मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 8, 2010

नारायणहिटी संग्रहालय अवलोकन, धेरै भावुक हुन्छन्, कोही आक्रोशित

सुरज कुँवर, काठमाडौं, जेष्ठ २५ - कुनै बेलाको शाहवंशीय राजप्रासाद नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएपछि त्यसको अवलोकन गर्न जाने थुप्रै दर्शक भावुक हुँदै रुने गरेका छन् भने केहीचाहिं दरबार हत्याकाण्ड सम्झेर आक्रोशित हुन्छन् । २०६५ फागुन १६ देखि सर्वसाधारणका लागि खुला गरिएको संग्रहालय अवलोकन गर्ने अधिकांश 'राजा ज्ञानेन्द्र' को परिवार हटाइएकोमा भन्दा पनि उनीभन्दा पहिलेका राजा वीरेन्द्रको सम्झनामा भावुक हुने गरेका हुन् ।

'दरबार पस्नेबित्तिकै गौरीशंकर प्रवेशद्वारका सिंढी ढोग्ने, चप्पल फुकालेर प्रवेश गर्ने धेरै देखिन्छन्,' संग्रहालय प्रमुख जयराम महर्जनले भने । ५२ कोठामध्ये अवलोकनका लागि हाल १९ वटा खुला गरिएके दरबारभित्र राजारानी सुत्ने कोठा (शुक्लकक्ष) पुग्दा त्यहाँ राखिएको खाट देखेर केही सर्वसाधारण लम्पसार पर्दै ढोग्दै भेटी चढाउँछन् ।

'हामी राजारानी सुत्ने खाट छुन दिंदैनौ, अति गर्नेलाई ढोग्न, भेटी चढाउन दिन्छौं,' धनकुटा नामाकरण गरिएको राजारानीको शयनकक्षमा खटिएका कर्मचारीले भने । त्यसैगरी केही जिज्ञासु सर्वसाधारण राजारानीको शयन कक्षमा पुग्दा सँगै जोडिएको शौचालय हेर्न चाहन्छन् । 'सबैजसोले राजारानीको ट्वाइलेट देखाऊ भन्छन्,' प्रर्दशन शाखाका प्रमुख श्याम श्रेष्ठले भने, 'किनकि धेरैजसोले दरबारका शौचालय सुनचाँदीका हुन्छन् भन्ने (भ्रम) साँचेका हुँदारहेछन् ।' हाल दरबारभित्रका सबै शौचालय अवलोकनका लागि बन्द गरिएका छन् ।

संग्रहालय खुला भएको करिब १६ महिनायता ४ लाख ५७ हजार ७ सयले अवलोकन गरिसकेका छन् । यीमध्ये अधिकांशले दन्त्यकथा वा फिल्ममा सुनिएको/देखिएको दरबारजस्तो होला ठान्दा रहेछन् । खोटाङकी तारा राईले रातो मखमली कपडाले बेरिएको सुझाव पुस्तकमा अवलोकनपछिको अनुभव यसरी लेखिन्, 'दरबारमा के-के नहोला भन्ने ठानेकी थिए तर राजारानी सुत्ने खाट नै सब्जी बेच्ने मानिसको जस्तो रहेछ ।' उनीजस्तै धेरैले 'आऽऽ...यहाँभन्दा त धेरै सामान हाम्रै घरमा छ', 'यो घरभन्दा त मेरै घरका सोफा राम्रा' लगायतका टिप्प्णी सुनाउने गरेको गाइड ऋचा गुरुङले बताइन् ।

संग्रहालय प्रमुख महर्जनका अनुसार अधिकांश आगन्तुक दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन (हाल उक्त भवन भत्काइएकाले जगमात्रै बाँकी छ), कास्की बैठक (जहाँ राजकीय भ्रमणमा आउने राष्ट्राध्यक्षको स्वागत, प्रधानमन्त्री, न्यायधीशलगायतलाई सपथ खुवाइने हल), गोरखा बैठकमा रहेको सिंहासन, राजपरिवारले टीका ग्रहण गर्ने धनुषा बैठकमा झुम्मिन्छन् ।

संग्रहालयका प्रशासन विभाग प्रमुख सुशील श्रेष्ठका अनुसार दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन पुग्दा केही त भावुक बन्दै चुकचुक गर्ने, भक्कानिंदै डाँको छाडेर रुनेसमेत गर्छन् । 'केही दर्शक आक्रोशित हुँदै त्यहाँ खटिएका कर्मचारीमाथि नै जाइलाग्छन्,' श्रेष्ठले भने, 'हाम्रा राजा (वीरेन्द्र) लाई तिमीहरूले नै मारेका हौं भन्दै गाली गर्ने, जाइलाग्ने गर्छन् ।'

अधिकांशको माग उक्त हत्याकाण्डको छानविन होस् भन्ने हुन्छ । 'दरबार हत्याकाण्डको पुनः पूर्णरूपमा छानविन होस्,' चितवनका उपेन्द्र आचार्यले पुस्तिकामा लेखेका छन् । उनलेझैं अधिकांशले हत्या थलो भत्काइएकोमा आक्रोश पोख्दै हत्याकाण्डमा प्रयोग भएका हातहतियारसहित लुगा र अन्य सामग्री पनि प्रर्दर्शनीमा राख्न सुझाव दिएका छन् ।

संस्कृति मन्त्रालयअन्तर्गत रहेको संग्रहालय आउनेमा अधिकांश उपत्यका वरिपरिको काँठ क्षेत्र र राजधानी बाहिरका सर्वसाधारण बढी छन् । राजधानीमा अध्ययरत विद्यार्थीको समेत बाक्लै उपस्थिति हुने संग्रहालयमा राजधानीभित्रका भक्तपुर, ललितपुर, हनुमानढोकालगायत नेवारी बस्तीबाट घुम्नेको संख्या भने अत्यधिक न्यून रहेको प्रमुख महर्जनले कान्तिपुरलाई बताए ।

0 comments: