ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, जेठ २१- आफ्नै विद्यार्थीले मार्ने धम्की दिएपछि थाङपालधाप उच्च माविका प्राचार्य, प्रधानाध्यपक र लेखापालले सामूहिक राजिनामा घोषणा गरेका छन्। सोही विद्यालय पढ्ने २ गाविसका विद्यार्थीबीचको झडपले उग्र रुप लिँदा विद्यालयसमेत अनिश्चितकालका लागि बन्द भएको छ।
खुकरी, लाठी, भालासहितका घरेलु हतियार लिएर विद्यालय पुगेका छिमेकी गाविस बरुवा र थाङपालधापका विद्यार्थीबीच झडप हुँदा एक विद्यार्थी र प्राचार्य घाइते भएका छन्। विद्यालयको अशान्त वातावरण प्रहरीले साँझ मथ्थर बनाएपछि स्थिति सुधारोन्मुख छ।
बिहान साँढे १० बजे झडप सुरु भएको थियो। घाइते विद्यार्थी सुशील गोलेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। झडप रोक्न प्रयास गर्ने प्राचार्य र प्रधानाध्यापक पनि निशानामा परे। विद्यार्थीले प्रहार गरेको ढुङ्गाले प्राचार्य शिव क्षेत्रीको टाउकोमा चोट लागेको छ भने प्रअ शङ्करदेव भट्टको पोशाक च्यातिएको छ।
भलिबल खेल्ने विषयलाई लिएर एक सातादेखि कक्षा ९ र १० का विद्यार्थीबीच बढेको विवाद विद्यालयमै खुकुरी हानाहानमा परिणत भएको हो। त्यतिबेलै शिक्षकहरुले यो विवाद मिलाए पनि इन्द्रावती नदी तरेर पढ्न आएका बरुवाका विद्यार्थीलाई थाङपालधापका विद्यार्थीले बिहीबार बाटो ढुकेर कुटपिट गरेका थिए। कुटपिटबाट घाइते विद्यार्थीद्वय तेन्जिङ शेर्पा र छेवाङ लामाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ।
शिक्षकहरुको प्रयासमा झडप रोके पनि विद्यार्थीले उनीहरुविरुद्ध नाराबाजी गर्दै भिडन्तको प्रसास गरेका थिए। विद्यार्थीका दुवै पक्ष शिक्षकले पक्षपात गरेको भन्दै उनीहरुविरुद्ध खनिएका थिए। झडपमा अभिभावकले पनि साथ दिएको शिक्षकहरुको भनाइ छ। यही कारण सार्वजनिकरुपमै प्रचार्य क्षेत्री, प्रधानाध्यापक भट्ट र लेखापाल राधे बन्जाराले पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। आफूहरुसहित शिक्षक विनोद केसीलाई विद्यार्थीले मार्ने धम्की दिएको र काम गर्ने वातावरण नभएकाले राजिनामा दिनुपरेको उनीहरुले बताएका छन्।
'यो वातावरणमा काम गर्ने स्थिति रहेन। त्यसैले पदमा रहिरहनुको अर्थ देखेनौं'- प्रअ भट्टले नागरिकसँग भने। विद्यालय व्यवस्थापन समितिको बैठकमा राजिनामा पेश गरिने उनले बताए। विद्यालयको शैक्षिक वातावरण खलल भएको भन्दै यसअघि प्रअ भट्टले अनिश्चितकालीन विद्यालय बन्दको सूचना जारी गरेका थिए।
तिपेनी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले दुवै पक्षका विद्यार्थीलाई एकै कोठामा राखेर आइन्दा झडप नगर्ने सहमति गराए पनि शिक्षकहरु विद्यालय नखोल्ने अडानमा छन्। 'शिक्षकमाथि भएको हातपात र धम्कीको घटनाको छानविन नभएसम्म विद्यालय खोल्दैनौं'- शिक्षक केसीले भने। (nagariknews)
Friday, June 4, 2010
आफ्नै विद्यार्थीले मार्ने धम्की दिएपछि प्राचार्यसहित तीनको राजिनामा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment