काठमाडौँ, जेठ ३०- प्रधान मन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिक गतिरोध चाँडै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालले शान्ति प्रक्रिया, संविधान लेखन र दलबीच देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि आफूले तत्कालै दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताएका छन्।
प्रधान मन्त्री नेपाल र सभामुख नेम्वाङबीच आइतबार दिउँसो प्रधान मन्त्री निवास बालुवाटारमा भएको भेटमा दलबीचको विवाद र गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल भएको थियो।
सो अवसरमा प्रधान मन्त्री नेपालले राजनीतिक गतिरोध अन्त्य हुन नसकेकोप्रति आफू चिन्तित रहेको जनाउँदै असहमति टुङ्ग्याउन आफूले आवश्यक पहल गर्ने र त्यसैका लागि आफू दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका थिए।
भेटमा व्यवस्थापिका संसदको वर्षे अधिवेशन आह्वान गर्न निकै ढिलो भइसकेको, तीन दलबीच जेठ १४ गते मध्यरातमा भएको सहमति कार्यान्वयन नहुँदा दलबीच विवाद बढ्न गई जनतामा निराशा उत्पन्न भएको र अहिलेकै अवस्थामा रहँदा दलहरू टुङ्गोमा पुग्ने अवस्था नरहेकाले यी यावत् समस्या सुल्झाउन आफूले प्रधान मन्त्रीको ध्यानाकर्षण गराएको सभामुख नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिए।
सभामुख नेम्बाङले असारभित्र सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान रहेको जनाउँदै यदि दलबीच सहमतिका लागि अझै केही समय लाग्ने हो भने आफूहरू के गर्दैछौँ र केका लागि समय चाहिएको हो, त्यसबारे दलहरूले नै चाँडै स्पष्ट पार्न आवश्यक रहेको पनि आफूले प्रधान मन्त्रीसमक्ष अनुरोध गरेको बताए।
- रासस
Monday, June 14, 2010
गतिरोध चाँडै टुङ्गो लाग्ने प्रधान मन्त्रीको भनाइ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment