गोविन्द परियार, (नागरिक)काठमाडौं, असार ७ - कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीबाट प्रधानमन्त्रीको बलियो दावेदार बन्ने उद्देश्यले सोमबार आफू निकट सभसद्हरूको भेला बोलाएका छन्। कांग्रेस सभासद् चक्र बहादुर ठकुरीको जोरपाटी स्थित निवासमा बिहान आठ बजे चार दर्जन सभासद्लाई डाकिएको छ। 'हामीलाई प्रधानमन्त्री चयनबारे सल्लाह गर्न बोलाइएको छ,' देउवा निकट एक सभासद्ले नागरिकसँग भने।
प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न गरेको आग्रह कार्यवाहक सभापति सुशील कोइरालाले नमानेपछि देउवाले भेला डाकेका उनी निकट स्रोतको दावी छ। गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टीभित्र आफ्नो सुनुवाइ नभएको गुनासो देउवाले आफ्ना निकट नेता तथा कार्यकर्तासँग गर्दै आएका छन् ।
देउवाले केन्द्रीय समितिमा नयाँ प्रधानमन्त्रीबारे छलफल सुरु भएपछि पटक पटक पार्टी एकीकरणको निर्देश अनुसार आफू हुनुपर्ने दावी गर्दै आएका छन्। कार्यवाहक सभापति कोइराला उनको प्रस्तावमा सकारात्मक नभएपछि आफू पक्षधर सभासद् र केन्द्रीय सदस्यसँग देउवाले एक सातादेखि छलफल तीव्र बनाएका हुन्।
भेलामा देउवा निकट सभासद् र केही केन्द्रीय सदस्यहरुलाई आमन्त्रणा गरिएको छ। देउवा निकट स्रोतले भेलामा पार्टी उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधि, संस्कृति मन्त्री मिनेन्द्र रिजाललगायतको उपस्थिति हुने दावी गरेको छ।
दुई पार्टी एकीकरणपछि संस्थापन पक्षले पार्टीको नेतृत्व गरेकोले सरकारको नेतृत्व आफूले पाउनु पर्ने दावी देउवाले गर्दै आएका छन्। उनले कार्यवाहक सभापति सुशीलसँग 'मैले पार्टी संस्थापन पक्षसँग विलय गरेको होइन, एकीकरण गरेको हो' भन्दै पार्टी वा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएका छन्।
'पार्टी एकीकरणदेखि साथीहरूसँग छलफल नभएकाले उनीहरूको राय सुझाव लिन केही सभासद्लाई परामर्शका लागि बोलाइएको हो,' देउवा निकट एक पदाधिकारीले नाम नबताउने सर्तमा भने, 'आफ्ना साथिहरुसँग के कसो छ भनेर बुझ्ने र पछिल्लो राजनीतिक अवस्थाका बारेमा सामान्य सुझाव लिन मात्रै भेला बोलाइएको हो।'
कांग्रेसले प्रधानमन्त्री पाउने संभावना बढेको र बाह्रौ महाधिवेशन नजिकिदै गएको समयमा सभासद्हरुसाग परामर्श गरी रणनीति तयार गरिने स्रोतको दावी छ।
एक सातादेखि जारी केन्द्रीय समितिमा देउवाले पार्टी विधान अनुसार सरकारको नेतृत्व संसदीय समितिले चयन गनुपर्ने धारणा राख्दै आएका छन्।
प्रधानमन्त्रीका अर्का दावेदार संसदीय दलका नेता रामचन्द्र पौडेलले भने संसदीय दलको नेता नै प्रधानमन्त्री हुनुपर्ने दावी गर्दै आएका छन्।
यसैबीच कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीले नयाँ सरकारको नेतृत्व गर्न अन्य दलहरु सहमत भए पार्टीको विधान र विधि अनुसार प्रधानमन्त्री चयन गर्ने बताएका छन्। विगत दुई सातादेखि जारी केन्द्रीय समिति बैठक समापन गर्दै शनिबार कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माण पार्टीको प्राथमिक विषय भएको जानकारी गराए।
'कांग्रेसको नेतृत्वमा सरकार बन्ने भयो भने सहमतिका साथ पार्टीको विधि र विधान अनुसार नेता चयन हुन्छ' कोइरालाले बैठकमा राखेका भनाइ उदृत गर्दै कांग्रेस एक नेताले नागरिकसँग भने। पार्टी मुख्यालय सानेपामा तोकिएको समयभन्दा दुई घण्टा ढिला सुरु भएर आधा घण्टा मात्रै चलेको बैठकमा कोइरालाले दुई सातादेखि केन्द्रीय समितिमा भएको छलफलले पार्टीलाई थप उर्जा दिएको र त्यसले वैचारिक हिसावले पनि पार्टी स्पष्ट हुन सहयोग पुर्याएको धारणा राखेका थिए।
लगत्तै संसदीय दलका नेता रामचन्द्र पौडेलले कोइरालाको भनाइप्रति घुमाउरो भाषामा असन्तुष्टि व्यक्त गरेका थिए। पौडेल केन्द्रीय समितिको बैठकले आफूलाई प्रधानमन्त्री बनाउने निर्णय गरोस भन्ने पक्षमा थिए। कार्यवाहक सभापतिले पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था आए विधि र विधान अनुसार तय गर्ने धारण राखेपछि पौडेलले सरकारको नेतृत्वबारे आइतबारकै बैठकले निर्णय गनुपर्ने धारणा राखेका थिए। 'कार्यवाहक सभापतिले बोले लगत्तै पौडेलले उनको भनाइप्रति घुमाउरो भाषामा असन्तुष्टि राखेर आफ्नै पक्षमा निर्णय गर्नुपर्ने बताएका थिए' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।
Monday, June 21, 2010
देउवासमर्थक सभासदको भेला आज
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment