कान्तिपुर संवाददाता
काठमाडौं, जेष्ठ २४ - वन मन्त्री दीपक बोहराले आफ्नो मन्त्रालयका उपसचिव राजदेव यादवलाई पञ्चायतकालीन हुकुम शैलिमा सहसचिवमा बढुवा गर्न प्रस्ताव राखेका छन् । उनले प्रधानमन्त्री र एमालेका कतिपय नेताको दबाबमा मन्त्रालयस्तरीय निर्णय गरी यादवलाई निजामती ऐन तथा नियमावलीविपरीत बढुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका हुन् ।
सर्वोच्च अदालतको आदेशबाट यादवको सहसचिवमा भएको बढुवाको निर्णय उल्टिएको र दोस्रोपटकको बढुवाको प्रतिस्पर्धामा पर्न नसकेकाले उनी अन्यायमा परेको उल्लेख गर्दै वन मन्त्रालयले यादवलाई बढुवा गर्न प्रस्ताव गरेको जानकारी उच्च अधिकारीले दिएका छन् ।
निजामती ऐन तथा नियमावलीमा निजामती कर्मचारीको खुल्ला प्रतिस्पर्धा, आन्तरिक प्रतिस्पर्धा र फाइल बढुवाबाट मात्र पदोन्नति हुने व्यवस्था छ । वन मन्त्रालयले यी तीनवटै व्यवस्थाभन्दा बाहिर गएर यादवलाई बढुवा गर्न प्रस्ताव गरेको हो ।
वन मन्त्रालयले यादव दुई/दुईपटक अन्यायमा परिसकेको उल्लेख गर्दै सहसचिवको 'विशेष पद' सिर्जना गरी उनलाई बढुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको हो । मुख्यसचिव माधव घिमिरले कानुनअनुसार उनलाई बढुवा गर्न मिल्दैन भन्दै उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्नबाट रोक्दै आएका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल र वन मन्त्री बोहराले उनलाई कानुनविपरीत बढुवाका लागि उपयुक्त बाटो पहिल्याउन मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयलाई दबाब दिइरहेको स्रोतले उल्लेख गरेको छ । यादव एमाले नेता रामचन्द्र यादवका आफन्त भएकाले प्रधानमन्त्रीसहित एमालेका नेताहरूले उनलाई बढुवा गर्न दबाब दिएका हुन् ।
स्रोतका अनुसार गत असारमा एक सिटका लागि खुलेको फाइल बढुवामा यादव चार वर्षको कार्यसम्पादन मूल्यांकनका आधारमा पदोन्नति भएका थिए । तर, अर्का प्रतिस्पर्धी बज्रकिशोर यादवले पाँच वर्षको कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा बढुवा हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा मुद्दा दायर गरे । सर्वोच्चले पाँच वर्ष पुगिसकेकाले पाँच वर्षकै कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न आदेश दिएपछि यादवको निर्णय उल्टियो ।
पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर जोड्दा बज्रकिशोर बढुवा भए । पाँचौं वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर कम पाएका राजदेवको निर्णय नौ महिनापछि फागुनमा उल्टिएर घटुवा भयो ।
गत वैशाखमा नै अर्को एक सिटका लागि भएको बढुवामा समेत कार्यसम्पादन मूल्यांकन नम्बर कम भएका कारण राजदेवले बढुवा पाउन सकेनन्, उक्त सिटमा उपसचिव राजन पोखरेल सहसचिवमा बढुवा भए ।
Sunday, June 6, 2010
हुकुमी शैलिमा सहसचिवमा बढुवा गर्न प्रस्ताव
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment