चकोटिका थियो । प्रतियोगिताका क्रममा नेपालले अल्जेरियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । रूपक दाइ कप्तान थिए । खेलमा कृष्ण थापाले नजिकबाट बल पोस्टमा प्रहार गरे । मैदानमा रूपक दाइ अल्जेरियाली खेलाडीसँग ख्यालठट्टा गर्दै थिए । उनले अल्जेरियाली खेलाडीलाई हातले प्याट्ट हाने । उसले पनि रूपक दाइलाई गालामा हाने । रूपक दाइले रिसाएर उनलाई कुटे । रेप|mीले उनलाई रातोकार्ड देखाए । रूपक दाइले 'एकजनालाई हान्दा र एघारैजनालाई हान्दा पनि एउटै रातोकार्ड खाने त हो नि भनेर अल्जेरियाका सबै खेलाडीलाई कुट्न थाले । उनीहरू भागाभाग गर्न थाले । सुरक्षाकर्मीलाई स्थिति सम्हाल्न निकै गाह्रो पर्‍यो । नेपाली टोलीका डा. अजय राना र वाइबी घलेलाई प्रहरीले कन्चटमा पेस्तोल तेस्र्याएर मैदानबाट बाहिर निकालेका थिए ।

गोल मेसिन

सन् १९८३ मा भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता सञ्जय गान्धी गोल्डकपमा नेपाली टोलीले सहभागिता जनाएको थियो । भारतको चर्को गर्मी झेल्न हामीले पनि सोहीअनुरूप तयारी गरेका थियौँ । पट्नामा सम्पन्न सञ्जय गान्धी गोल्डकप फुटबल प्रतियोगिताले मेरो फुटबल जीवनमा विशेष अर्थ राख्छ । किनभने त्यस प्रतियोगितामा नेपाली टोलीलाई फाइनलसम्म पुराउँदा सबै गोल मैले नै गरेको थिएँ । जीवनमा पहिलोपटक सुरुदेखि अन्त्यसम्मको गेममा गोल गरेको त्यही नै प्रतियोगिता थियोे ।

राजनीति हाबी भयो फुटबलमा

०४६ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि नेपालको राजनीति परिवर्तन भयो । यसको सिधा असर ममाथि नै पर्‍यो । तत्काल नेपाली टोलीले श्रीलंकामा साफ गेममा सहभागी हुनुपर्ने थियो । त्यतिवेला म राष्ट्रिय फुटबल टोली कप्तान थिएँ । आश्चर्यजनक रूपमा उत्कृष्ट र्फममा रहँदा-रहँदै मलाई राष्ट्रिय टोलीबाट हटाए । छनोट कमिटीले जानाजान र अपमानित ढंगले मलाई छनोट गरेन । साफका लागि भनेर छनोटविना नै राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नराम्रो खेलिरहँदा वा घाइते अवस्थामा छनोटमा नपर्दा मन बुझाउने ठाउँ हुन्थ्यो । तर, पूर्वाग्रही निर्णयले मलाई दुःखी बनायो । व्यावसायिक खेलाडीका रूपमा दसौँ वर्ष राष्ट्रलाई दिएको योगदानको उपहार यही नै हो भनेर चित्त बुझाएँ । राष्ट्रकै लागि भनेर मैले बंगलादेशबाट आएको प्रस्ताव छाडेको थिएँ । राष्ट्रिय टोलीबाट मैले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेको थिएँ । राष्ट्रिय फुटबल टोलीमा नपर्दा भारतीय पत्रपत्रिकाले गणेश थापालाई टोलीबाट फयाँकियो भनेर खुबै प्रचार गरे । राजनीतिक हस्तक्षेपका कारण टोलीमा नपर्दा तत्कालीन खेलकुद तथा शिक्षामन्त्री गोविन्दराज जोशीलाई मैले त्यसको जानकारी गराएँ । उनले सहसचिवस्तरीय आयोगसमेत गठन गरे । नेपाली टोली साफमा मालदिभ्ससँग पराजित भयो । त्यो कुरा सम्भ"mदा अहिले पनि मेरो मन चसक्क दुख्छ । त्यही वर्ष म इस्ट बंगालसँग अनुबन्धित भएँ । राष्ट्रिय टोलीमा नपरेपछि मैले सन्न्यास लिएर इस्ट बंगालबाट व्यावसायिक फुटबललाई निरन्तरता दिएँ ।

खल्लो सन्न्यास

सन् १९९४ मा मेरो फुटबल करिअर समाप्त भयो । इस्ट बंगाल टोलीका लागि मैले तीन म्याचमा ७ गोल गरेको थिएँ । पाँचौँ खेलमा मैले मोहमद स्पोर्टिङ क्लबविरुद्ध पोस्टनजिक भली प्रहार गर्दा मेरो खुट्टामा चोट लाग्यो । त्यो चोट यति गम्भीर थियो कि महिनौँसम्म निको भएन । उपचार गराउन कलकत्ता गएँ । त्यहाँ पनि उपचार हुन सकेन । नेपाल आएर खेल्ने प्रयास गरेँ, तर सफल भइनँ । राष्ट्रका लागि ४० वर्षसम्म पनि फुटबल खेल्ने मेरो इच्छा थियो । फुटबलबाट कहिले सन्न्यास लिने हो भनेर म अक्सर सोच्ने गथेर्ं । चोटका कारण ३४-३५ वर्षकै उमेरमा मैले सन्न्यास लिएँ । मेरो फुटबल करिअरको अन्त्य भारतमा हुन पुग्यो । नेपालबाटै खेलेर सन्न्यास लिने रहर पूरा गर्न पाइनँ ।

राम्रो खेल्दा पनि आउट भइयो

मद्रासको साफ गेमका लागि राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरिएको थियो । प्रारम्भिक छनोटमा मेरो नाम पनि समावेश गरिएको थियो । पछि, अन्तिम चरणमा मेरो नाम निकालियो । त्यतिखेर पनि म खासै नराम्रो खेलाडी थिइनँ । अरू खेलाडीका दाँजोमा राम्रै खेल्न सक्थेँ । तर, छनोटमा नपरिँदा अनौठो लाग्यो । राम्रो खेलिरहँदा पनि राष्ट्रिय टोलीबाट दोस्रोपटक फालेको क्षण सम्झँदा अहिले पनि दुःख लाग्छ ।

कोकाकोलालाई फुटबलसँग जोडेँ

०५२ मा फुटबल खेलाडीका लागि केही गरौँ भन्ने मनसायले शिक्षा तथा खेलकुदमन्त्री मोदनाथ प्रश्रतिसमक्ष फुटबल विकासका लागि एउटा प्रस्ताव राखेको थिएँ । सो प्रस्तावमा शिक्षामन्त्री र राखेपका सदस्य-सचिव केशव स्थापितबीच छलफल भएको थियो । उहाँहरूले मलाई मौका दिनुभयो । प्रशासनिक रूपमा मैले ठूलै जिम्मेवारी पाउँदा निकै खुसी भएँ । राज्यले दिएको जिम्मेवारी मेरो जीवनमा दोस्रो टर्निङ प्वाइन्ट थियो ।

अखिल नेपाल फुटबल संघको अध्यक्ष भएपछि मैले ६-७ वर्षदेखि स्थगित सहिद स्मारक लिग सुचारु गरेँ । फुटबललाई प्रोफेसनल बनाउन कोकाकोलासँग वाषिर्क ५० लाख रुपैयाँमा सम्झौता गरँे । यसअघि मुलुकको खेल जगत्मा कुनै पनि कम्पनीसँग त्यति ठूलो धनराशिमा सम्झौता भएको थिएन । प्रशासनिक रूपमा पाइला टेकेको सो वर्ष मेरो जीवनको महत्त्वपूर्ण समय हो ।

गणेश थापा नभएर हारेको !

सन् १९९९ को आठौँ साफ गेममा नेपाल फाइनलमा बंगलादेशबाट पराजित भएको थियो । रजतपदक विजेता नेपाली फुटबल टोलीलाई द्वारिका होटलमा पार्टी दिइएको थियो । सो पार्टीमा तत्कालीन युवराज दीपेन्द्र शाह पनि आएका थिए । विभिन्न कारणले नेपाल पराजित भएको विश्लेषण भइसकेको थियो । त्यस पार्टीमा युवराज दीपेन्द्रले हामीसँग प्रश्न गरे- नेपाल कसरी हार्‍यो ? हामीले दिएका सबै उत्तर गलत भएको बताउँदै उनले भने, 'नेपाली टोलीमा गणेश थापा थिएन, त्यसैले नेपालले हार्‍यो ।' म स्तब्ध भएँ । उनका ती शब्द अहिले पनि मेरा कानमा गुन्जिरहेजस्तो लाग्छ ।

एन्फा विवाद- विशुद्ध राजनीतिक विवाद

३० वर्षको फुटबल जीवनमा बिर्सनै नसक्ने घटना एन्फा विवाद हो । ०५७ र ६४ को एन्फा विवादलाई कृत्रिम विवाद ठान्छु । कृत्रिम यस अर्थमा कि यो कुनै विवाद नै होइन । यो केवल राजनीतिक हस्तक्षेपका कारण भएको हो । अरू कुनै कारण देख्दिनँ म । मुलुकको राजनीतिक परिवर्तनले सीधै एन्फामाथि प्रहार गर्ने परम्परा छ । आ-आफ्ना मान्छे घुसाउने र शक्ति बाँडफाँड गर्ने खराब प्रवृत्तिका कारण नै एन्फा विवाद भएको हो । दुईपटकको एन्फा विवादले फुटबलको विकास ठप्पै भयो ।

म फिफाको विश्वासप्राप्त मान्छे

विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियन फुटबल महासंघमा नेपालको विशेष स्थान छ । फुटबलकै अन्तर्राष्ट्रिय संस्थामा काम गर्न पाउँदा म हषिर्त तथा गौरवान्वित छु । फिफाले मलाई विश्वास गरेकै कारण सन् २००२ र सन् २००६ को विश्वकप अनुशासन कमिटीको सदस्य बन्ने मौका पाएको थिएँ । यसअघि मैले १९९८ को विश्वकपमा विशेष भूमिका निर्वाह गरेको थिएँ । विश्वकप प्रतियोगिताको उच्च कमिटीमा बसेर काम गर्दाको क्षण कहिल्यै बिर्सन सक्दिनँ । भारतका प्रतिनिधिलाई हराएर एएफसीका केन्द्रीय कमिटीमा चुनिनु मेरो जीवनको अर्काे अविस्मरणीय घटना हो ।

प्रचण्डले तारिफ गरे

जनआन्दोलन ०६२/६३ पछि माओवादी पहिलोपटक नेपाली जनतासमक्ष सार्वजनिक भएको थियो । माओवादीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघले सबै साफका पदक विजेतालाई सम्मान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि थिए । स्टेजमा अध्यक्ष प्रचण्डसँग हात मिलाउँदा असाध्य खुसी लागेको थियो । अध्यक्ष प्रचण्डले हात मिलाउँदै मलाई भने, 'नेपाली फुटबल इतिहासमा तपाईंले ठूलो योगदान पुर्‍याउनुभएको छ ।' उनीजस्ता नेताले तारिफ गर्दा हर्षको सीमा रहेन । मैले धन्यवादबाहेक अरू केही बोल्न सकिनँ । त्यो सम्मान कार्यक्रमको स्मरण गर्दा अहिले पनि प्रफुल्लित हुने गर्छु ।  

0 comments: