काठमाडौं, असार ४ (नागरिक)- संविधानसभाका युवा सभासद्ले दस दिनभित्र सहमतिमा निकास दिन तीन दलका शीर्षनेतालाई अल्टिमेटम दिएका छन्।
संविधानसभाको म्याद बढाउने निर्णय गरेको तीन साता बित्दा पनि सहमतिमा अघि नबढेको भन्दै उनीहरूले पार्टी नेताको आलोचनासमेत गरे।
विभिन्न पार्टीका युवा सभासद्ले बिहीबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई संसद्मै बोलाएर यस्तो अल्टिमेटम दिएका हुन्।
'दलका नेताहरू सहमतिका लागि तयार हुने कि नहुने?' सभासद्हरूले दुवै नेतालाई प्रश्न गरेका थिए। एमाले अध्यक्ष झलनाथ खनालले अस्वस्थताका कारण उपस्थित हुन नसक्ने जानकारी पठाएका थिए।
'गिरिजाबाबु हुँदा पनि सहमति र सहकार्यका लागि कहिल्यै विमति थिएन', माओवादी अध्यक्ष दाहालले सभासद्हरूसँग भने, 'सहमतिका निम्ति तयार छैनौँ कहिल्यै भनेका छैनौँ।'
तीनबुँदेबाट सहमतिको नयाँ यात्रा सुरु भएको आफूले ठानेको बताउँदै दाहालले भने, 'त्यो त सहमति नै होइन रहेछ भन्ने भोलिपल्टैदेखि स्पष्ट भयो, त्यसैले अविश्वास अरू बढेको छ।'
सात दल र माओवादीको सहकार्यले युगान्तकारी परिवर्तन सम्भव भएको स्मरण गर्दै दाहालले भने, 'संविधानसभाको चुनावमा माओवादी सबभन्दा ठूलो पार्टी भएपछि अन्य दल यसलाई पाखा लगाउन र नेतृत्वलाई हतप्रभ बनाउन केन्द्रित भएकाले हामी झन् गम्भीर भएका छौँ।' सहमति कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको उनले बताए।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी र कांग्रेसबीच आपसी अविश्वास रहेको बताए। 'प्रचण्डजीका तर्फबाट हामीप्रति अविश्वास छ, हाम्रोतर्फबाट उहाँप्रति', उनले भने, 'पहिले शान्तिप्रक्रिया टुंगोमा पुर्याऔँ, संविधान र सत्ताको छिनोफानो आफैँ हुन्छ।'
सभासद्हरूले नेताद्वयलाई पुराना असहमति नदोहोर्याउन आग्रह गर्दै निकासको उपाय खोज्न दबाब दिए। कांग्रेस सभासद् लक्ष्मी परियारले भनिन्, 'कहिले र कसरी निकास दिनुहुन्छ, नसके हामी युवा सभासद्लाई जिम्मा दिनुस् भन्यौँ।' सभासद् गगन थापाले उद्यमी-व्यापारी र अरूले बोलाउनेबित्तिकै भेट्न रुचाउने तर निकासका लागि नेताहरू छलफलमा नबस्ने व्यवहारको आलोचना गर्दै भने, 'नेताहरू छलफलमा बस्ने कि नबस्ने? यो अति नै भइसक्यो।' उनले नेताहरू तत्काल सहमतिमा पुग्नुपर्ने पनि बताएका थिए।
माओवादी अध्यक्ष दाहाल उपस्थित कार्यक्रममा पार्टीका सभासद् भने सहभागी थिएनन्। कार्यक्रमबारे जानकारी पाए पनि माओवादी सभासद् अनुपस्थित रहेको परियारले आरोप लगाइन्।
यसअघि युवा सभासद् बैठकमा जाने गरेकी माओवादी सभासद् रेणु चन्दले भने आफूलाई आजको कार्यक्रमबारे थाहा नभएको बताइन्। माओवादी मुख्य सचेतक पोस्टबहादुर बोगटीले पार्टीहरू लाग्दासमेत सहमति कार्यान्वयन नभएको अवस्थामा यस्ता दबाबले कुनै अर्थ नराख्ने टिप्पणी गरे। 'पार्टी अध्यक्ष जाने हामीलाई थाहै थिएन, त्यसैले वास्ता गरेनौँ', बोगटीले भने। अध्यक्ष दाहालले भने पार्टीले बहिष्कारको निर्णय नगरेको बताए।
Friday, June 18, 2010
युवा सभासद्को दसदिने अल्टिमेटम
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment