मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 7, 2010

माओवादी चेतावनीले सप्तकोशी उच्चबाँधको डीपीआर ठप्प

रोहित राई, धरान,जेठ २३-सप्तकोशी उच्चबाँध परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य फेरि रोकिएको छ। शनिबार एकीकृत नेकपा माओवादीले डिपिआर तत्काल रोक्न चेतावनी दिएलगत्तै आइतबारदेखि सो कार्य रोकिएको हो।

डिपिआर तयारी कार्य भइरहेको स्थानमा माओवादीसहितको एक टोली पुगेर डिपिआर तयारी कार्य रोक्न भनेपछि आइतबार काम नभएको भारत सरकारकातर्फबाट खटिएका सिनियर इञ्जिनियर एवं फिल्ड डिभिजन इञ्चार्ज राकेश कास्यपले बताए। 'माओवादी नेताहरु आएर काम रोक्नु भनेपछि आजदेखि काममा गएका छैनौं'-कास्यपले भने-'मैले हिजो भएको सबै कुरा माथि रिपोर्ट गरिसकेको छु, जे निर्देशन आउछ त्यही अनुसार कार्य अघि बढ्छ।' आफू कर्मचारी मात्रै भएको उल्लेख गदै उनले माथिल्लो निकायको निर्देशन पर्खिबसेको बताए।

शनिबार माओवादीको केन्द्रीय नेता, सभासद तथा जातीय मोर्चा सहितको एक टोली डिपिआर तयारीको लागि सर्वेक्षण भइरहेको स्थल धनकुटाको आहाले गाविस १ सुनाखम्बीमा पुगेर भारतीय प्राविधिकहरुलाई सो कार्य तत्काल रोक्न चेतावनी दिएको थियो। यसअघि सन् ००७ मा पनि माओवादीको जातीय मोर्चा र स्थानीयबासीको सरोकार समितिले बराहक्षेत्रस्थित क्याम्प कार्यालय तोडफोड गरेपछि करिब तीन बर्ष डिपिआर कार्य रोकिएको थियो। नेपाल सरकराले पुर्ण सुरक्षा दिने आवश्वासन दिदै सइको कमाण्डमा २५ जनाको प्रहरी टोली सो क्षेत्रमा खटाएपछि भने गत अप्रिल ४ देखि पुनः डिपिआर कार्य शुरु भएको थियो।

नेपाल भारत संयुक्त आयोजना कार्यालयका नेपाल तर्फका आयोजना प्रमुख सुरेन्द्र मानन्धरले पनि माओवादी चेतावनी पछि डिपिआर कार्य रोकिएको स्वीकार गरे। 'माओवादी नेता, सभासद नै गएर काम नगर्नु भनेपछि सहज वातावरण भएन, मैले पनि माथिल्लो निकायमा रिपोर्टिग गरेको छु, निर्देशन आएको छैन'-उनले भने। शनिबारको घटनाबारे उर्जा मन्त्रालय र विद्युत विकास विभागमा जानकारी गराएर निर्देशनको प्रतिक्षामा रहेको उनले बताए।

सन् १९९१ मा नेपाल र भारतका प्रधानमन्त्रीस्तरीय सहमति भएपछि सन् २००४ देखि विराटनगरमा नेपाल भारत संयुक्त आयोजना कार्यालय स्थापना गरि डिपिआर कार्य शुरु भएको थियो। भारतले सन् १९८१ मा तयार गरेको डिपिआर प्रतिवेदन अनुसार धनकुटाको आहाले गाविस १ सुनाखम्बीमा २६९ मिटर उचाइको क्रंकिट उच्चवाँध बनाएर ३ हजार मेगावाट बिजुली निकाल्ने र १५ लाख हेक्टर क्षेत्रमा सिचाइ गर्ने अवधारणा अघि सारेको छ। सन् ००७ सम्ममा डिपिआर तयारी कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि स्थानीयबासी र माओवादी अवरोधको कारण हालसम्म पुरा हुन सकेको छैन । (nagariknews)

0 comments: