मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 14, 2010

बेकामे भए सभासद्

टंक पन्त, (काठमाडौं), निर्धारित समयमा संविधान निर्माण नभएपछि जनताकै दबाबमा संविधानसभाको म्याद थप गरिए पनि संविधान निर्माणतर्फ दलहरुको ध्यान जान सकेको छैन।

दुई सातासम्म बस्न सकेन बैठक, - फेरि पनि संविधान नबन्ने डर

राजनीतिक दलहरुको ध्यान संविधान निर्माणभन्दा पनि अन्य कुरामा बढी केन्द्रित भएपछि संविधानसभा आफ्नो भूमिकाको खोजीमा रहेको छ। उता सभासद्हरु भने कामविहीनजस्तै हुन पुगेका छन्।

संविधानसभाका अधिकांश सभासद्ले आफ्नो भूमिकाको खोजी गर्न थालेका छन्। संविधानसभाको म्याद थप भएको पनि दुई हप्ता बढी भइसक्यो तर दलहरु बैठकमा समेत बस्न सकेका छैनन्। दलहरुबीच भएको सहमति कार्यान्वयन नभएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ खुलेरै अब संविधान निर्माण कार्यलाई प्राथमिकता दिने कि नदिने भनी दलहरुसँग जबाफ माग्ने पक्षमा हुनुहुन्छ।

प्रमुख तीन दलहरुबीच भएको तीनबुँदे सहमतिलाई ऐतिहासिक भन्दै त्यसको यथाशीघ्र कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिँदै आउनुभएका अध्यक्ष नेम्वाङले अब पनि संविधानसभाले काम नपाउने हो भने राम्रो हुँदैन त्यसैले दलहरुबीच स्पष्ट रुपमा भन्नुपर्छ भनी प्रमुख दलका प्रमुख नेताहरुसँग भेटघाट थालिसक्नुभएको छ।

प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग धेरै चरणमा कुराकानी गरिसकेपछि अध्यक्ष नेम्वाङले संविधान निर्माणको कार्यलाई प्राथमिकता दिने कि नदिने भन्ने प्रश्न दलका प्रमुख नेताहरुसँग प्रस्ट रुपमा राख्ने योजना बनाउनुभएको छ। संविधानसभा सचिवालयस्रोतका अनुसार संविधानसभालाई दलहरुले कामविहीन बनाएपछि अध्यक्ष नेम्वाङ ‘अब दलहरुलाई कडाइका साथ नभनी नहुने भो’ भन्ने पक्षमा देखिनुभएको छ।

सभासद्हरुले पनि अध्यक्ष नेम्वाङलाई भेटी ‘दलहरुलाई कडाइका साथ ध्यानाकर्षण गराउनुपर्ने भो नभए त फेरि पनि संविधान नबन्न सक्छ’ भनी ध्यानाकर्षण गराउन थालेका छन्। सभासद् एवम् युवानेता रामनाथ ढकाल दलहरुलाई नघच्घच्याए यो एक वर्ष पनि त्यसै जान्छ त्यसैले संविधानसभाका नेता अध्यक्ष नेम्वाङको अग्रसरतामै दलहरुलाई कडाइका साथ घच्घच्याउनुपर्ने खाँचो औंल्याउनुहुन्छ।

अध्यक्ष नेम्वाङले पनि दलहरुबीच अन्य कुरामा सहमति हुन ढिलाइ हुन्छ भने संविधान निर्माणको कार्यलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्दै संविधानका आधारभूत सिद्धान्तसहित संवैधानिक समितिलाई प्रतिवेदन पठाई मस्यौदा तयार गर्न निर्देशन दिन सकिन्छ भन्नुभएको छ।

‘दलहरुले संविधानमा व्यवस्था भएअनुसार राज्य पुनःसंरचना आयोग बनाउने कि नबनाउने यदि बनाउने हो भने कहिलेसम्म बनाउने र त्यसलाई कति समय दिने त्यो स्पष्ट पारेमा संविधानसभाको कार्यतालिका सोहीबमोजिम बनाउन सकिन्थ्यो’ अध्यक्ष नेम्वाङ भन्नुहुन्छ- ‘यो कुरा अब दलहरुले भन्नुपर्छ र त्यो आग्रहका साथ मैले प्रमुख नेताहरुसँग भेटघाट गर्ने योजना बनाएको छु।’

प्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार भेट गर्नुभएका अध्यक्ष नेम्वाङले दलहरुबीच सहमति नहुँदा संविधान निर्माण एवम् त्यससम्बन्धी नयाँ कार्यतालिका बनाउने कार्य पनि प्रभावित भएको बजेट अधिवेशन प्रभावित भएकोजस्ता विषयहरु राख्नुभएको छ।

अध्यक्ष नेम्वाङसँग प्रधानमन्त्री नेपालले आफू सहमति चाँडो होस् भन्ने पक्षमा रहेको कुरा स्पष्ट रुपमा राख्नुभएको थियो। अध्यक्ष नेम्वाङका अनुसार प्रधानमन्त्री नेपालले वर्तमान परिस्थितिप्रति आफू चिन्तित भएको र दलहरुसँग छलफल छिट्टै टुंगोमा पुर् याउनुपर्छ र पुग्नैपर्छ भनी आश्वस्त पार्नुभएको थियो।
अध्यक्षँ नेम्वाङले संविधानसभालाई आफ्नो भूमिका निर्वाह गर्ने गरी दलहरुले सहयोग गर्नुपर्ने हुन्छ अन्यथा विगतमा जस्तै अन्य विषयका कारण संविधानसभाको काम प्रभावित हुने गर्छ त्यो हुनुहुँदैन भन्नुभएको छ । (महानगरबाट)  

0 comments: