मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, June 3, 2010

सहमतिमा कुठाराघात भयोः प्रचण्ड

२० जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेष्ठ १४ गतेको तीन बुँदे सहमतिको मर्म र भावनामाथि नेपाली कांग्रेस र एमालेबाट गम्भीर कुठराघात भएको आरोप लगाउनुभएको छ ।

पार्टी मुख्यालय पेरिस डाँडामा विहीबार बसेको स्थायी समितिको बैठकपछि अध्यक्ष प्रचण्डले विज्ञप्ती जारी गरेर सहमतिको अभावमा अवरुद्ध संविधान र शान्ति निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउने नयाँ समझदारीको आरम्भ बिन्दु मानिएको तीन वुंदे सहमतिको अपव्याख्या गरेर कांग्रेस र एमालेले जनताको अपेक्षामाथि प्रहार गरेको टिप्पणी गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, ‘कांग्रेस र एमालेले सहमतिका लागि पाँच दिनभित्र प्रधानमन्त्रिले राजीनामा दिने अलिखित समझादारीलाई तोडेर राजनैतिक बेइमानी र अनैतिकताको अर्को नग्नता प्रदर्शन गरेका छन् ।’

उहाँले भन्नुभएको छ, ‘आधारभूत र प्रमुख प्रश्न प्रधानमन्त्रिको राजीनामा नभएर बस्तुतः सहमतिका आधारमा शान्ति र संविधान निर्माणमा अगाडि बढ्ने वा नबढ्ने भन्ने नै हो । हाम्रो पार्टीले गतसाल देखि नेपाली कांग्रेस र एमालेको रबैयालाई सहमति, शान्ति र संविधान विरोधी रबैयाका रुपमा गर्दै आएको खण्डन, आलोचनालाई तीन बुँदे सहमतिको उल्लंघनले थप पुष्टि मात्र गरेको छ ।’

नेपाली जनताले निर्वाचनमार्फत् सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा पठाएको आफ्नो पार्टीलाई अलग्याउने प्रयत्न आफैंमा शान्ति, संविधान र परिवर्तन विरोधी चलाबाजी बाहेक अरु केही नभएको तथ्य पनि छर्लङ्ग भएको उहाँको भनाई छ ।

हत्या, आतंक, अपहरण, दण्डहिनता र अराजकताका बेलगाम श्रृङ्खला एवं महङ्गी र भ्रष्टाचारको नयाँ ‘कीर्तिमान’ कायम गरेको वर्तमान सरकारले प्रतिगामी दिशा पक्डिरहेको तथ्यलाई जनआन्दोलनका अपराधिहरुलाई समेत विभूषित गरेर थप स्पष्ट गरेको उहाँको तर्क छ ।

सहमति र परिवर्तन विरुद्ध प्रतिगमन र यथास्थितिकै पक्ष पोषण गर्ने वर्तमान सरकारलाई विरोध र असहयोग गर्नु देश र जनताप्रति जिम्मेवारीको एक अभिन्न अंग हुने उहाँले बताउनुभयो ।

जनताको शान्ति र परिवर्तनको आकांक्षा एवम् सहिदहरुको सपनाप्रति पूर्ण प्रतिबद्धतासहित सहमतिका आधारमा शान्ति र संविधान सुनिश्चित गर्ने पार्टीको आन्दोलनलाई निरन्तर अगाडि बढाउने प्रचण्डले बताउनुभयो ।

राष्ट्रिय स्वाधिनता, जनताको सर्वोच्चता, शान्ति, संविधान र त्यसका लागि राष्ट्रिय संयुक्त सरकार सुनिश्चित नहुँदासम्म आन्दोलनलाई सहयोग गर्न सम्पूर्ण सच्चा देशभक्त, गणतन्त्रवादी एवम् परिवर्तनका पक्षधरलाई उहाँले अपिल समेत गर्नुभएको छ ।

0 comments: