मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, March 22, 2010

नेपाल र अन्य देशहरुमा के के फरक छन ?

हाम्रो चाहना - छैठौ श्रृंखला (रेडियो स्क्रिप्ट) 
................signature tune.......................
स्रोता, नमस्कार एवम हार्दिक अभिवादन ! जन्मपछि मृत्यु त अवश्य हुन्छ तर त्यो देहावसान जसले संसार रुवाएर जान्छ, त्यही सार्थक जन्म हो । भौतिक शरीर नभएपनि हामीसंग गिरिजाप्रसाद कोइरालाको स्वर्णिम विरासतसंगैको इतिहास छ र रहिरहनेछ । नयाँ नेपाल बनेको हेर्न चाहने उहाँको आत्मा सधै नेपालकै सेरोफेरोमा रहिरहोस् । यो शोकको घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना ! गिरिजाप्रसाद कोइरालाको सपनाजस्तै हामी सबैको इच्छाशक्ति र एकता हुने हो भने नेपाललाई पनि संसारको विकसित राष्ट्र बनाउन धेरै समय लाग्ने छैन l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" मा यहाँलाई हार्दिक स्वागत गर्दछौ l कार्यक्रममा म योगेन्द्रमिलन छन्त्याल बोलिरहेको छु, जर्मनीको डुसेल्डोर्फबाट l अबको १ घन्टाको बसाइमा आज नेपाल र अन्य देशहरुमा के के भिन्नता पाइन्छ ? अरु देशजस्तै विकसित र सुविधासम्पन्न देश बनाउन हामीले के के गर्नुपर्ला ? यस्तै नेपालीहरुको चाहनाबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l हामीलाई विश्वास छ सधै जस्तै आज पनि हामीलाई साथ दिनु हुने नै छ l तपाईको कम्प्युटर वा रेडियो सेटदेखि टाढा नजानुस है त ..................
हामीले हाम्रा राजनेताहरूबाट बेलाबखत सुन्ने गर्छौ - 'हाम्रो देशलाई सिंगापुर बनाउछौ, स्विटजरल्यांड बनाउछौ l' तर भाषणमा मात्र रहेछ l हामीले विदेशको यात्रा नगर्दासम्म कल्पना गर्छौ सुन्दर होला, झिलिमिली होला यस्तै यस्तै l किताबहरुमा पढ़छौ थुप्रैको यात्रा अनुभवहरू l विकसित देशका वातावरण कल्पना र पढेकोभन्दा नितान्त फरक पाउंछौ हामीले l थुप्रै स्रोताले हामीलाई विदेशका ठाउंहरुकाबारेमा पनि जानकारी दिएमा कार्यक्रम रोचक हुने सुझाव दिनुभएको थियो l तर हाम्रो चाहनाको कार्यक्रम सञ्चालन अवधारणा अनुसार ठाउं विशेषको मात्र वर्णन गर्न हामी सक्दैन थियौ l मैले एकदिन कार्यक्रममा छलफल गरिरहेकै बेलामा क्यानाडामा रहनुभएका रत्ना दिदीले सुझाव दिनुभएको थियो - नेपाल र अरु देशमा के फरक छ भनेर कार्यक्रम बनाउंदा पनि राम्रो हुन्छ कि भनेर l हार्दिक धन्यवाद रत्ना दिदीलाई l उहाँकै सुझाव अनुसार आजको कार्यक्रमको विषय चयन गरेका छौ - नेपाल र अरु देशमा के के फरक छन ? स्वभाविक रुपमा हाम्रो देश सुन्दर छ l हामीलाई रहर छ सधै आफ्नो देशमा रहन पाउं, मनका जोडीसंग यहीका सुन्दर शहरहरु घुम्न पाउं l
पहिलो गीत (कान्छीलाई घुमाउने काठमांडु शहर .................)

देशबाट बाहिर आएपछि कति कुरा रोचक लाग्दा रहेछन l कति कुरा मन पर्छन, कति मन पर्दैनन l कति कुरा नेपालमा पनि यस्तो भए कति राम्रो हुन्थ्यो भन्ने खालका हुन्छन् l आज हामीले संसारभरका साथीहरुसंग यसै विषयमा छलफल गर्ने सोच बनाएका छौ l स्रोता, अहिले म बस्ने ठाउंबाट डुस्सेल्डोर्फ़को राइन नदीतिर जाँदैछु l रेलगाडीमा चढेको छु म अहिले l गाड़ीभित्र फटफटाइराख्दा यहाँका मान्छेहरुलाई अप्ठेरो लाग्ला भनेर म मान्छे नभएको कुनाको सीटमा बसेको छु l विदेशको संस्कृति, सभ्यता, भौतिक विकास, कानुनको पालना, चालचलन हाम्रो देशकाभन्दा फरक हुंदा रहेछन l यो गाड़ी ठीक समयमा आउंछ l तोकेको समयमा छुट्छ l मानिसहरुलाई हतार छैन, कति राम्रोसंग पालो कुर्छन ? महिला, बुढापाका र फरक क्षमताकालाई प्राथमिकता छ जहातही l यो गाड़ी बिजुलीले चल्छ, कहिल्यै बिजुली जाँदैन l हाम्रो देश जलस्रोतको धनी देश तर १६ घण्टा बिजुली आउंदैन रे अचेल ! धेरथोर थाहा थियो हामीलाई यी विषयमा l तर आज हामी, हामीले बयान गर्नेभन्दा पनि साथीहरुका अनुभव र भोगाइलाई प्रस्तुत गर्ने सोच बनाएका छौ l साथीहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ l आजको विषयवस्तुमा आफ्ना विचारहरू राख्न सक्नुहुन्छ l हामीसंग प्रत्यक्ष छलफलका लागि स्काइप, जीमेल र भोइप चीपमा y.m.chhantyal ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ l यसैगरी याहूमा ymcbgl ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ l अब हाम्रा लाइनहरु खुल्ला गरिएका छन l तपाइ पनि आफ्नो भावना वा चाहना प्रस्तुत गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुन्छ l विदेशमा आउदाका रमाइला कुराहरु, केही नरमाइला अनुभवहरु, नेपालले सिक्नुपर्ने कुराहरु, र तपाईका चाहनाहरु व्यक्त गर्न सक्नुहुन्छ हाम्रो कार्यक्रममा l स्रोता अहिले हाम्रो लाइनमा एकजना साथी सम्पर्कमा आउनुभएको छ, उहाँसंग छोटो कुरा गरौ न है त : ... (गोबीन्द न्यौपानेसंगको कुराकानी) ... अहिले हामी गोबीन्द न्यौपानेजीसंग कुरा गर्दै थियौ साउदी अरब र नेपालमा के के फरक छन भन्ने विषयमा l नेपालीहरु देशको राजनीतिक किचलोका कारण विदेश जानुपर्ने र थुप्रै समस्या झेल्नुपरिरहेको छ l राजनीतिज्ञहरू देशप्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थका लागि पक्षपात र कुकार्य गर्ने गर्दछन जसले गर्दा समस्या सृजना भएको छ l गोबीन्दजीको भनाइ हो यो l देशको राजनीतिक समस्याले मुटु दुखाएको रहेछ हजारौ गोवीन्दहरुको l कलाकार लाक्पा शेर्पा पनि यस्तै कुरा व्यक्त गर्नुहुन्छ सुन्नुहोस - झस्केर दुख्छ यो मुटु मेरो ............
दोश्रो गीत (झस्केर दुख्छ यो मुटु मेरो ..............................)

स्रोता, यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org र फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै nepalaustralianews.com मा पनि यहाँले हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ l एकजना साथीको कारमा छु म ! हातमा ल्यापटप छ l आवाज सुन्नुभएको छ गाडीको .. केही समयमै हामी राइन नदीमा पुगेर त्यहीबाट साथीहरुसंग छलफल गर्ने सोच बनाएका थियौ l कारणवश हामी थोरै ढिला भएका छौ l त्यसैले कारबाट पनि यहाँसंग छलफल गर्न गइरहेका छौ l म चढेको कार अहिले सुरुन्गको बाटो हुँदै घुइकिएको छ l मेरो देशले नदीमा पुल पाएको छैन, यहाँ भने हेर्नुस न चौबाटोमा पनि ४ - ५ तल्ले पुलहरु छन l शहरको तल तल जमिनमुनी बाटो अनि रेलका लिकहरु छन l मेरो देशमा यस्तो विकास कहिले होला ? स्रोता यसैबीच हामीकहाँ एकजना मित्र लाइनमा आइसक्नुभएको छ उहाँलाई स्वागत गर्छौ हामी ... (रत्न थापासंगको कुराकानी) .... याद त आउंछ नि प्रवासीलाई आफ्नो देशको l सैलुंगेमा कुन्ती मोक्तानसंगैसंगै चौरीसंग डुल्छ मन लाग्छ, हत्केलामा लालीगुराँस फुल्छ, शिरमा सगरमाथा र धौलागिरीको ताज पहिरिन्छौ हामी l
तेस्रो गीत (माथि माथि सैलुंगेमा ..........................)
तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, हाम्रो चाहना, प्रवासीको चाहना वा नेपालभित्र बसिरहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेछु l
म आज बिहान एउटा पसलमा केही तरकारी किन्न गएको थिएँ l त्यहाँ ग्रीन पार्टीका एउटा नेता गुणस्तरको सामान छ कि छैन भनेर छडके गर्न आएका रहेछन l हाम्रा नेताहरूले पनि यस्तो गर्नुहुने भए कति राम्रो हुन्थ्यो l भलै यस्तो नगरे पनि काला बजारियाहरुलाई जोगाउने काम नगरे हुन्थ्यो l फरक रहेछ नेपाल र जर्मनीमा पनि l फेरि एकजना साथी हाम्रो सम्पर्कमा आउनुभएको छ l कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ हामी .... (शिव नेपालसंगको कुराकानी) ......... अहिले हामी कुराकानी गर्दै थियौ शिव नेपालसंग l उहाँ हामीसंग अहिले क्यालिफोर्निया, अमेरिकाबाट कुराकानी गर्दैहुनुहुन्थ्यो l 'नेपालको विकासका लागि प्रशस्त संभावना छ तर हामी सबै जिम्मेवार हुन जरुरी छ' उहाँ भन्दै हुनुहुन्थ्यो l अन्तत देशमा रोजगारको समस्या परिवारलाई पैसाको चाहना, यही कारण पनि नेपाली युवाहरु बिदेशिनुपर्छ l कलाकार रोशन गुरुंगलाई सोधौ न वास्तविकता के हो ?
चौथो गीत (सबै कुराभन्दा नि पैसे ठूलो छ ............)

तपाईलाई एउटा अनुरोध, अब पैसालाई ठूलो सोच्नु हुँदैन - देश ठूलो हो l माटो ठूलो हो, बाटो ठूलो हो l म अहिले राइन नदीको नजिकै आएको छु, हेर्नुस न हाम्रा दिदीबहिनी र दाजुभाइहरुले कति माया गर्नुभएको छ हाम्रो चाहना कार्यक्रमलाई l रातको १२ बजे ड्यूटीबाट आउंनुहुन्छ, दिनभर रोबोटजस्तो काम गर्नुपर्ने, विदेशी काम l कति थाक्नुभएको होला कल्पना गर्नुस त l तर कम्प्युटर खोलेर हाम्रो चाहना बजाउंनुहुन्छ अनि नचिनेको हो तर हाम्रो चाहना कार्यक्रमले नाता जोडेको छन्त्याललाई चाट गर्नुहुन्छ l 'साह्रै राम्रो छ कार्यक्रम, तर दोस्रो गीत पछिका वाक्यहरू अलिक सच्च्याएको भए मेरो विचारमा है.... कति राम्रो l तर राम्रो छ मलाई लागेको कुरा भनेको नि त ल' यस्ता साथीहरुको मायाममता सल्लाह र सुझावले हामीलाई थप प्रेरणा मिलिरहेको छ कार्यक्रमलाई निरन्तरता दिनका लागि l म अहिले राइनको किनारमा आइपुगेको छु l यहाँ दैनिक हजारौ पर्यटकहरु घुम्न आउंछन l युवा युवतीहरु जोड़ा बनेर रमाउंछन l हाम्रो समाजमा नपच्ने किसिमले अंगालो मार्छन, म्वाई खान्छन l यिनीहरुलाई यो सामान्य हो l तपाई अहिले यहाँ नजिकै रहेको चर्चको बेल सुन्नुभएको छ l सिढीहरुमा सयौ जोडाहरू बियरको चुस्की लिदै मस्कीरहेका छन l ठट्टा गरिरहेका छन, एक-आपसमा रमाइरहेका छन l अब फेरि अर्को साथीसंग कुराकानी गर्दछौ हामी l हामीसंग अब दक्षिण कोरियाबाट जगेन्द्र छन्त्याल सम्पर्कमा हुनुहुन्छ l उहाँसंग पनि छोटो कुराकानी गर्छौ हामी l जगेन्द्रजीलाई स्वागत छ कार्यक्रममा ..... (जगेन्द्र छन्त्यालसंग कुराकानी) .... 'सबैमा नेपाली हु भन्ने भावनाको जरुरत छ l राष्ट्रिय एकताको जरुरत छ ल' जगेन्द्रजी पनि यही भन्दै हुनुहुन्थ्यो l जब राष्ट्रिय भावनाको विकास हुन्छ तब किसान, ज्यामी, भरिया र गरिब दाजुदिदी र बहिनीभाइहरु पनि दबिएको महशुस हुने छैन l त्यही हुनेछ - नयाँ नेपाल ! तर यहाँ अहिलेको अवस्थाप्रति विष्णु खत्री र बिमाकुमारी दुराको गुनासो छ .......
पाँचौ गीत (भरिया दिले बिसाउने भारी ............)

देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ ल
आज हामी नेपाल र अन्य देशहरुमा के के फरक छन भन्ने विषयमा छलफल गरेका छौ l फरकको बारेमा किन कुरा गरिन्छ थाहा छ तपाईलाई ? मैले एकचोटी एकजना दाइलाई फकाइ फुलाइ उहाँको मनको कुरा बुझेको थिएँ l उहाँले अर्को एउटी दिदीलाई सोध्नुभयो - 'कति छन बालबच्चा ?' भनेर l दिदीले भन्नुभयो - '३ वटा' l दाइ त रुन पो थाल्नुभयो l मैले सोधे 'किन रुनुहुन्दैछ ?' भनेर l उहाँले बताउनुभएन l मैले निक्कै फकाइ फुलाइ गरेपछि बल्ल थाहा पाएं, उहाँले सोध्नुको कारण रहेछ - उहाँहरु दौतरी र छ्वाली हुनु हुंदोंरहेछ l दुःखको कुरा दाइको इच्छा छंदा छँदै पनि बच्चाबच्ची छैन रहेछन l अनि उहाँले सोध्नु र तुलना गरेर रुनुको कारण रहेछ - उहाँ पनि दिदीजस्तै ३ बच्चाको बाबा बन्ने रहर l उहाँबाट सिकेको कुरा हो यो छलफल l हाम्रो देश र अरु देशहरुको भिन्नताबारे छलफल गर्नु भनेको हाम्रो देश पनि अरु विकसित देश जस्तै बन्नुपर्छ भनेर चाहना प्रकट गर्नु हो l अझ हामी कसरी, कसले, के गर्नुपर्छ भन्ने प्रश्नको पनि समाधान खोजने प्रयास गर्दैछौ l यसैबीच एकजना साथीको कल लिनुपर्छ मैले ....(गायत्री लम्सालसंगको कुराकानी).... भर्खर हामी कुरा गर्दै थियौ - चितवन घर भई हाल इजरायलमा रहनुभएका गायत्री लम्सालजीसंग l उहाँले 'नेपाल स्रोतले सम्पन्न भएको र राजनीतिक वातावरण सुध्रिएमा छिट्टै इजरायल लगायतका देशहरुभन्दा विकास हुनसक्ने' आशा व्यक्त गर्नुभयो l गायत्रीजीले इजरायलमा रहनुभएका जेठानी दिदी गीता खनाल, काठमाण्डौ ठमेलमा बस्नुहुने श्रीमान रमेंश भट्टराई र २ छोरीहरू ऐश्वर्य र एलिशा भट्टराईलाई यो गीत समर्पण गर्न चाहनुभएको छ l प्रवासीहरू सबैलाई छोरो ठूलो भयो होला भन्ने कल्पना हुन्छ नि हैन र कलाकार चुजन ठुक्पालाई जस्तै ?
छैठौ गीत (असारै महिनामा पानी .............................)
स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै स्रोता र शुभचिन्तकहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l

खनाल बाबु : छन्त्यालजी मलाई साह्रै ख़ुशी लाग्यो l तपाई प्रवासमा रहेर पनि आफ्नो कलाकारिता मात्रिभूमिका लागि प्रयोग गर्नुभएको रहेछ l साहित्यिक रुपमा पनि राम्रो प्रयास गरेको पाएं, निरन्तरताको शुभकामना !

सुशीला लामा : महत्वपूर्ण काम गरिरहनुभएको छ निरन्तरता दिनुहोला l

दुर्जय चेतना : साह्रै राम्रो छ कार्यक्रम l सुन्दै आइरहेको छु, तपाईहरुलाई शुभकामना है l

तीर्थ छन्त्याल : हाम्रो चाहनाको पाँचौ श्रृंखला सुने, अति नै मन परयो l यस्तै यस्तै रोचक कार्यक्रम उत्पादन गर्नुहोला l प्रगतिको कामना !

कृष्ण जोशी, नेपाल : मैले स्काई मोबाइलको इन्टरनेट प्रयोग गर्छु, महँगो छ l तर तपाईको कार्यक्रम सुन्न अत्यन्त इच्छा भएको कारण पैसालाई समस्या मान्दिन l तपाईको रेडियो कार्यक्रम धेरै ठूलो अभियान हो l

जीव आचार्य public health expert, kantipur dental hospital and research centre basundhara, KTM : हाम्रो समाजका लागि विश्वको एउटा कुनाबाट ठूलो योगदान दिनुभएको छ l यसका लागि धेरै धेरै धन्यवाद ! भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिनुहोला l

रवी भित्रकोटी, save the children, country office nepal : मलाई लैगिक दृष्टिकोणसम्बन्धी पाँचौ अंक मन परयो l सदावहार नेपाली गीतहरूले कार्यक्रम थप रोचक बनेको छ l राष्ट्रिय मागका मामिलाहरुलाई कार्यक्रमको विषयवस्तुमा समावेश गर्नुहोला l जसले कार्यक्रमलाई थप रोचक र जीवन्त बनाउनेछ l

राम खरेल, संस्थापक/कार्यकारी निर्देशक सगरमाथा टि.भि. अमेरिका : तपाईको प्रशंसनीय कार्यक्रम म धेरै मन पराउंछु l यो कामलाई निरन्तरता दिनुहोला l

गोबीन्द भट्टराई : रेडियो अभियान समाज परिवर्तनका लागि महत्वपूर्ण प्रयास हो l म साँच्चीकै यो प्रयासको प्रशंसा गर्दछु र बधाई छ l

सरोजजी Kathmandu.org, नरेश छन्त्याल-म्याग्दी, सोमन छन्त्याल, अभय ढुंगेल, रत्न चन्द, श्रीमणिराज खनाल र गीता उत्प्रेती: हाम्रो चाहना कार्यक्रम साह्रै राम्रो छ l

माधव बस्ताकोटी : महत्वपूर्ण कार्यका लागि बधाई छ l कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना !

हिम छन्त्याल, मलेशिया : जन्म दिने आमाको न्यानो काखदेखि टाढा बस्नुपरेको समयमा हाम्रो चाहना कार्यक्रम सुन्न पाउंदा धेरै ख़ुशी लाग्यो l यहाँलाई धेरै धेरै धन्यवाद l कार्यक्रमको सफलताका लागि प्रवासीहरुको तर्फबाट हार्दिक शुभकामना !

रत्ना श्रेष्ठ : हाम्रो चाहना कार्यक्रम सुनिराहेको छु l धेरै राम्रो लाग्यो l यो देशका लागि ठूलो योगदान हो l तपाईको मिहेनत र सोचाइलाई मेरो सलाम छ l

सुजाना लामा : तपाईको छोरा र छोरीबीच हुने भेदभावसम्बन्धी पाँचौ कार्यक्रम झन राम्रो लाग्यो l यसरी नै अगाडि बढ्दै जानुहोला l हामी सबैको शुभकामना छ तपाइलाई l

कृष्ण फगामी : मैले सबै अंकहरु सुन्दै आइरहेको छु l शुभकामना !

गायत्री लम्साल, इजरायल : हाम्रो चाहनाको पाँचौ अंक मन परयो मलाई l

देउकुमारी छन्त्याल, म्याग्दी हाल आयरल्याण्ड : हरेक कार्यक्रम नेपालीहरुका लागि महत्वपूर्ण सन्देश दिइरहेका छन l हाम्रो समाजमा भएगरेका वास्तविक तथ्यहरू समेटिएकाले अझ ह्रदय छोइरहेका छन l हरेक नागरिकबाट यस्ता आवाजहरु निस्किनुपर्दछ अनि मात्र समस्याको समाधान हुनेछ l

दीपक थापा : म तपाईको प्रयासबाट धेरै ख़ुशी भएँ l निरन्तरता दिनुहोला, सफलताको शुभकामना l

उत्सुक थापा : हाम्रो चाहनाको पाँचौ अंक सुने l ख़ुशी लाग्यो l तपाईलाई धेरै धेरै धन्यवाद साथै उत्तोरोत्तर प्रगतिको शुभकामना !

हिराबहादुर छन्त्याल, मलेशिया : सह्रानीय कार्यका लागि म लगायत म जस्ता धेरै स्रोताको पूर्ण सहमति र सहयोग रहनेछ l विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई उजागर गर्ने जमर्को गर्नुभएकोमा तपाईको कार्यको सफलताको शुभकामना !

परी थापा, संविधानसभा विधायक : तपाईको सह्रानीय कार्यका लागि धन्यवाद l म पनि योगदानका लागि प्रयास गर्नेछु l
सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव सातौ अंकमा समावेश गर्नेनै छौ l

स्रोता, हामीलाई यहाँहरु फेसबुक मार्फ़त पनि सल्लाह्सुझाव र प्रतिक्रिया दिनासक्नुहुन्छ l यसका लागि आफ्ना विचार प्रस्तुत गर्नका लागि रेडियो कार्यक्रम हाम्रो चाहना समूहमा प्रवेश गर्नसक्नुहुन्छ l अब म आजको विषयवस्तुहरु माथि स्रोताहरुका प्रतिक्रिया लिंदैछु l किशोर रिजाल लेख्नुहुन्छ : नेपाल र अन्य देशमा खाली भौगोलिक बनावट र विकासको गतिमा फरक छ l जय तिम्ला लेख्नुहुन्छ : हामीले साच्चै नेपाललाई सफल बनाउने हो भने हामी सबै एकजुट र सहयोगी भएर स्रोत साधनको उचित परिचालन, घूसखोरी र भ्रष्टाचारलाई नियन्त्रण र नेपाली मानवीय स्रोतको परिचालन गरिनुपर्दछ l जमुना खरेल, अष्ट्रेलियाबाट लेख्नुहुन्छ : देशमा कामचोर, घूसखोरहरुको मात्र हालिमुहाली भएकोले सर्वसाधरणले राख्ने चाहना नेताहरूले राख्नुपर्ने वातावरण निर्माण गर्न सचेत दवावको जरुरी छ l नरकुमार छन्त्यालले अफगानिस्तानबाट लेख्नुहुन्छ : नेपालमा पेशाको सम्मान छैन, विदेशमा जुनसुकै काम होस सम्मान छ l यो कुरामा नेपाल र अन्य देशहरुमा फरक पाएको छु l उदितकुमार थापा मगरले बागलुंगबाट व्यंगात्मक शैलीमा लेख्नुहुन्छ : नेपाल धनी देश हो तर दुर्भाग्य नागरिक गरिब बनाइएका छन l अरु देशहरू सकेसम्म सस्तो मूल्यमा हाम्रा दिदीदाजु र बहिनीभाइहरुलाई खरिद गर्दछन l नेपाल लोकले नचुनेका नेताले शासन गर्ने लोकतान्त्रिक देश हो l अरु देशमा लोकले चुनेका नेताले शासन गर्दछन l रत्न थापाले लन्डन यूकेबाट "फेसबुकमा पनि विचार र प्रतिक्रिया संकलन गर्ने कार्य अत्यन्त राम्रो माध्यम भएको" बताउनुभएको छ l
आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l

आजको छलफलबाट हामीले विकसित देशहरुमा ५ रुपैयाँ पनि सरकारको राजस्वमा जम्मा गरिन्छ प्रहरीहरुबाट l बेरोजगारहरुलाई भत्ता दिइन्छ l नागरिकहरुको निशुल्क उपचार हुन्छ l नानीहरू अनिवार्य स्कुल पठाउनुपर्छ र निशुल्क हुन्छ स्कुल l ४ कक्षा देखि नै बालकको इच्छा अनुसारको प्राविधिक र व्यवहारिक विषयमा शिक्षा दिइन्छ l हरेक कुरामा अनुशासन छ र दूरदर्शी कानून छ l कानुनको नजरमा सबै समान हुन्छन, कसैलाई काखा र कसैलाई पाखा हुँदैहुँदैन l कानुनमा जे छ त्यों व्यवहारमा लागु हुन्छ l सोर्स्फोर्स र नातावाद चल्दैन l कसैले भ्रष्टाचार गर्दैन l सरकार र राज्य हाम्रो हो भन्ने भावना छ, काममा कहिल्यै छलछाम हुँदैन l प्राकृतिक वरदान र स्रोतहरूले भरिपूर्ण हाम्रो देशमा यी विकसित देशका सकारात्मक कुराहरुको सिको गर्नुपर्दछ l हामी एक आपसमा मिलेर देशमा रहेका सोर्स्फोर्स, भ्रष्टाचार, नातावाद र पार्टीहरुको मतभेद हटाउनुपर्दछ l राजनीतिक व्यवहारमा परिवर्तन आउनुपर्दछ l हाम्रो देशलाई पनि इजरायल, साउदी, कोरिया, अमेरिका र यु के जस्तो बनाउन सकिन्छ भन्ने कुराकानी गरयौ l

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l हाम्रो देशमा शान्ति र विकासका लागि जहाँबाट जे गर्न सकिन्छ, कृपया सधै पहल गरिरहनुहोला l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !

कार्यक्रम सुन्न र थप जानकारीका लागि : http://www.facebook.com/home.php?#!/note.php?note_id=289148249059&id=1425652349&ref=mfफेसबुक नोट हेर्नुहोला l

Wednesday, March 17, 2010

हामी आदिवासी, हामी जनजाति....

हामी आदिवासी, हामी जनजाति .... आदिवासी, जनजाति ।

सृष्टिको सुन्दर बिहान हामी
मानिसको पहिलो पहिचान हामी
यो विशाल धर्ती हाम्रो रचना
हेर कहाँ छैन हाम्रो पसिना ?
हामी आदिवासी, हामी जनजाति .... आदिवासी, जनजाति ।

हामीसंगै जन्मे तराइ, पहाड, हिमाल
हामीसंगै हुर्के नदी , वन जंगल
हामीलाई पछ्याउदै बन्यो मूलबाटो
हाम्रै रगतको हो रंग यो माटो
हामी आदिवासी, हामी जनजाति .... आदिवासी, जनजाति ।

हामीले सिकायौं अरुलाई हिंड्न
अब हामी आँफै तयार छौ भिड्न
अधिकारको जो आत्मनिर्णयको
जातिय पहिचान सभ्यता सुनौलो
हामी आदिवासी, हामी जनजाति .... आदिवासी, जनजाति ।

Tuesday, March 16, 2010

विपरीत लैंगिक आकर्षण (OGA)

"जीवन एउटा फूल हो, प्रेम त्यसको सौरभ l" ----भिक्टर ह्युगो l

अधिकांशको ठम्याइ छ थरि थरिका प्रेम भए पनि केटा र केटीबीचको सम्बन्धलाई साझा रूपले बुझ्ने गरिन्छ - "प्रेम" भनेर l भनिन्छ, हरेक पुरुष सफल हुनुमा महिलाको हात हुन्छ l म पनि पुरुष भएको कारण पुरुषे गन्ध छ मेरा वाक्यहरुमा l तर अधिकांश लेखकहरुका रचना, फिल्म र महिलाहरुसम्बन्धि अध्ययन प्रतिवेदनहरुले पुरुषभन्दा महिलाहरुको लैंगिक आकर्षणको मामलामा बढी चाहना हुन्छ र संवेदनशील हुन्छन् भन्ने पाइन्छ l महिला लेखिकाहरू पनि यो कुराको पुष्टि गर्दछन l तर म पुरुष भएको कारण यहाँ महिला र पुरुषको चाहना तौलने र महिलाको बारेमा बखान गर्नेभन्दा पनि दुवै लिंग विपरीत लिंगप्रति आकर्षित हुन्छन् नै भन्नेहरुको कुरालाई प्रष्टयाउने प्रयास मात्र गर्दैछु l तपाईहरुका जीवनमा थुप्रै रमाइला क्षणहरु छन पक्कै ! मैले यहाँ लेख्न लागेका कुरा रमाइला त छैनन तर वास्तविक र भएका कुरा हुन l खाली मैले यसलाई ख्याल राखेर कोरेको छु यहाँ l

मैले बूढों उमेरमा Deutsch (जर्मन) भाषा सिक्दैछु l आज बिहानै भाषा कक्षामा जान कोठाबाट निक्लदै थिएँ l ढिला भएको कारण हुइकिएर बाहिरिदै थिएँ l २ वटा शीशा भएका ढोकाहरु बाहिर पुगेको थिएँ, एउटी मरिया नाम गरेकी (अन्दाजी ४० वर्षकी) टुर्किस महिलाले भित्रको Waschraum (लुगा धुनें कोठा) बाट चिच्याउदै हात हल्लाउन थालिन l मैले सोचें कुनै महत्वपूर्ण कुरा छ होला l उनी भित्रबाट निस्कीइन, मतिर आइन र पहिलो शिशावाला ढोका खोलिन l मैले पनि मेरो नजिकको शिशावाला ढोका खोले l मैले सोधे - "Bitte (कृपया)!" उनी मुस्कुराउदै मज्जा गर्दै थिइन - "Guten Morgen und Tschuss (बिहानको नमस्कार र बाई) !" मैले सोचे - हतारको बेला बूढीले २ मिनट खेर फाल्दिइन l

आज जर्मनमा महिलाहरुको यस्तो सोच्ने दिन रहेछ कि ? क्लासमा एउटी पोलनिश युस्तिना (२८ वर्ष) ले साँझ साढ़े सात बजेदेखि ९ बजेसम्म चल्ने "Sprachen Kaffee" मा आउन अनुरोध गरिन l त्यहाँ कफी पार्टी हुन्छ र Deutsch भाषामा कुराकानी गर्न पाइन्छ विभिन्न मुलुकका साथीहरुसंग l युस्तिनाले मलाई निम्ता गर्नुमा पनि मलाई शंका छ किनकि उनले मलाई एकदिन भनेकी थिइन - "Ich mag dich. (म तपाईलाई मन पराउंछु) l" यहाँ यस्तो भन्नु त normal हो l मैले भने - म अरु कोहीसंग engaged छु l तर यत्ति कुराले उनलाई विश्वाश छैन l यदि मैले उनलाई थोरै मन दिने हो भने भन्न सक्छिन - "Ich liebe dich (म तपाईलाई माया गर्छु)" l यस्तो भन्न थालेमा प्रेमका लागि पूर्ण रुपमा मन दिएको मानिदो रहेछ यहाँ l मैले भन्ने वातावरण तयार हुन दिएको छैन l "म रुपमा त्यस्तो Hansy पनि छैन तर किन ......... यस्तो ?" मेरो मनोवाद हो भर्खर डायरीमा यही कुरा लेखेको छु l

अँ .... मलाई २०५८ सालतिरको कुरा याद आयो l एकदिन काठमाण्डौबाट बागलुंगको यात्रा गर्दाको कुरा हो, रात्री बसमा l मुग्लिनमा खाना खानुपर्छ सबै यात्रीले l मलाई इन्डियन रोटी मनपर्ने l त्योभन्दा पनि इन्डियनको फ्राइड दाल मिठो लाग्ने l म गाड़ी रोकेको विपरीत दिशाको होटेलमा गएर रोटी दाल खान शुरू गरे l किन हो कुन्नि ? मेरो आँखा नजिकैको २ वटी केटीहरुमा परयो l हेरे, केही कल्पना गरे कि, निक्कै राम्री रहेछन भनेर l म चढेको गाड़ीबाट २ जना ठिटाहरु निस्किए l ढल्कदै र कपाल मिलाउदै पल्याकपुलुक चारै दिशा नजर नचाए उनीहरु l अनि बढे उही मेरो आँखा परेकी नानीहरूकहाँ l

दुबैलाई राम्रोसंग चिन्थे म l किन कि छोरालाई विदेश पठाउन भनेर एउटा चाहिको बाबा मसँग पनि "पैसा सहयोग गर्नुपरयो जेठा" भन्न आउनुभएको थियो l म त्योंताका नि.मा.वि. शिक्षक, के सहयोग गर्न सक्थे र ? मेरो भाउजुले दोब्बर दिने शर्तमा २ तोला सुन दिनुभएको थियो उसको लागि l सत्य कुरा बोल्नुपर्छ, अर्को चाही मेरै गा.वि.स. को र मेरो विद्यार्थी थिए l केटाहरु राम्री राम्री मैयाहरुलाई देखेपछि हुरुक्क... अनि त शान देखाउन शुरू गरिहाले l हाम्रा बाबाहरू दिनभरि चिसोमा काम गर्दा सर्दी लागेर जिउ दुखाइलाई ठीक पार्न झ्वाई खट्टे बनाइ पिउने रहर छंदा पनि खल्तीमा १५ रुपैयाँ नभएर खोयाबिर्के (बियरको बोतलमा राखेर बेचिने स्थानीय रक्सी, बोतलमा मकैको खोयाको बिर्को लगाइन्छ) लिनुहुन्नथ्यो कैयनपटक l

यी बाबुहरु, सुको कमाएका हैनन, दलालले कस्तो ठाउंमा फाल्दिने हो थाहा छैन, १३० का दरमा ८ वटा बोतलहरु ढलाए l झल्झली उसको बाबाको अनुरोध सम्झिएं l तर मात चढेको थियो १८ वर्षे ठिटाहरुमा l माफ़ गर्नुहोला मैले त्यहाँ सम्झाउंन सकिनं उनीहरुलाई l

सुनेको छु, प्रेमले सप्रन्छन रे, कोही बिग्रन्छन रे पनि l खोई कुरो जटिल लाग्छ मलाई l प्रीतिको डढेलोबाट जोगिएर होला सायद तर OGA त रहेछ ममा पनि l फेरि मेरै कुरा l मान्छेको मन न हो, Deutsch क्लासबाट फर्कने बेलामा एउटी सुन्दरी नानीको छेवैमा सिट खाली रहेछ l उनको पछाडिका सिटहरु खाली त थिए तर म उनकै छेउमा बसे l सोधे - "Wo wohnen Sie ? Sind Sie Schülerin ? कहाँ बस्नुहुन्छ ? तपाई विद्यार्थी हुनुहुन्छ ?" आदि आदि ............ l शेरबहादुर छन्त्यालजीले मलाई सधै भन्नुहुन्छ : "तपाई अलिक मनका कुरा पनि ब्लगमा लेख्नुहुन्छ l आफ्नो हैसियतलाई ख्याल राखेर लेख्नुस l"

अहिले मलाई लागेको छ - "मैले भूल त गर्दै छैन ? विपरीत लैंगिक आकर्षण (Opposite Gender Attraction) लाई चाही मैले वशमा राख्नुपर्छ ............हत्तेरी, कता कता बरालिएछु कि क्या हो म त ?"

Monday, March 15, 2010

अझै नि लोकतन्त्र आको छैन है .........

त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू
सोलुमा भारी बोकी बालबच्चा पाल्नेहरू
अझै नि निरंकुश ढल्या छैन है
जनताको शासन त चल्या छैन है

दुई मुठी चामलमा साहुको लुगा सिउनेहरू
जति फलाम ठोके पनि दुखी जीवन जिउनेहरू
अझै नि लोकतन्त्र आको छैन है
जनताले भने झै भाको छैन है

आऊ सर्वहाराहरू अब अघि बढ्नैपर्छ
महलमा बस्नेसंग अन्तिम युद्ध लड़नै... पर्छ
चिल्ला गाड़ी चढनेसंग अन्तिम युद्ध लड्नैपर्छ
निरंकुश दाशत्व हामीलाई चाहिदैन
गणतन्त्र नल्याइ त मुक्ति पाइदैन

माधव नेपाल, गिरिजा, प्रचण्ड-बाबुराम
विश्राम लिन नखोज सकिएको छैन काम
अझै नि निरंकुश ढल्या छैन है
जनताको शासन त चल्या छैन है

भुटानीलाई घर फर्काऊ कमैयालाई जग्गा चाहियो
छुवाछुत अन्त्य गरौ जति दुःख पाउनु पाइयो
अझै नि लोकतन्त्र आको छैन है
जनताले भने झै भाको छैन है
http://www.facebook.com/photo.php?pid=31079172&op=1&view=all&subj=365796954059&aid=-1&auser=0&oid=365796954059&id=1425652349#!/video/video.php?v=1376188131163&ref=mf
visual  हेर्नका लागि

-(बद्री पंगेनी)

कुकुरले गरेको दिसाका लागि ३ जनाको ड्यूटी .......!?!?

के तपाईलाई विश्वास लाग्छ, एउटा कुकुरले गरेको दिसाका लागि ३ जनाको ड्यूटी खटाइन्छ भनेको सुन्दा ? कुरा सांचो हो, जर्मनीको डुसेल्डोर्फ़ Hauptbahnhof (मुख्य रेल स्टेसन) मा आज ३ बजेतिरको कुरा हो l १३ र १४ नम्बर प्लेटफमबाट मुख्य बाटोमा ओर्लने रोलिङ्ग (चढ़ेपछि गुडेर तल वा माथि पुर्‍याउने) भर्‍याङनेर एउटा कुकुरले दिसा गरेको रहेछ l जर्मनीमा एउटा पनि भुस्याहा कुकुर देखेको छैन मैले, तर महिला (कही कतै पुरुष पनि) हरु कुकुर र बिरालो मान्छेलाईभन्दा बढ़ी माया गरेर घरभित्र पाल्ने गर्दछन l यस्तै कसैले डोर्‍याएर ल्याएको कुकुरले यो दिसा गरेको हुनुपर्दछ l

म त नियमित 'S6' (रेलगाड़ी नम्बर) को प्यासेन्जर l गाड़ी १३ नम्बरमा रोकिन्छ, आज पनि यात्रा थियो ओभरकास्सेल(ठाउंको नाम) सम्मको l 'एस जेक्स' (सिक्स) बाट ओर्लेर U-Bahn (जमिन तल तल गुड्ने रेल) चढनुपर्ने l हतार हतार रोलिङ्ग भर्‍याङमा जान्छु भनेको, ३ जना Deutsche Bahn (DB) 'जर्मन यातायात'का कर्मचारीहरूले बाटो छेकेर 'कृपया बिस्तारै जानुस' भन्दै रहेछन l मलाई चासो पस्यो किन रहेछ बाटो छेकेको भनेर ? यसो नियालेर हेरेको घिनलाग्दोगरी छेरेको रहेछ कुकुरले दुई ठाउंमा छ्यालब्याल पारेर l

DB का कर्मचारीहरू त्यही दिशा प्यासेन्जरको खुट्टामा लाग्ला कि भनेर जोगाउन खटिएका रहेछन त्यहाँ l मैले सोचे 'कति नागरिकप्रति जिम्मेवार सरकार, दिसा नागरिकहरुको जुत्तामा लाग्छ भनेर ३ जनालाई ड्यूटीमा खटाउने..!' मेरो देशका कर्मचारी भए दिसा देखी मुख छोपेर घिनाउदै टाढा बसेर राम हेर्थे होला - कोही पासोमा पर्छ कि भनेर l आफू Auslander (बाहिर देशको) भए पनि मनमनै डुस्सेलडोर्फ राज्यलाई आभार प्रकट गरे र कामना गरे - 'मेरो देशमा पनि यस्तो सिस्टम बनोस सकेसम्म छिटो, जहाँ नागरिक हितका लागि सरकार सधै उत्तरदायी र जिम्मेवार बनोस l'

पछि एउटा Deutsche (जर्मन) केटीलाई सोधे मैले - 'किन यिनीहरु यसरी एउटा कुकुरको दिसाबाट नागरिकलाई जोगाउंन यत्तिका धेरै मानवीय स्रोतको परिचालन गरेका होलान् ? छिट्टै किन सफा नगरेका होलान् ?' उनी पनि जान्ने खालकी रहिछन र भनिन् - 'कहाँ हेर्नुस् न, यहाँ सफा गर्नेहरु कतै अरु काममा व्यस्त भएको हुनुपर्छ l उनीहरु आए मात्र सफा गर्छन l यिनीहरुसंग सफा गर्ने सामान पनि त हुन्न l आ-आफ्नो काम हुन्छ नि त l '

मैले भने - 'मेरो देशमा त यस्तो फोहोर भयो भने प्यासेन्जर आफै जोगिएर हिडनुपर्छ .....' मेरो कुरा काट्दै उनले भनिन - 'यहाँ पनि त्यस्तो गर्न सक्छन् तर कोही त्यहाँ लड्यो र चोटपटक लाग्यो भने DB ले उपचार खर्च व्यहोर्नुपर्दछ, मतलब कुनै घटना भएमा DB नै जिम्मेवार हुनुपर्दछ l' म फेरि सोच्न थाले ''यस्ता असल कुरा सिको गरोस मेरो देशले पनि !''

घडीको मूल्य नेपाली रु. ६ लाख ६३ हजार ४ सय.............?

म त अचम्म छु, एउटा घडीको मूल्य नेपाली रु. ६ लाख ६३ हजार ४ सय र एक बोतल शाम्पियन रक्सीको मूल्य रु. ६७ हजार ३ सय ३ ?! के हाम्रो हैसियतले यस्तो आँट गर्न सक्छ ?


अझ यो त सस्तो ठाउंको मोल हो l यो भन्दा महँगो पर्ने ठाउंहरुमा यिनै चीजको पनि अझ महँगो पर्ने पक्का छ l पैसा हुनेहरुको छ संसार, हैन र ?

जे होस, सामानको मूल्य चाही लेखेको हुन्छ जर्मनीका पसलहरुमा l हेरयो, खल्तीको निखार्दासम्म भ्याउने किन्नुपर्छ l बस...जिन्दगी यसरी चल्छ l

Sunday, March 14, 2010

छन्त्याल जातिको लोपोन्मुख संस्कृति : योगेन्द्रमिलन छन्त्याल, हाल जर्मनी

"नेपाल अधिराज्यभर २१ जिल्लाहरुमा बसोवास गर्दै आएका करिब १३ हजार छन्त्यालहरु पूर्वाधार तथा संभावनाहरुको कमिका कारण राज्यबाट उपेक्षित बन्नुपर्दा त्यत्ति दुखी छैनन् जति दुखी आफ्नो जातिको उत्पत्ति र ईतिहासबारे कुनै प्रमाणिक आधारहरु प्राप्त नभएकोले किंवदन्तीमा मात्र चित्त बुझाउनुपर्दा छन् ।"

"प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ' भन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ । हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ ।

सामान्यत, मगर जातिसंग मिल्ने बनावट, बोली, भाषा, रहनसहन र खानपीन भएका छन्त्यालहरुलाई धेरैले मगर माने पनि उनीहरुको छुट्टै भाषा "खाम" बोल्ने गर्दछन । 'मगरहरु सुँगुरको मासु खान्छन तर छन्त्याल सुँगुरलाई छोयो भने गंगाजलले नुहाउनु पर्दछ । मगर रांगो खान्छ तर छन्त्यालहरु खाँदैनन । मगर र छन्त्यालको खास भिन्नता देखिने उनीहरुको संस्कार नै हुन् । मगरहरु मामाको छोरीसंग विवाह गर्छन् तर छन्त्याल मामा चेली-फुपुचेली दुवैसँग दोहोरो विवाह गर्ने चलन छ । यिनै संस्कारका कारण छन्त्याल मगरभन्दा छुट्टै जाति भएको प्रष्ट हुन्छ ' बाग्लुङ बोंगादोभानका भू. पू. उपाध्यक्ष रेशमबहादुर छन्त्याल बताउंनुहुन्छ ।

'करिब ५ सय वर्षअघि खानी पेशामा लागेका छन्त्यालहरु कालान्तरमा संख्या वृद्धि हुँदै जांदा थुप्रै समूहमा बांडिएर जीवन गुजारा चलाऊन खानी खोज्ने क्रममा बाग्लुङको बोंगाखानी, ढोरखानी, भीरखानी, खुंङ्खानी, लाम्मेलाखानी, घोसाखानी, शिसाखानी, राङ्खानी, लेखानी, हाँडिखानी, पाण्डवखानी म्याग्दीको गुर्जाखानी, छापाखानी, कुइनेखानी, मंगलेखानी, मल्कबाङखानी सुर्खेतको साताखानी रुकुमको बिर्बुङखानी आदी ठाउंमा पुगेको अनुमान गरिन्छ । यी मध्ये केही खानीहरुमा काम गरिरहेकै बेला करिब सय वर्ष पहिले सरकारले चर्को भेजा (सरकारी कर) लगाएछ तैपनि २ - ४ वर्ष जेनतेन भेजा तिर्ने कोशीस गर्दागर्दै हातमुख जोड्नै नसक्ने अवस्था आएपछि भेजा तिर्न वेवास्ता गरेछन् । भेजा तिर्न नसक्दा सरकारी मान्छेहरु खानी खानीमा पुगेर छन्त्यालहरुलाई थेर्का (कडा सजाँय दिन बनाइएको काठ र फलामको साधन) मा कोचेर सजाँय दिएछन । अनि त वाध्य भएर ८०-९० वर्ष यता छन्त्यालहरु कृषि पेशा गर्दै आएका छन् ।' ललितपुर निवासी छन्त्याल संघका भू.पू. कोषाध्यक्ष ज्यानदेवी घरब्जा छन्त्याल बताउंनुहुन्छ ।

आफ्नै गाउं वस्तीमा उत्पादन हुने हार्डुला ( भेडाको ऊनबाट हातैले बुनेको एक प्रकारको ज्याकेट), दोचा, भाङ्ग्रा, मजेत्रो, लगायत गुन्यूचोली, टेखी, खाडी, धोरो (साफा, फेटा) मा सजिएर रमाउने छन्त्याल पुर्खाको भेषभूषा र जीवनशैलीलाई आधुनिकताको खोल ओढेको पाश्चात्य संस्कृतिले पूरै मात्रामा विस्थापन गर्न लागेको अवस्थामा छ । दशै, तिहार, माघे संक्रान्ति, फागु पूर्णिमा, नयाँ वर्ष, साउने संक्रान्तिजस्ता चाडपर्वमा पुराना स्वादहरु गुम्दैछन ।

मादल, मुर्चुङगा, डम्फु, घण्ट, झ्यालीका धुनसँगै घन्किने खेली, ठाडो, चुट्के र लालै भाकाहरुकाबारे ओछयानमा थला परेका बुढापाकाहरुसँग मात्र बुझ्न सकिन्छ त्यो पनि संस्मरण स्वरुप । लाग्छ, अब खेली र चुट्के भाकाका ती हलुका ज्यान बनाएर फुरुंग हुँदै नाचेको देख्ने जमाना फर्कदैनन होला । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा पुट्पुराउका सरस्वती र खेली नाच पनि ओझेल पर्दैछन । भात खुवाइ (पास्नी), छेवर (चुडाकर्म), गुन्यूचोली र वैवाहिक संस्कारले पनि रुढीवादी संज्ञा पाउंदैछन् । अन्त्येष्टी संस्कारमा पनि छन्त्यालहरुको वस्तीपिच्छे समानता पाइदैन । लगभग ३ हजारले बोल्ने छन्त्याल भाषा (खाम) को अस्तित्व बोकेका ठाउंहरु मानिने म्याग्दीका गुर्जाखानी, कुइने, मंगले, मल्कबाङ र गुल्मीको भार्सेबाट बिस्तारै लोप हुँदै गएको छ । वि. सं. २०४० साल पहिले भारतीय र ब्रिटिश सेनामा भर्ती हुन मगरहरुको पुन, थापा, बुढा, राणा आदि थर लेखाउनुपर्ने बाध्यतामा परेका नयाँ युगका केही छन्त्यालहरु आफ्नो जातीय पहिचान लुकाएको पाईन्छ । जातीय संस्कृतिमा विचलन आएर थकाली र मगरसँग सोलीडोली चलाउंने र आफ्नो रीतिरीवाज र धर्म संस्कृतिमा फेरबदल गरेका पनि छन् केही छन्त्यालहरु ।

त्यसो त छन्त्यालहरुमा आफ्नो भाषा, संस्कृति र जातीय उत्थानका लागि चिन्ता नभएको होइन । वि. सं. २०४३ सालमा दिलबहादुर घरब्जा छन्त्यालको नेतृत्वमा जातीय भलाई र उत्थान गर्न भनी 'छन्त्याल परिवार संघ' को स्थापना भएको थियो । यसले २०४९ असार २९ गते विधिवत संस्थाको मान्यता पाएको थियो । वि. सं. २०५२ मा प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व परिवर्तन सँगसगै यस संघको नाम "नेपाल छन्त्याल संघ" मा परिवर्तन गरियो । यस संघबाट पुस्तिकाहरु प्रकाशन, जातीय संस्कार, स्मारिका २०५४ प्रकाशन र कार्यान्वयनका लागि निर्देशन, जातीय कार्यकलापहरु आदि कार्यहरु संचालन गरेको पाईन्छ।

उमेर खाएका व्यक्तिहरु मात्र होइन छन्त्याल युवायुवतीहरुलाई पनि आफ्नी भेषभूषा, साँस्कृतिक चाडपर्व र संस्कारप्रति उत्तिकै चासो र माया छ । लोकदीप आवासिय मा. वि. बेनी कक्षा १० मा अध्ययनरत छात्रा कुमारी छन्त्याल विद्यालयको पोशाकभन्दा गुन्यूचोली लगाउन मन पराउने बताउंनुहुन्छ ।

दशौ राष्ट्रिय जनगणना २०५८ पहिले तथ्यांकमा नदेखिएका छन्त्यालहरुको त्यस जनगणनामा ९ हजार ८ सय १४ जनसंख्या देखिएको छ । तर संघका सर्वमान्य संस्थापक दिलबहादुर छन्त्याल यो तथ्यांकमा असहमत प्रकट गर्दै भन्नु हुन्छ - "हामीले २०५५ साल पहिले गरेको जनसंख्या विवरणमा ५ हजार ६७ महिला र ५ हजार ४ सय ५४ पुरुष गरी कुल १० हजार ५ से २१ तथ्यांक तयार पारेका थियौं । तथ्यांक विभागले त्यो संख्या घटाइदिनु दु:खलाग्दो कुरो हो ।"

हालसम्म छन्त्यालका उल्लेख भएका विभिन्न थरहरु भलंजा, बुढाथोकी, डांडामारे, घरब्जा, घर्ती, घ्याप्चन, झिङराजा, खड्का, पोट्लाङ्गे, पुराने, सिङे, तथप्जा छन् । केही थरका उपथर पनि छन् तर अझै झिङनेल थर लगायतका छन्त्यालहरुले आफ्नो थर केन्द्रिय तथ्यांकमा नसमेटिएको गुनासो गरेको पनि पाईन्छ । छन्त्यालहरुको आफ्नो पूर्वजहरुले खानी निकालेको अति विकट, दुर्गम र हिमाली वस्तीहरुमा बस्दै आएको पाईन्छ र यिनीहरु बसोवास गर्ने ठाउँको नाम पछाडि 'खानी' भन्ने शब्द जोडिएको पाईन्छ । अधिकांश निम्न आर्थिक स्तर भएका छन्त्यालहरुको विकट वस्तीहरुमा न त सरकारी सुविधाहरु पुगेका छन् न त सरकारको उपस्थिति नै छ ।

मुलुकमा साधरण नागरिकको रुपमा समेत परिचित हुन नसकिरहेका छन्त्याल जातिकोबारेमा विदेशीहरुले समेत चासो लिएर अध्ययन अनुसन्धान गरेको पाईन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सिस मिल्वाउकीका प्रोफेसेर डा. माइकल नुना र डा. विलियमा वाग्लीमा समेतले विधावारिधीका लागि छन्त्याल भाषा र संस्कृतिको खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका छन् ।

नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो नीशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो साह्रै दु:खको कुरा हो ।"

बाग्लुङ जिल्ला क्षेत्र नं ३ का निवर्तमान सांसद परी थापा छन्त्याल भन्नुहुन्छ- "शिक्षामा पिछ्डिएकोले नै छन्त्यालहरु सबै क्षेत्रमा पछाडि पर्नु परेको हो । सरकार र राज्य संयन्त्रको नेतृत्व 'उच्च र कठित जातिहरु' मा मात्र सीमित छ । राजनीतिक पार्टी र संघसंस्थाहरुमा पनि उच्च जातिका मानिसहरुको नै हालिमुहाली र आधिपत्य रहेको छ । विकट गाउंमा बस्ने छन्त्यालहरुको बारेमा सोच्नुपर्ने आवश्यकता नै ठान्दैनन सरकार र राजनीतिक पार्टीहरु ।"

राज्यका साधन स्रोत र सुविधाहरुदेखि कोशौ टाढा र विकट गाउंहरुमा अभावग्रस्त जीवन बिताइरहेका छन्त्यालहरु अस्वभाविक राजनीतिक किचलो देखी वाक्क छन् । उनीहरु भन्छन - "सरकारले हाम्रो लागि केही गर्ला भन्ने हामीलाई आशै छैन । देशमा शान्ति भइदिए कमसेकम आफ्नो संस्कृति जोगाउनका लागि केही प्रयास गर्दै शान्तिपूर्वक बाँच्न त पाइन्थ्यो ।"


(छन्त्याल छलफल मन्चको नोट : गोरखापत्र संस्थानको लोकप्रिय मासिक पत्रिका 'युवामन्च' २०६१ असोजमा प्रकाशित यो लेख लेखकको अनुमतिमा यहाँ साभार गरेका छौ । यो लेख तत्कालीन हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, म्याग्दी सन्देश साप्ताहिक, जनजाति सन्देश लगायतका पत्रिकाहरुमा समेत प्रकाशन भएको थियो l हाल उहाँले जर्मनीबाट चेतनामूलक रेडियो कार्यक्रम "हाम्रो चाहना" संचालन गरिरहनु भएको छ l साथै उहाँले छन्त्याल छलफल मन्चको सम्पादन समूहमा महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहनुभएको छ l)

Friday, March 5, 2010

हाम्रो चाहना - ५ को रेडियो स्क्रिप्ट

हाम्रो चाहना - ५
................signature tune.......................
स्रोता, नमस्कार एवम हार्दिक अभिवादन ! छोराछोरीबीचको भेदभावले परिवारमा मात्र होइन, समाज र पूरै राष्ट्रमा नराम्रो असर पर्दछ l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" मा यहाँलाई हार्दिक स्वागत गर्दछौ l कार्यक्रममा म योगेन्द्रमिलन छन्त्याल बोलिरहेको छु, जर्मनीको डुसेल्डोर्फबाट l अबको १ घन्टाको बसाइमा आज छोरा छोरीबीचको विभेद्को अन्त्यसम्बन्धी चाहनाबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l हामीलाई विश्वास छ सधै जस्तै आज पनि हामीलाई साथ दिनु हुने नै छ l तपाईको कम्प्युटर वा रेडियो सेटदेखि टाढा नजानुस है त ..................
हामी नेपालबाट टाढा छौ तर नेपालको माया छ, हृदयमा l नेपाल छोडेको समय बढ्दै गैरहेको छ तर नेपालको अवस्था राम्रो होस भनेर अझ बढ़ी हाम्रा चाहनाहरु बढीरहेका छन l यसैक्रममा आज हामी आफ्नो देशमा रहेको एउटा सामाजिक विकृतिमा सुधार भए राम्रो हुन्थ्यो भन्ने चाहना प्रस्तुत गर्ने सोच बनाएका छौ l यसका लागि सबै नेपाली दिदीबहिनी र दाजुभाइहरुलाई अनुरोध गर्ने योजना बनाएका छौ l विषयवस्तु के भने नि छोरा र छोरीमा किन भेदभाव छ हाम्रो समाजमा ? आजको छलफल यही विषयमा केन्द्रित रहने छ l महिला पुरुष एउटा रथका दुई पांग्रा हुन l एकअर्काको सहायताबिना जिउन गाह्रो छ जिन्दगी l यही भनाइ सुन्नुस न त बद्री पंगेनीको स्वरमा तपाई सहमत हुनुहुन्न र ?
पहिलो गीत (मन थिएन जोगी बन्नलाई .................)

आफ्नै कोखमा जन्म लिने छोरा र छोरीमा भेदभाव हुनु पक्कै पनि राम्रो होइन l सबैजना यही सोच्दछौ तर अन्जानमा समाजबाट सिकिरहेका छौ हामी विभेद गर्नलाई l जति नै समान व्यवहार गरेको छु भन्ने बुवा आमा पनि चुक्नुभएको हुन्छ यो मामलामा l यसको दोषी को त ? प्रसंग विस्तारै अघि बढ्दै छ l कुरा अघि बढाइहालौ न त - छोरा के हो ? छोरी के हो ? प्रत्येक छोरा ठूलो भएर पुरुष बन्दछ, प्रत्येक पुरुषको अंडग्रन्थी र लिंग हुन्छ l प्रत्येक छोरी ठुली भएर स्त्री बन्छिन, प्रत्येक स्त्रीको योनी, पाठ्यघर र स्तन हुन्छ l महिलाको शरीरमा बच्चा बन्दछ, बढ्छ, उनी बच्चालाई जन्म दिन्छिन र दूध चुसाउछिन l
यी शारीरिक भिन्नताबाहेक छोरा र छोरीमा अरु विभेद हुन नहुने हो, फरक हुन नपर्ने हो तर समाजले छोरा छोरीबीच यसरी विभेदको वातावरण तयार गरिदिन्छ कि मानौ केटा र केटी वा पुरुष र महिलाको संसार नै बेग्लाबेग्लै छन l समाजले महिला-पुरुषको समानतालाई मौलाउन दिनुको सट्टा उनीहरुबीचको भिन्नतामाथि बढ़ी जोड़ दिन्छ l यसैकारण महिला पुरुषको विभेद बढ्दै गएको छ l असमानताको कारण उनीहरुबीच तनाव र द्वन्द्व पनि बढ्दै गएको छ l पुरुषको सत्ताले छोरीहरुलाई छोरासरह अघि बढ़ने मौका दिदैन, छोरीहरू आफ्नो प्रतिभाको विकास गर्न पाउदैनन l एउतै  परिवारका छोराहरू मौलाएका र छोरीहरू ओइलाएका देखिन्छन l गुलाम अलीसंग एकछिन प्रशंसा गरौ नारित्वाको l सकारात्मक सोच बनाउ l
दोस्रो गीत (गाँजलु ती ठूला ठूला आँखा..........................)

स्रोता यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org मा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l
प्रसंग फेरि लैंगिक विभेदकै l महिला र पुरुषको शारीरिक बनौट प्रकृतिले नै भिन्न बनाएको छ l यी कुराहरु परिवार, समाज, देश र संसारभर एकै किसिमको हुन्छ l यसलाई हामीले चाहे पनि बदल्न सक्दैनौ l शारीरिक भिन्नताबाहेक छोराछोरीबीच लवाई खवाई, व्यवहार, शिक्षा र समाजको दृष्टिकोणहरूमा जुन भिन्नता पाइन्छ यी सबै सामाजिक विभेद हुन l यस्तो भिन्नता प्रत्येक परिवार र समाजमा एकै किसिमको हुँदैन l उदाहरणको लागि : केटी घरमा बस्ने, केटा बाहिर जाने l केटाभन्दा केटीलाई कम खाना र खेल्नका लागि कम समय दिने l केटालाई राम्रो स्कूलमा पढ़ाइन्छ ताकि ठूलो भएपछि उसले परिवारको व्यवसाय सम्हाल्न सकोस वा राम्रो नोकरी पाउन सक्षम होस l तर केटीको पढ़ाइप्रति राम्रो ध्यान दिइदैन l
सामाजिक लिंगभेदले महिला पुरुषबीच असमानता सृजना गर्दछ l समाज भन्छ, पुरुष उच्च स्तरका र महिला निम्न स्तरका हुन l जुन काम पुरुषले गर्दछ त्यसको ज्याला धेरै हुन्छ र महिलाको कम ज्याला वा हुँदै हुँदैन l पुरुष शक्तिशाली हुन्छ र महिला शक्तिहीन हुन्छे l भेदभाव, ठूलो सानो, भिन्न चालचलनहरु मानिस वा समाज अथवा हामी सबैले बनाउछौ l धनी गरिब, ब्राह्मन शुद्र, कालो गोरो तथा महिला पुरुष बीचको फरक प्रकृतिले नभएर समाजले बनाएको हो l समाजले बनाएका सामाजिक चलनहरु हामीहरु सबैले चाहेमा परिवर्तन गर्न सकिन्छ l केटाकेटी वा स्त्री पुरुषको नयाँ परिभाषा दिन सकिन्छ l हामी एउटा यस्तो समाजको निर्माण गर्न सक्छौ, जहाँ केटी हुनुको अर्थ निम्नस्तर, कमजोर हुनु होइन र केटा हुनुको अर्थ क्रूर, हिंसात्मक हुनु होइन l यसबारे गजुरी-२ धादिंग घर भई हाल इजरायल रहनुभएका गीता उत्प्रेतीसंग गरिएका कुराकानीका छोटो अंश सुन्नुस न त ! ............ बुढेशकालसम्म छोराको आशा छ, नेपाली समाज अनि हाम्रा नेपालीहरु l गरीबी र अशिक्षा यी २ कारणले लैंगिक विभेद बढेको धारणा थियो गीताजीको, गीताजीलाई धन्यवाद l
तेस्रो गीत (हेरेको तिमीलाई आँखाले होइन ..............................)


अहिले सुन्दै हुनुहुन्थ्यो सपना श्रीको स्वरमा हेरेको तिमीलाई ..........
तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, हाम्रो चाहना, प्रवासीको चाहना वा नेपालभित्र बसिरहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेछु l
यसैक्रममा आज हामी DRSP का संगीता श्रेष्ठजीले हामीलाई पठाउनु भएको एउटा मामिला अध्ययनको प्रस्तुति गर्दैछौ l ८५ वर्षीया दलबीरा छन्त्याल भकिम्ली गाविस, म्याग्दीमा बस्नुहुन्छ l उहाँले हरेक दिन गह्रुंगो घांसको भारी बोक्नुपर्छ l म दुखित भएकी थिएँ जब मैले उहाँलाई उहाँभन्दा गह्रुंगो भारी बोकेको देखे l मैले कल्पनासम्म गर्न सकेकी थिइन कि उहाँले त्यत्रो गह्रुंगो भारी बोक्नुहुन्छ होला भनेर l उहाँ छोरीसंग बसिरहनुभएको छ l जब उहाँ भिरालो बाटो हुँदै माथि वनमा जानुहुन्छ उहाँले आफैलाई संतुलनमा राख्न गाह्रो हुन्छ l त्यसैले मैले हात दिँदै सहयोग लिन प्रस्ताव गरे तर उहाँले अस्वीकार गर्नुभयो l उहाँले भन्नुभयो - "आज तपाइले सहयोग गर्नुहुन्छ तर भोलिदेखि कसले सहयोग गर्छ मलाई ?" मैले कुरा गर्दा थाहा पाएं उहाँको श्रीमान २० वर्ष पहिले बित्नु भएको रहेछ र एक मात्र छोरी त्यही गाउंमा बिहे गर्नुभएको रहेछ l
जब मैले उहाँलाई गाविसबाट ज्येष्ठ नागरिक भत्ता लिनुहुन्छ होला नि भनेर सोधे, उहाँ अचम्म पर्नुभयो र सोध्नुभयो - "के रे ? सरकारबाट हामीले भत्ता पाउछौ ?" शुरुमा त उहाँले विश्वास नै गर्नु भएन किनकि उहाँले गाउंका कसैले भत्ता पाउछन भन्ने कुरा सुन्नुभएको थिएन l जब मैले यसबारे बताएँ, उहाँसंग नागरिकता भएको कुरा पनि थाहा भयो l उहाँले मलाई विस्तृत रुपमा सोध्नुभयो "पैसा पाउनका लागि मैले के के प्रक्रिया पूरा गर्नुपर्दछ ?" उहाँले भन्नुभयो - यदि उहाँले भत्ता पाएमा यो कठिन अवस्थामा सुधार हुने थियो l उहाँको ज्वाइले राम्रो व्यवहार गर्नुहुने थियो l हुनसक्छ, उहाँले भविष्यमा यस्तो गह्रौ भारी बोक्नुपर्दैन l मलाई दुःख लाग्यो यस्तो बुढेसकालमा उहाँले यत्ति धेरै काम गर्नुपर्छ र यस्तो गह्रौ भारी बोक्नुपरिरहेको छ l कलाकार जीवन शर्माले पनि देखेको जस्तो छ यी वृद्धहरुको दुःख ..
चौथो गीत (सिमली छायाँमा बसी भरिया ............)

यो एउटा दलबीराको कथा होइन l दलबीराजस्ता हजारौ मानिसहरुको स्रोतमा पहुँच छैन र उनीहरु सरकारी नियम कानूनबारे जान्दैनन l मलाई निराशा पैदा भयो कि यी सरकारी कर्मचारीहरु देशका लागि के गरिरहेका छन l जिल्लाको आधिकारिक तथ्यांक अनुसार, सबै ज्येष्ठ सदस्यहरुलाई भत्ता दिइएको छ l लाजमर्दो कुरा उनीहरु पारदर्शी रुपमा ती ज्येष्ठ नागरिकहरुका ल्याप्चे देखाउछन l तिनीहरुलाई वास्ता छैन पैसा उपयुक्त मान्छेलाई गयो कि गएन l तिनीहरू मात्रै बिनियोजित बजेट खर्च भयो कि भएन भन्ने कुरामा केन्द्रित छन l यस्तो भ्रष्टाचारका लागि को जिम्मेवार छन ? के यस्ता पीडकहरुलाई कारबाही गरिन्छन ? यस्ता कार्यकलापहरुको अनुगमन गर्न को जिम्मेवार छ ? दलबीराले किन भत्ता नपाउनु भएको हो ? किन उहाँलाई जानकारी नदिइएको हो ? गाविसको जिम्मेवारी के हो ? किन गाविसका कर्मचारीले दलबीराहरुका भत्ता उपलब्ध नगराएका हुन ? किन ज्येष्ठ नागरिकका आवाजहरू नसुनिएका हुन ? के दलबीराको हेरचाह गर्नु गाविसको जिम्मेवारी होइन ? किन अनुगमन नगरिएको होला ? यदि हामीले म्याग्दी जिल्लाको तथ्यांक हेरयौ भने कति पैसा मन्त्रालयबाट प्राप्त हुँदो हो र गाविसगत रुपमा ज्येष्ठ नागरिकका लागि कति विनियोजन हुँदो हो ?
के हामीले सवालहरुमा छलफल गर्न र सरकारी नियम कानूनबारे सचेतनाका लागि समूह बनाउन जरुरी छ ? समुदायका सदस्यहरु समूह बनाउन जुत्नुपर्नेछ, जहाँ समस्या र सवालहरूबारे छलफल गर्न सकिने छन l परम्परा अनुसार, नेपाल एउटा बुढापाकाहरुको सम्मान गर्ने राष्ट्र हो l जे भए पनि दलबीराजस्ता मानिसहरुलाई भेट्दा मलाई शंका लाग्छ l मानिसहरु कसरी मानसिक रुपमा परिवर्तन होलान ? मानिसहरुलाई कसरी उनीहरुको कामप्रति उत्तरदायी बनाउन सकिएला ? मानिसहरुलाई कसरी ठीक काम गर्ने बनाउन सकिएला ?
पाँचौ गीत (नरिसाउन सानो कुरैमा............)

देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l
यहाँलाई थाहा छ, आज हामी लैंगिक विभेदका बारेमा छलफल गरिरहेका छौ l जिन्दगीभर विभेद्को शिकार बन्नुपर्छ नेपाली छोरीहरू l जब एउटा युवा र एउटी युवती विवाह गर्दछन, विवाहको टिकाटालामा आशिष सुनिन्छ "अर्को साल माइत आउदा नातिको मुख देख्न पाइयोस"l अब दुलही गर्भवती भइछन : आगनमा खेलेकी चोखो मनको बालिकालाई सोधिन्छ एकदिन : "नानु, अंटीले के पाउछिन नि हँ ?" निमुखा बालिकालाई के थाहा, यो अन्यायपूर्ण समाजको चलनबारे ? उनलाई जे राम्रो लाग्यो त्यही जवाफ दिन्छिन : "चेली पाउनुहुन्छ" ती नानी यति के बोल्न पाएकी थिइन, चडकिन्छ गालामा झाप्पड l त्यों दिनदेखि चेली खेलाउने रहर जिन्दगी भरका लागि सकिन्छ l आमा बन्ने बेला सुत्केरी बेथामा छटपटिदा पनि त्यही याद आउछ उनलाई l पहिलो बच्चा नै छोरो नै हुनुपर्ने रे ! भिडियो एक्सरे गरिन्छ गोरखपुर गएर, छोरी भएकै कारण एउटा भ्रुणले संसारमा जन्म लिन पाउदैन l थाहा छ तपाईलाई के हुन्छ ? त्यों भ्रुणको महँगो पैसामा हत्या गरिन्छ l पैसाका लागि मान्छेहरु पाठेघरमा हात पसाएर त्यों बच्चालाई दाँत किटेर निचोर्दा रहेछन र गर्भपतन गरिंदोरहेछ l जन्मिन त पाएनन कुनै, जन्मेकाहरुमध्ये पनि छोरालाई काखा र छोरीलाई पाखाको चलन छ l छोराछोरीबीचको भेदभाव गरेको देखेकै छैन भनेर जिद्धि गर्ने एकजना इमाखेल-२ काठमन्दू घर भई हाल इजरायलमा रहनुभएका सोनु बस्नेतजीसंग हामीले छोटो कुराकानी गरेका थियौ l सुन्नुस कुराकानीका  केही अंश : ........उहाँका अनुसार सबैलाई सचेत बनाउन सकेमा यस्तो भेदभाव हटाउन सकिन्छ l मानसिंग थुलुंग पनि यस्तो भेदभावलाई नियालेर हेर्दा रहेछन l
छैठौ गीत (धेरै चोटी आँखा जुध्यो तर .............................)

स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै देशहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l
Istutee Shrestha /China
धेरै राम्रो काम निरन्तरताको कामना l
Uditkumar Thapa /Baglung
धेरै राम्रो छ,धन्यवाद तपाईको मेहनत र परिश्रमको लागि।
Shree Ram / चितवन/ Dubai
मिलनजी यो कार्यक्रम चितवनको एफ एम मा बजाउन मिल्दैन मिल्छ भने के प्रक्रिया मिलाउनुपर्छ म पनि तयार छु l
Lal kumari Roka mager, Myagdi But now Ktm
कार्यक्रम चाख लाग्दो छ l
Sangeeta Shrestha /drspnepal
धेरै राम्रो काम गर्नुभएको छ तपाईले l मैले २ वाटा लेख पनि पठाएको छु l
संगीताजी धन्यवाद ! यहाँको एउटा मामिला अध्ययन कार्यक्रममा समावेश गरेका थियौ सायद सुनिसक्नुभयो होला l
Govinda bhattarai
भाईलाई बढाई छ l
लभली नेपाल/Baglung
राम्रो लाग्यो l
Anil निरौला/Russia
ब्याबहरिक र मनोरंजनको राम्रो समिश्रण छ कार्यक्रममा l बढाई छ कार्यक्रम सुन्दा नेपालमै  रहेको अनुभूति हुन्छ l
Suresh Chhantyal copenhagen , Denmark
धेरै राम्रो छ दाई ....कार्यक्रमले निरन्तरता पावोस ....अरु प्रगति गरोस ..... बिदेशमा बसेर स्वदेशको भलाई र उन्नतिको खातिर उठेको यो बुलन्द आवाज र मेहनतलाइ सलाम छ..........
Manoj Gajurel ख्यातिप्राप्त हाँस्य कलाकार
राम्रो गरिरहनु भएको छ l सदसदाका लागि सफलताको शुभकामना !
Krishna phagami magar Arman 6 Myagdi Qatar
यहाँको कार्यक्रमले सफलताको शिखर चुमोस l बिदेशको ठाउंमा रहेर पनि कठिन र कष्टमय समयलाई व्यवस्थापन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएकोमा म लगायत साथमा भएका सम्पूर्ण नेपाली साथीहरुको तर्फबाट सफलताको शुभकामना !
HIRA BDR CHHANTYAL DHAMAJA बागलुंग/NOW MALAYSIA
देश र प्रवासमा रहेका सबै नेपालीहरुको चाहना समेटेर प्रवासबाट पनि आम नेपाली नागरिकमा सचेतनाका लागि कार्यक्रम सञ्चालन गर्नुभएकोमा बढाई छ l
हेमा पुराने छन्त्याल/नानजिंग, चीन
तपाईको कार्यक्रम धेरै राम्रो छ l निरन्तरता पाओस, शुभकामना l
Dorna Kumar Kunwar KTM
निरन्तरता दिनुहोला यूरोपबाट पनि नेपालका खातिर देशभक्तिपूर्ण कार्यक्रमका लागि बढाई l
Pema Sherpa ISRAEL
यहाँको कार्यक्रम धेरै राम्रो छ l
आनन्द छन्त्याल, टोकियो, जापान
धन्यवाद योगेन्द्रजी, तपाईको सबै कार्यक्रम राम्रो लाग्यो l मजस्ता लाखौ नेपालीको मन छुने खालको छ l
सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव छैठौ अंकमा समावेश गर्नेनै छौ l आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l
आजको छलफलको अन्त्यमा तपाईलाई केही प्रश्न गर्न मन लागेको छ : तपाइको विचारमा के छोरा छोरीलाई समान व्यवहार गर्दा राम्रो हुन्छ ? यदि हुन्छ भने किन र हुन्न भने किन ? यदि घरभित्र नै कसैप्रति अन्याय गरिन्छ भने तपाईलाई कस्तो लाग्छ ? तपाई चुप बस्नुहुन्छ वा केही गर्ने कोशिस गर्नुहुन्छ ? के तपाईले आफ्नो परिवारमा कुनै कुरा परिवर्तन गर्ने कोशिस गर्नुभएको छ ? यदि छ भने त्यों के थियो ? मानिसहरुको प्रतिक्रिया कस्तो थियो ? समाजमा रहेका तपाइलाई गलत लाग्ने मान्यताहरुलाई परिवर्तन गर्न सकिन्छ त ? यी प्रश्नहरुको उत्तर खोज्नुहोला जसले छोराछोरीबीचको भेदभाव हटाउन सहयोग पुग्नेछ l एउटा बबाले छोरीलाई कत्ति माया गर्नुपर्छ स्वर्ग समानको परिवार बनाउन l स्वर्ग फिलिमको यो गीत सुनु एकक्षण....
सातौ गीत (छोरी माली भागी भागी नसताऊ............)

यी विभेदबाट आखिर हाम्रा आमा अपहेलित हुनुभयो, हाम्रा दिदीबहिनी अपहेलित हुनुभयो, अन्तत हाम्रा छोरीहरूलाई पनि समस्या पर्नेछ l हामी बाँच्ने २ तरिकाहरू छन l पहिलो चलिरहेका रीतिरिवाज, परंपरा र कानुनलाई मौन सहमति जनाउनु l तिनीहरूबाट हुने फाइदा बेफाइदाबारे कुनै प्रश्न नगर्नु l दोश्रो हामी जुन काम गर्दछौ त्यसलाई सचेत भएर गर्नु वा त्यों किन गरिरहेका छौ बुझेर गर्नु l ठीक कुराको समर्थन र गलत कुराबारे प्रश्न गर्नु सचेत नागरिकको कर्तव्य हो l सचेत भएर बाँच्नुमा बेग्लै किसिमको आनन्द आउंछ l बदलिंदो परिस्थिति अनुसार समाज बदल्नुपर्दछ l यदि नागरिकहरु सचेत छन र प्रश्न गर्नसक्ने साहस गर्दछन भने समाजको विषयमा सोच्ने, यसलाई बनाउने वा बिगार्ने अधिकार केही व्यक्तिहरुको मात्र हातमा सीमित हुँदैन l
तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l छोराछोरीबीचको भेदभाव अन्त्य गर्न आ आफ्नो क्षेत्रमा जे जति गर्न सकिन्छ, कृपया सधै पहल गरिरहनुहोला l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !
(तिम्रो पछ्यौरी उडायो हावाले .....)