मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, June 3, 2010

प्रहरीमा सिपाहीको तुलनामा अधिकृत बढी

केदार ओझा
काठमाडौं, जेष्ठ २१ - नेपाल प्रहरीमा फेरि प्राविधिक नाममा दुई नायब प्रहरी महानिरीक्षक (डीआईजी) पद सिर्जना भएको छ । अर्थ मन्त्रालयले बुधबार नेपाल प्रहरीमा ३ हजार ९ सय ९९ पद स्वीकृत गर्ने क्रममा दुई डीआईजी पद थपिएको हो । कुल ५६ हजार ७७ पद रहेको नेपाल प्रहरीमा थप दरबन्दीपछिको संख्या ६० हजार ७६ भएको छ । जसमा दुई डीआईजीसहित ३ हजार १ सय ६९ महिला प्रहरी छन् ।

थपिएका दरबन्दीमा २ दुई डीआईजी, ४ एसएसपी, १२ एसपी, २७ डीएसपी, ७८ इन्सपेक्टर, ३ सय ११ सई, ७ सय ३६ हवल्दार, २ हजार १ सय ६९ जवान र २ सय २२ फलोअर्स छन् ।

जवानको तुलनामा उच्च अधिकृत एकदमै बढी भएको गुनासो भइहरेकै अवस्थामा पुनः सीमित व्यक्ति र राजनीतिज्ञको स्वार्थमा डीआईजी र एसएसपीजस्तो पद थपिएको भन्दै उच्च अधिकृत आक्रोशित देखिएका छन् । सुरक्षाका एक जानकारले भने, 'संगठनमा सिपाहीको अनुपातमा हाकिम धेरै हुँदा अह्रनखटन र चेनअफ कमाण्डमा गम्भीर समस्या सिर्जना हुनसक्छ ।'

प्रहरीमा हाल हवल्दार १० हजार ४ सय ४१ र जवान ३३ हजार ७२ छन् । तर महानिरीक्षकदेखि कनिष्ट अधिकृत ९ हजार ६ सय ६५ छन् ।

सात महिनाअघि मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सहमति लिई नेपाल प्रहरीमा १० हजार एक जनाको दरबन्दी बढाउने निर्णय गरेको थियो । बजेट अभाव भएको कारण देखाउँदै अर्थले बुधबार मात्रै ३ हजार ९ सय ९९ पद मात्रै स्वीकृत गरेको निर्णय गृहलाई दिएको छ ।

राजनीतिक दलसम्बद्ध प्रभावशाली उच्च अधिकृतहरूलाई तत्काल बढुवा गर्ने उद्देश्यले डीआईजी पद थपिएको स्रोतले जनायो । हाल थपिएको दुई डीआईजी पदमा बढुवा हुने सम्भाव्य उम्मेदवारमा एसएसपी महेश कठायत र अमितकाजी श्रेष्ठ छन् । प्राविधिक पदहरूको दरबन्दी नबढेकाले वृत्तिविकासमा असर परेको गुनासो ती अधिकृतहरूको छ ।

केहीअघि मात्रै उपप्रधानमन्त्री विजयकुमार गच्छदारका एक आफन्तलाई जसरी भए पनि बढुवा गर्ने क्रममा आवश्यकता नै नभई ७ डीआईजी पद सिर्जना गरिएको थियो । ९ वटा खाली दरबन्दीमा गच्छदारका आफन्तलाई बढुवा गर्न नसकिने भएपछि ७ वटा थपी एकैपटक १६ जना डीआईजी बनाइएको थियो ।

ती डीआईजीहरूले प्रहरीको नेतृत्वसमक्ष अहिलेसम्म कार्यकक्ष र काम नपाएको गुनासो गर्दै आएका छन् । प्रहरीमा हाल ८ एआईजी, ३० डीआईजी, ५६ एसएसपी, १ सय ७ एसपी, ३ सय ४ डीएसपी, १ हजार ४५ निरीक्षक, २ हजार ८ सय ४० सई र ५ हजार २ सय ७५ असई छन् । पाँच क्षेत्रमा खटिएका बाहेकका २५ डीआईजी र ८ एआईजी काठमाडौंमै केन्दि्रत छन् । प्रधान कार्यालयमा दरबन्दी भएका ती अधिकांश उच्च अधिकृत दिनभरिजस्तै फुर्सदिला देखिन्छन् । (ekantipur)

0 comments: