किरण पुन, काठमाडौं, जेठ २४ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सरकारको नेतृत्व नेपाली कांग्रेसले मागेको जानकारी पार्टीलाई दिएका छन्। पार्टी पदाधिकारीको आइतबार बिहानको बैठकमा उनले कांग्रेस नेतृत्वसँग भएको भेटघाट उल्लेख गर्दै भने, 'कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनलाई सघाउन हामीलाई आग्रह गरेको छ।'
प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाको प्रसङ्ग कांग्रेस नेतृत्वले नउठाइकन आफ्नो नेतृत्वको सरकार बनाउन सहयोग मागेपछि द्वीदलीय छलफल अघि बढ्न नसकेको दाहालले जानकारी गराए।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म तीन दलबीच भएको 'तीन बुँदे सहमति' मध्येको 'शान्ति प्रक्रियालाई अघि बढाउने र सहमतिय राजनीतिमा जाने' प्रावधान कार्यान्वयन हुन नसक्ने माओवादीको अडान छ।
स्रोतका अनुसार, दाहालले पदाधिकारी बैठकमा कांग्रेससँगको छलफलमा कुनै प्रगति नभएको जानकारी दिँदै भनेका थिए, 'कांग्रेस एक इन्च पनि अघि बढ्न नचाहेकाले कुनै प्रगति हुन नसकेको हो।'
'छलफल त भयो तर सकारात्मक छैन। कांग्रेससँगको छलफलबाट उसले देशलाई अस्थिरतातिरै धकेल्न खोजेको देखिएको छ,' दाहाललाई उद्धृत गर्दै बैठकपछि सचिव पोष्टबहादुर बोगटीले नागरिकसँग भने।
अध्यक्ष दाहाल आफ्नो निवासमा भएको पदाधिकारी बैठकपछि दुई दिनको आरामका लागि रमणीय पहाडी पर्यटकीय स्थल हेलम्बू प्रस्थान गरे। दलहरूबीच सहमतिमा सबभन्दा बाधक कांग्रेस देखिएको टिप्पणी पनि बोगटीले गरे। उनले भने, 'एमाले त कांग्रेसको कठालो समातेर बैतर्नी तर्ने उही दोधारे गंगटे नीतिमै देखिन्छ।' (nagariknews)
Monday, June 7, 2010
कांग्रेसले प्रधानमन्त्री माग्यो : दाहाल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment