मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 16, 2010

पूर्वराजदरबारको दरबन्दीमा नौ कर्णेलको बढुवा / सन्तोष पन्तको बढुवा विवादमा

कान्तिपुर संवाददाता
काठमाडौं, अषाढ ३ - पूर्वराजदरबारबाट नेपाली सेनामा समायोजित नौ महासेनानी पदमा सरकारले नौजना प्रमुख सेनानीलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सहायकरथी पवनबहादुर पाँडेलाई उपरथीमा बढुवा गर्ने निर्णयसमेत छ ।

रक्षा मन्त्रालयका अनुसार सैनिक समाचार (गुप्तचर) निर्देशनालयका सहायकरथी पाँडेलाई बढुवासँगै हेटौंडाको भीमफेदीस्थित मध्यपृतनापतिमा सरुवा गरिएको छ । मध्यपृतनापति नेत्रबहादुर थापा मुख्यालयस्थित निरीक्षणाधिकृत कार्यालयमा सरुवा भएका छन् । यसअघिका निरीक्षणाधिकृत प्रदीपजंग थापालाई शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा उपरथी पद सिर्जना गरी सरुवा गरिएपछि उक्त पद रिक्त थियो ।

मन्त्रिपरिषद्ले दुई साताअघि मात्रै पूर्वराजदरबारको नौ महासेनानी पदलाई सेनामा समायोजन गरेको थियो । समायोजित महासेनानीमा बढुवा पाउनेमा प्रमुख सेनानीहरू सूर्यप्रसाद खनाल, सुरेन्द्रबहादुर सिजापती, सुदर्शनविक्रम राणा, शैलेन्द्रशमशेर थापा, बालकृष्ण कार्की, सञ्जयसिंह भण्डारी, पदमकुमार आङ्बो, जितबहादुर गुरुङ र सरोजप्रताप राणा छन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले महासेनानी धर्मबहादुर बानियाँलाई स्टाफ कलेज शिवपुरी र समीर शाहीलाई बलाधिकृत विभागमा सरुवा गरेको छ ।

कलाकार पन्तको बढुवा विवादमा

जंगीअड्डाले सेनाको सुवेदार पदमा कार्यरत कलाकार सन्तोष पन्तलाई एकैपटक तीन तह बढुवाका लागि गरेको सिफारिस विवादमा परेको छ ।

जंगीअड्डाले पन्तलाई तीन तहमाथि उपसेनानी (लेफि्टनेन्ट) मा बढुवाका लागि प्रस्ताव गरेको थियो । सेनामा सुवेदारमाथि, प्रमुख सुवेदार र सहसेनानी (सेकेन्ड लेफि्टनेन्ट) पछि मात्रै उपसेनानी हुन्छ । प्राविधिकतर्फ प्रमुख सुवेदार र सहसेनानीको पद नै नहुने भएकाले उनलाई एकैपटक उपसेनानीमा बढुवाको प्रस्ताव गरिएको जंगीअड्डा स्रोतले बतायो ।

मन्त्रालयका कर्मचारीले भने कानुनी रूपमा एकैपटक तीन बढुवा दिन नसकिने जनाउँदै फाइल अगाडि बढाएका थिएनन् । त्यसपछि सीधै रक्षामन्त्री विद्या भण्डारीकामा फाइल पठाइएको थियो । रक्षामन्त्रीले बुधबार नै रक्षासचिव नवीन घिमिरेमार्फत एकैपटक तीन तह बढुवाका गर्नुको कानुनी आधार के हो भनी सेनाको कानुन विभागका प्रमुख उपरथी बिएकुमार शर्मासँग जवाफ मागेकी छन् ।

जंगीअड्डाले यसअघि पनि खेलाडी, कलाकारलगायत दर्जनौं सैनिक व्यक्तिलाई यसरी बढुवा गरिसकिएको उदाहरणसहित जवाफ पठाउने तयारी गरेको स्रोतले बतायो । जंगीअड्डाले कलाकारितामार्फत राष्ट्रमा योगदान पुर्‍याएको भन्दै पन्तको सिफारिस गरेको हो । उनले साउनमा अवकाश पाउने भएकाले त्यसअघि नै अधिकृत भए सैनिक विद्यालय, अस्पताललगायतमा बढी सुविधा पाउनेछन् ।

0 comments: