मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 6, 2010

प्रमाण छैन, भन्नै गाह्रो

जेष्ठ २२ -
तपाईं कसरी बेपत्ता हुनुभएको थियो ?

जेठ ४ गते चितवन अस्पतालमा दुइटा 'माइनर अप्रेसन' गरेर निस्कें । आफैं गाडी चलाएर निवासतर्फ जाँदै गर्दा हाकिमचोकनिर हिमचुली बैंकअगाडि एउटा गाडीले 'ओभरटेक' गर्‍यो र बाटो छेक्यो । के गरेको ? भन्दा एकैचोटि पिस्तोल तेस्र्याई 'आवाज ननिकाल्नु' भनेर समाते । आँखामा पट्टी बाँधे, म लल्याकलुलुक भएँ । अनि 'तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ' भन्दै मेरै गाडीमा राखेर हुइँक्याए ।

त्यसपछि गाडी रोकेनन् ?

डेढ घन्टापछि अर्को गाडीमा राखेर लगे । बाटोमा मैले निकै बान्ता गरें । पछि गाडीबाट झारेर मोटरसाइकलमा चढाए । चलाउने एक जना थिए । मलाई बीचमा राखे, पछाडि अर्का व्यक्ति बसे । पहाडको 'ग्राभेल' बाटो थियो । निकैबेरपछि एउटा घरमा पुर्‍याएर गुन्द्रीमा राखे । चिसो थियो, लेकमा पुर्‍याएजस्तो लाग्यो । त्यहाँ पुग्दा रात निकै छिप्पिएजस्तो लागेको थियो । 'चिउरा खाने' भनेर सोधे । अलिकता चिउरा र पानी खाएँ । उनीहरूले 'हामी राजनीतिक पार्टीका कार्यकर्ता हौं, तपाईं सुरक्षित हुनुहुन्छ, डराउनु पर्दैन,' भने । हामी तीनजना सँगै सुत्यौं । भोलिपल्ट कुखुरा बासेपछि उज्यालो भएको थाहा पाएँ । गाई, भैंसी कराएको आवाज आउँथ्यो ।

तपाईंलाई कसले अपहरण गरेको हो त ?

उनीहरूले आफू 'नेपाल हिन्दु जनता पार्टी' का कार्यकर्ता भएको बताउँथे । व्यक्तिगत परिचय दिएनन् । पार्टीको तराई र पहाडमा संगठन रहेको सुनाए । नयाँ पार्टी हो भने । नेपालको १५ जिल्लामा आफ्नो संगठन र चार हजार हतियारसहितका कार्यकर्ता भएको सुनाउँथे । नेपालमा ८७ प्रतिशत हिन्दु छन्, हिन्दु राज्य आफ्नो मुख्य माग रहेको उनीहरू दोहोर्‍याउँथे ।

नामै नसुनेको पार्टीले लगेको भन्दा पत्यार लाग्थ्यो कि अरू कसैले हो भन्ने थियो ?

अरू त कसलाई भन्ने ? उनीहरू खाली एउटै कुरा गर्थे । 'हाम्रो पार्टी नयाँ हो, रिकोग्नाइज हुन तपाईंलाई ल्याएको' भन्थे । 'राजधानीमा हाम्रो पहुँच छैन, राजधानी बाहिरका प्रतिष्ठित व्यक्ति भनेर तपाईंलाई ल्याएका हौं,' भन्थे । एक हप्तापछि 'तपाईंलाई ल्याउनुको अर्को पाटो क्यान्स्ार अस्पतालको अनियमितता छानबिन गर्नु पनि हो' भने । मैले गर्नुस् भनें । केही दिनपछि 'अनियमितता रहेनछ, त्यस्तो केही पाइएन' भने । मेरोबारेमा पूरै जानकारी रहेछ । काठमाडौंको विष्णुमतीमा रहेको मेरो घर, सम्पत्तिको सबै विवरण एकदमै जानेकाले झैं सुनाउँथे ।

तपाईंलाई साँच्चै उनीहरूले नै अपहरण गरेजस्तो लाग्छ ?

त्यस्तै लाग्छ । कहिले कार्ल माक्र्सका कुरा गर्थे, कहिले गान्धीका । कहिले बीपी कोइरालाको विचारबारे कुरा गर्थे । दार्शनिकका जस्ता, पढेलेखेका कुरा पनि गर्थे । उनीहरूले सामाजिक न्याय हुनैपर्छ भन्नेमा जोड दिन्थे । हरेक दिन राजनीतिक कुरा गरिरहन्थे । डाक्टरी छोडेर राजनीतिमा आउनुस् भनेर जिस्क्याउँथे । आफूहरू राजनीतिक प्राणी र हिंसाविरोधी भएको सुनाइरहन्थे । दिनदिनै मान्छे फरकफरक हुन्थे । उनीहरूले फोनमा पनि सोध्थे ।

माओवादीको एउटा प्रभावशाली खेमाले तपाईंलाई लगेको भनेर व्यापकता पायो, के हो ?

(अलि सम्हालिएर बोल्दै) मलाई त्यस्तो लाग्दैन ।

तपाईं अपहरणमा परेको १८ दिनसम्म त त्यही कुराले व्यापकता पायो नि ?

प्रमाण नभएको कुरा कसरी भनौं ? त्यसै भन्न त भएन नि, हैन र ?

माओवादीले तपाईंलाई २ करोड नगद राख्न दिएको भन्ने कुरा के हो ?

हेर्नुस्, अस्तिको आन्दोलनमा माओवादीलाई स्वैच्छिक चन्दा दिएको हो, करिब एक महिनाको तलब । त्यो रकम ठाकुर ढकाल -माओवादीका स्थानीय नेता) लाई दिएको हो । उनको कार्यक्षेत्र यतै हो, त्यसैले उनलाई दिएको । स्वेच्छाले दिएको हो । इच्छा हुने सबैले दिए । त्यो बेलाको माहौल त्यस्तै थियो । अरू पैसाको कुरा होइन ।

माओवादीसँग लिएको २ करोडले किनेको जग्गा १२ करोड बराबरको भएपछि हिसाब नमिलेको भन्छन्, के हो ?

त्यो होइन, हँुदै होइन । जग्गा भए, कहाँ छ थाहा भइहाल्छ नि, जग्गाको त प्रमाण हुन्छ नि, मालपोत, परिवार, जग्गा व्यवसायीलाई थाहा हुन्छ ।

तपाईंसँग ठूलो फिरौती मागिएको कुरा छ नि ?

उनीहरूको त्यसमा 'कन्सर्न' थियो । 'पैसा माग्यो भनेर पत्रकारले सोध्लान्' भनेर भनिरहन्थे ।

अपहरणमा क्यान्सर अस्पतालको विवाद कारण हो भनिन्छ त ?

(यसो सोचेर) छैन भन्न सकिँदैन, छ पनि भन्न सक्दिनँ । भविष्यले देखाउला । प्रमाण छैन, कसरी किटान गरौं ? काम गर्दा त कसैको रिसइबी होला, भन्नै गाह्रो । प्रमाण छैन, भन्नै गाह्रो -सँगै रहेकी श्रीमती नबोली टाउको हल्लाउँदै) ।

तपाईंलाई नियन्त्रणमा राख्दा कतै लगे कि एकै ठाउँमा राखिरहे ?

हरेक राति मोटरसाइकलमा, कहिले गाडीमा हिडाउँथेे । थोरै, थोरै पैदल पनि हिडाउँथे । तर सधैं चिसो हुने स्थानमै राखे । आँखाको पट्टी खोल्न दिँदैनथे । कपडाभित्रबाट आँखामा नरम वस्तु राखेर बाँध्थे । एकदम पढेलेखेका मान्छेझैं बोल्थे । बिहान 'गुड मर्निङ डक्टर' भन्थे । अरू कुरा नेपालीमै गर्थे । दिनहँु कमान्डर फेरिन्थे । नयाँनयाँ व्यक्तिले सोधखोज गर्थे । किन ल्याउनु भयो भनेर सोध्दा खाली 'हिन्दु राज्यको मागका लागि सरकारलाई दबाब दिन ल्याएका हौं,' भन्थे । 'हिन्दु राज्यको टुंगो जनमत संग्रहबाट लगाउनुपर्छ,' भन्थे । आफ्नो मुख्य माग नै त्यही हो भन्थे ।

उनीहरूबाट आफ्नोबारेमा के के सुन्नुभयो ?

सबै कुरा सुनाउँथे । मेरो घरमा को-को आए, गए भनेर सुनाउँथे । माओवादी नेता -बाबुराम) भट्टराई आएको भने । 'मानव अधिकारवादी आए, तपाईंकोमा त भीड छ भीड' भनेर सुनाउँथे । प्रधानमन्त्री माधव नेपालले माओवादीले गरेको भनेर ठ्याङ्गै आरोप लगाएको पनि सुनाएका थिए । मिडियामा हरेक दिन आ'छ, नेटमा पनि आ'छ भन्थे ।

प्रस्तुति : नारायण शर्मा/दीपेन्द्र बडुवाल, कान्तिपुर

0 comments: