हामीले हरेक कुरा नयाँ देख्न चाहन्छौँ । हरेक नयाँ वस्तुमा सबैको आकर्षण हुन्छ । हरेक नयाँ वस्तुमा तबसम्म आकर्षण रहिरहन्छ जबसम्म त्यसमा नयाँपन रहिरहन्छ । तर, आकर्षण गर्ने बहानामा पुरानै वस्तुलाई रंग्याएर नयाँ र नौलो बनाउन खोज्नु ठगी हो । अचेल, यस देशमा ठग-प्रवृत्ति हाबी भएको छ । बोली, व्यवहार, रीतिरिवाज, धर्म, संस्कार, नैतिकता, आचरण तथा सामाजिक संरचनाका हरेक खुड्किलामा ठगी हाबी हुँदै गएको छ ।
जेठ १४ गते शीर्षस्थ तीन दलका नेताबीच भएको तीनबुँदे सहमतिले संविधान निर्माणको कार्यकाल एक वर्ष त बढ्यो । तर, देश र जनताले वास्तविक निकास पाउन सकेनन् । अझै अन्योल र त्रासको वातावरण कायम रहिरह्यो । धेरै दिनको लगातार प्रयास र दौडधुप हुँदाहुँदै पनि १४ जेठको रात करिब-करिब ११ बजेको समयमा जुन प्रकारले सहमति गरियो, त्यो सहमतिको पर्दापछाडिबाट चालिएका कुटिल षड्यन्त्रहरूले एकातिर देश थप जटिल मोडमा पुगेको आभास हुन्छ भने नेपाली जनताले सही समयमा पाउनुपर्ने संविधानको जुन कानुनी दस्ताबेज हो, त्यो अझै ओझेलमा पर्दै गएको देखिन्छ । जनताले दिएको दुई वर्षको समयसीमाभित्र जुन रूपमा सत्तापक्ष र प्रतिपक्षी दलहरू एक भएर संविधान निर्माण प्रक्रियामा लाग्नुपथ्र्यो, त्यो रूपमा लाग्न नसक्नुका पछाडि धेरै कारण होलान् । तर, ती कारण दलगत स्वार्थ र व्यक्तिवादी राजनीतिक स्वार्थले बढी अभिप्रेरित भयो । देशी-विदेशी तत्त्वले दुई वर्षको अन्तरालमा धेरै नै चलखेल गर्ने मौका पाए । ती तत्त्वहरू जसले देशमा प्रतिगमन चाहेका थिए, ती जो देशमा सदैव अस्थिरता देख्न चाहन्थे तिनले कसरी संविधान बनेको देख्न सक्थे ?
अब कहिले बन्ला त असली संविधान ? नक्कली संविधान बनाउन त यहाँ होडबाजी चलिरहेको छ । संविधान विभिन्न दलहरूको मुखपत्रजस्तो देखिन थालेको छ । दलहरूको आ-आफ्नै हठ र अडानले संविधानको आकार र वास्तविकता ओझेलमा पर्दै गएको देखिन्छ । वास्तविकता लुकाएर लुक्दैन । हिजोसम्म संविधानसभाको खुलेरै विरोध गर्ने दलहरू आज संविधान समयमै बन्नुपर्छ भन्ने पक्षमा अडिग देखिन्छन् । संविधानसभाको एजेन्डालाई सौताको व्यवहार गर्ने तिनै दलहरू आज सार्थक संविधान बन्नुपर्छ भन्ने मान्यतामा देखिन्छन् । तर, संविधानसभाको एजेन्डालाई जन्माउने, हुर्काउने, फलाउने र फुलाउने जिम्मेवारीसाथ जुन दल प्रस्तुत भएको थियो, त्यो आज बिस्तारै पाखा लाग्दै छ । के साँच्चिकै पाखा लागेकै हो त ? या पाखा लगाइएको हो ? सेनापति प्रकरणदेखि विवादास्पद बन्दै आएको एनेकपा माओवादी पछिल्लो चरणमा प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा प्रकरणसम्म आइपुग्दा पनि विवादमुक्त हुन सकिरहेको छैन । सेनापति प्रकरणमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले जुन रूपमा विवादास्पद अभिव्यक्ति दिएर आफू बाहिरिए, त्यसको हिसाबकिताब अहिलेको सरकारसँग लिन खोज्नु त्यति न्यायसंगत देखिँदैन । तैपनि, जनमुखी संविधान र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नकै लागि भए पनि एनेकपा माओवादीलाई पाखा लगाएर कहिल्यै देशले निकास पाउन सक्दैन । र, एनेकपा माओवादी पनि आफ्नो वैचारिक धरातलमा विचलित हुनु हुँदैन । कहिले सत्ताको कुरा अगाडि सारेर जनतामा प्रस्तुत हुने, कहिले शक्तिको कुरो अगाडि सारेर सन्त्रासको स्थिति जगाउने, बोलाइ र गराइको विभेदको खाडल बढ्दै जाँदा जनतामा विश्वास घट्दै गएको
छ । किन अडिग बन्न सकिरहेको छैन त माओवादी ?
जेठ १४ र त्यसपछि उत्पन्न विवादले नेपाली जनतामा फेरि पनि नराम्रो सन्देश दिएको छ । के कुर्सीकै लागि राजनीति गरेका रहेछन् त हाम्रा नेताले ? यदि कुर्सी नै प्यारो छ भने जनताको सहारा किन चाहियो ? त्यही कुर्सीकै सहारा लिएर बसे त भइहाल्यो नि ! भनिन्छ, नेता हुन सजिलो छ । तर, राजनेता भएर आफ्नो असली पहिचान बनाउनु ज्यादै गाह्रो कुरा हो । नेपालको परिप्रेक्ष्यमा नेताहरू थुप्रै छन् । राजनेताको दर्जामा उभिन सफल औँलामा गनिने संख्या पनि छैन । केवल खोक्रा आश्वासन र निराधार कुराहरू गर्दै जनतालाई गुमराहमा पारेर आफ्नो सत्ता र स्वार्थका लागि राजनीति गरिन्छ भने किन बनाउनुपर्यो नयाँ नेपाल ? उही पुरानो नेपाल त छँदै थियो नि ? नयाँ नेपालको ललिपप चखाएर पुरानै संरचना र पुरानै चरित्रलाई दोहोर्याइन्छ भने सेतो बिरालोको कालो चाला भएन र ? आन्तरिक रूपमा सबैको चाला एउटै भए पनि बाहिर देखाउने प्रस्तुतिले मात्र कतिन्जेल जनता ठगिएलान् र ?
Tuesday, June 15, 2010
नयाँ नेपालको ललिपपको पुरानै स्वाद : डिल्ली बस्नेत 'संगीत', दाङ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment