काठमाडौं, असार १ (नागरिक)- भदौ दोस्रो साता तोकिएको कांग्रेसको बाह्रौँ महाधिवेशन फेरी सर्ने भएको छ। सोमबार कार्यवाहक सभापति सुशील कोइराला निवास, महाराजगन्जमा भएको पदाधिकारी बैठकमा वर्षायामले गाउँ, क्षेत्र र जिल्ला अधिवेशन असारमा गर्न नसकिने भन्दै महाधिवेशन केही समय सार्ने छलफल भएको थियो।
असार ६ देखि १५ गतेभित्र गाउँ, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने गरी निर्वाचन समितिले महाधिवेशन कार्यतालिका तय गरिसकेकाले केन्द्रीय समिति वा निर्वाचन समिति कसले अधिवेशन मिति पर सार्ने निर्णय गर्ने भन्नेमा भने कुनै निष्कर्ष आएको छैन।
'गाउँ, क्षेत्र र जिल्ला अधिवेशन केही समय पर सार्नेबारे छलफल भयो', महामन्त्री कुलबहादुर गुरुङले बैठकपछि नागरिकसँग भने, 'सार्ने निर्णय केन्द्रीय समितिले गर्ने कि निर्वाचन समितिले भन्ने निष्कर्ष आएको छैन।' कांग्रेस केन्द्रीय समितिको पदावधि भदौ १५ मा सकिँदै छ। विधानअनुसार दुईपटक केन्द्रीय समितिको पदावधि थपिसकिएकाले फेरि थप्न मिल्दैन। यसअघि फागुन अन्तिम साता तोकिएको महाधिवेशन स्थगित गरी भदौमा तोकिएको हो।
महाधिवेशनका लागि गठित निर्वाचन समितिले काम सुरु गरी अधिवेशन तोकिसकेको अवस्थामा केन्द्रीय समितिले पुन अधिवेशन सार्न मिल्ने कि नमिल्ने भन्नेमा पनि पदाधिकारीबीच सहमति हुन सकेन।
कार्यबाहक सभापति कोइरालालगायत नेताले साउन अन्तिम साता गाउँ, क्षेत्र र जिल्ला अधिवेशन गर्ने र भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। यता वरिष्ठ नेता शेरबहादुर देउवालगायत नेताले भने तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने, तर महाधिवेशन केही पर सार्न सकिने धारणा राखेका छन्। कोइरालाले असारमा खेतीपातीको समय भएकाले अधिवेशन गर्न नसकिने भन्दै केही समय पर सानुपर्ने बताएका छन्।
दुई नेताबीच अधिवेशन मितिबारे फरक-फरक धारणा आएपछि पदाधिकारीले कुनै निर्णय गर्न सकेनन्। मंगलबार केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय लिइने बताइएको छ।
सोमबार बोलाइएको केन्द्रीय समिति बैठक पदाधिकारीबीच महाधिवेशनको मिति सार्नेबारे सहमति हुन नसक्दा स्थगित गरिएको थियो।
Wednesday, June 16, 2010
कांग्रेस महाधिवेशन फेरी सर्ने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment