तिलक पाठक, (नागरिक) काठमाडौं, असार १७- प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि भावी प्रधानमन्त्री को भन्ने विषयमा चर्चा हुन थालेको छ। प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु आ-आफनै नेतृत्वमा सरकार निर्माणको कसरतमा लागेका छन्। प्रधानमन्त्रीको दौडमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल देखिएका छन्।
प्रधानमन्त्रीको प्रतिस्पर्धीमा देखिएका नेताहरुमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा कस्तो किसिमको सरकार बन्छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ। यसो भन्नुको मतलव आगामी सरकार राष्ट्रिय सहमतिको कि बहमतीय प्रणालीको भन्ने हो।
प्रधानमन्त्री नेपालले पनि जाँदाजाँदै सहमतीय सरकार हुनुपर्ने कुरामा जोड दिएका छन्। यद्यपि व्यक्तिगत रुपमा उनले कांग्रेस नेता पौडेललाई सहयोग गर्ने वचन दिएको स्रोतको दाबी छ। यसैबीच कांग्रेस नेता पौडेलले आफनो सक्रियता बढाएका मात्रै छैनन् आफैले नेतृत्व गर्नुपर्ने दवी समेत गर्न थालेका छन् ।
'माओवादी र एमालेको नेतृत्वमा सरकार बनिसकेको छ। अब पालो काग्रेसको हो'- पौडेलले नागरिकसँग भने- 'काग्रेसले शान्ति प्रक्रिया र लोकतन्त्रको नेतृत्व गरेकोले स्वभाविक रुपमा सरकारको नेतृत्व लिन चाहन्छ ।'
माओवादीले पनि आफनै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने भएको छ। 'सहमतीय सरकार अहिलेको अपरिहार्य आवश्यकता हो', माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने- 'यो पार्टी त्यो ब्यक्तिभन्दा पनि दलहरुबीच सहमति गरेर अघि बढने हो ।'
एमाले अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कुरामा जोड दिए । 'वहुमतीय सरकार समस्याको समाधान होइन', खनालले संचारकर्मीसँग भने- 'हामी दावा गर्दैनौं। राष्ट्रिय सहमतिको लागि एमालेले पहल गर्छ।'
सबै राजनीतिक दल र तिनका नेताहरुले सहमतीय सरकार हुनुपर्ने बताए पनि नेताहरु सकेसम्म आफनै नेतृत्वमा सरकार गठन गर्ने कसरतमा छन् चाहे त्यो सहमतीय होस् वा बहुमतीय। माओवादीले यसै साता सम्पन्न पोलटब्युरो वैठकमार्फत् सकेसम्म सहमतीय नभए बहमतीय सरकारको विकल्प खुल्ला राख्ने निर्णय गरिसकेको छ। यो निर्णयलाई बिहीबार हुने स्थायी कमिटीको बैठकले मुर्तरुप दिनेछ। एमालेले पनि बिहीवार नै स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठकमा छलफल भएपछि शुक्रवार हुने एमाले केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सहमतिको सरकार वा बहुमतीय सरकार भन्ने विषयको निर्क्यौल गर्नेछ।
सहमतीय सरकार बन्न नसके बहुमतीय सरकारको समीकरण आफु अनुकुल बनाउन नेताहरुको कसरत हुने छ। यसमा प्रतिस्पर्धी नेताहरुको आ-आफनै किसिमको सवल र दुर्वल पक्ष रहेको छ। माओवादी र कांग्रेसमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा पार्टीभित्रै एकमत छैन। जुन ती नेताहरुको लागि दुर्वल पक्ष हो । भावी प्रधानमन्त्रीको उम्मेदारलाई लिएर एमालेभित्र अध्यक्ष खनाल सर्वसम्मत जस्तै देखिएका छन् जुन खनालको सवल पक्ष हो। नेता केपी शर्मा ओलीलाई सभासद बनाएर प्रधानमन्त्री बनाउने कुरा त्यति सहज नभएको र प्रधानमन्त्रीको दावी गर्ने हैसियतको नेता पार्टीभित्र अरु नभएकाले पनि खनाल पार्टीभित्र सर्वसम्मत देखिएका हुन् ।
'म पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउन लागिरहेको छु। त्यसका लागि उहाँ पनि लाग्नुपर् यो नि'- नेता ओली खनाल निकटहरुसँग भन्दै हिँडेका छन्। ओलीले यसो भन्नुपछि पार्टीमा 'पावर सेयरिङ' खोजेको खनाल निकटवर्तीहरुको बुझाई छ। ओलीले कसरी 'नेगोसियट' गर्छन् भन्ने कुराले महत्वपुर्ण अर्थ राख्छ। एमालेभित्रको 'डाइनामिक्स' भावी सरकार निर्माणका लागि अर्थपूर्ण छ।
खनालले ओलीलाई पार्टीमा भुमीका बढी दिने कुरामा सहमति जनाए ओलीले खनाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने संभावना छ। ओलीले समर्थन गरेको स्थितिमा नेपालले पनि समर्थन गर्न बाध्य हुने छन्। 'अध्यक्षको लागि भुमीका खेल्नुवाहेक दुई नेतासँग अर्को विकल्प छैन'- खनाल निकट एमालेका एक नेताले भने। उनको भनाईमा सरकारदेखि पार्टीसम्म 'पावर सेयरिङ' गर्न खनाललाई समस्या छैन। कांग्रेसले माओवादीलाई र माओवादीले काग्रेसलाई नमान्ने स्थिति हुनु पनि खनालको लागि सवल पक्ष हो। त्यस स्थितिमा दुवैका लागि एमालेको मध्यमार्गी नेतृत्व स्वीकार्य हुन सक्छ ।
दुईवटा कम्युनिष्ट प्रधानमन्त्री शान्ति र संविधानका लागि असफल भएको पृष्ठभुमी चाहिँ कांग्रेसको लागि सवल पक्ष हो। त्यसैले त शान्ति र संविधानको नेतृत्व आफूहरुले गर्नुपर्ने तर्क कांग्रेस नेताहरुले गर्दै आएका छन्। तर काग्रेसको महाधिवेशन नजिकिनु र जसका कारण पार्टीभित्र सहमति जुटन नसक्नु कांग्रेस नेतृत्वमा समीकरण बन्ने कुरामा दुर्वल पक्ष बन्न पुगेको छ। पार्टीभित्रैबाट महाधिवेशन यता कांग्रेसले सरकारको नेतृत्व गर्न नहुने कुरामा पार्टीभित्रैवाट दवाव पर्ने संभावना छ।
यता माओवादीमा सरकार बन्ने कुरामा चाहिँ शान्ति प्रकि्रयासँग जोडिएको सेना र हतियार मुख्य बाधक देखिएको छ। सेना र हतियार रहिन्जेल माओवादी नेतृत्वमा सरकार गठन संभव नभएको काग्रेस-एमालेले बताइसकेका छन्। कांग्रेस र एमालेको यो सर्त माओवादी अध्यक्ष दाहालका लागि मात्र नभएर भट्टराईको सन्दर्भमा पनि लागू हुनेछ। दाहाल विगतमा असफल भएकाले विकल्प खोजौ भन्ने सर्त आएमा भने भट्टराईको पल्ला भारी हुने छ। यद्यपि भट्टराई प्रधानमन्त्री बन्ने कुरामा पार्टीभित्रैबाट संभव नभएको जानकारहरु बताउछन् ।
संसदको सबैभन्दा ठुलो दल हुनु चाहिँ माओवादीका लागि सवल पक्ष हो। कांग्रेसको राष्ट्रपति र एमालेको सभामुख भएकाले 'पावर सेयरिङ' गर्दा प्रधानमन्त्रीको हकदार आफनो पार्टी भन्ने माओवादी नेताहरुको तर्क छ जुन माओवादीको सवल पक्ष हो। 'काग्रेसको राष्ट्रपति र एमालेको सभामुख भएपछि सरकारको नेतृत्व हामीले पाउनुपर्छ'- माओवादी उपाध्यक्ष भट्टराईले भने।
Wednesday, June 30, 2010
को को छन् प्रधानमन्त्री बन्ने दौडमा ?
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment