हिजोआजका कुरा नबनाएको भए म अहिले 'नोबडी' हुने रहेछु । अब कहिल्यै टेलिभिजनमा नदेखिए पनि वा अभिनय नगरे पनि बाँचुन्जेल दर्शकका मनमै बसिरहनेमा ढुक्क छु ।
एक समय नेपाली दर्शक नेपाल टेलिभिजनमा आउने हिजोआजका कुरा खुब रुचाउँथे । वा यसो भनौँ- कोकाकोला, जिन्स र चाउचाउजस्तै हिजोआजका कुराले पनि 'भयानक' बजार लिएको थियो । अझ केहीका लागि हप्तामा एकचोटि आउने यो कार्यक्रम जीवनशैली नै बनेको थियो । १२ वर्षसम्म यस कार्यक्रमले काँचको पर्दामा राज गर्यो । 'तर, कुसमयमै यो हराइहाल्यो,' हिजोआजका कुराका निर्देशक सन्तोष पन्त हल्का भावुक बने, 'यो हराउनुका कारण राजनीतिक परिवर्तन हो, जुन मैले कल्पनासम्म गरेको थिइनँ ।'
लामो समयसम्म चलेको यस लोकपि्रय कार्यक्रममा ०६३ मा एक्कासि ग्रहण लाग्यो । दर्शकले अत्यन्तै मन पराएको हिजोआजका कुरा अचानक 'अस्तिका कुरा' हुन पुग्यो । अर्थात् यो बन्द भयो । र, सन्तोषको लामो कला-जीवनमा ठूलो झट्का लाग्यो । एकप्रकारले उनको करिअरमा आँधीबेहरी आएसरह भयो । पहिले 'आजभोलिका कुरा'को नामले सुरु भएकोे टेलिभिजन कार्यक्रम १७ भाग चलिसकेपछि 'हिजोआजका कुरा' भयो, जुन ५६५ भागसम्म प्रसारण भयो । यो घटना सम्झँदा सन्तोष अहिले पनि 'दुःखी' हुन्छन् । ०६३ यता नेपाली दर्शकले आक्कलझुक्कल विज्ञापन र अन्तर्वार्ताबाहेक टेलिभिजनका पर्दामा उनलाई देखेका छैनन् । 'दर्शक साँच्चै भोकाएका रहेछन्,' उनले सुनाए, 'बिहान-बेलुका सहर चहार्दा मलाई बोलाउने र फर्केर हेर्नेहरू यति हुन्छन् कि म गन्नै सक्दिनँ ।'
०००
तीसको दशकमा उदाएका सन्तोष पन्त अहिले अभिनय क्षेत्रबाट साँच्चै हराएका छन् । तर, अहिले पनि दर्शकमाझ आफ्नो पहिलेझैँ माग भएको सुनाउँछन् उनी । नेपाली दर्शकले टेलिभिजनको अनुहार देख्न थालेदेखि सन्तोष पन्तको अनुहार र अभिनय नियालेका हुन् र यो सहरका दर्शकको मनमै बास बसे सन्तोष । राजनीतिमा बनाउने र बिगार्ने शक्तिका अनवरत युद्ध चलिरहन्छन् । 'मेरो कार्यक्रम पनि राजनीतिक शक्तिको युद्धको सिकार भयो,' पछिल्लोपटक भएको दसवर्षे माओवादी युद्धलाई संकेत गर्दै उनले भने, 'माओवादीले मेरो अर्को कार्यक्रम 'माटोले माग्दैन आफैँले दिनुपर्छ' बन्द गर्न दिएको धम्कीले हिजोआजका कुरालाई पनि असर पुर्यायो र अन्ततः त्यो बन्दै भयो ।'
आफ्नो अभिनयको तीस वर्षमा उनले निकै उतारचढाव भोगे । धेरैले सन्तोष पन्त 'आउटडेटेड' भइसकेको दाबी गरे । कला समीक्षकले सन्तोषलाई निकै अलमलमा परेको र उनको अभिनय करिअरमा पूर्णविराम लागिसकेको विश्लेषणात्मक 'दाबी' प्रस्तुत गरे । 'मेरो पछिल्लो गतिविधि हेर्दा अभिनयमा पूर्णविराम लागेजस्तो देखिन्छ,' उनले भने, 'बिस्तारै अभिनयलाई फेरि आफ्नै बाटोमा हिँडाउने विचारमा छु ।'
०००
तर, अब समय पहिलेजस्तो रहेन । समयसँगै प्रतिस्पर्धा पनि थपियो । त्यसवेला सन्तोष पन्त र हिजोआजका कुरासँग प्रतिस्पर्धा गर्ने अरू कार्यक्रम थिएनन् । सन्तोष एउटा लगनशील र लोकपि्रय कलाकारका रूपमा छाएका थिए ।
उनले ठयाक्कै पाँच दशक उमेर पार गरिसकेका छन् । अब उनी बुढयौलीउन्मुख छन् । अचेल उनी धापासीको आफ्नो घरको झयालबाट बाहिरी संसार चियाउँछन् र नियाल्छन् ओरालोलाग्दो उमेर । कलाकारितामा बितेको एउटा ओजस्वी छवि त छ, तर आफ्नो अभिनय र जानेको सीप तिखार्ने 'प्लेटर्फम' छैन अहिले । दिनदिनै नयाँ-नयाँ कलाकारको प्रवेश भइरहेका वेला फेरि उही रूपमा पर्दामा जम्नु सन्तोषका लागि त्यति सहज पनि नहुन सक्छ । यसको अर्थ उनी प्रतिस्पर्धामा उत्रिन सक्दैनन् भन्न खोजेको होइन । उनको अभिनयमा जुन दम छ, त्यो लरतरोखालको छैन ।
तीन वर्षकै उमेरदेखि 'स्टेज'मा अभिनय सुरु गरेका पन्त आफू जन्मजात कलाकार भएको सुनाउँछन् । 'अहिले म त्यसै बसेकोजस्तो देखिन्छु,' सन्तोषले सुनाए, 'तर, मेरो हृदयमा अभिनयको हुटहुटी छ । र, दर्शकलाई कला देखाउन नपाएको असन्तोष पनि ।' अभिनय गर्ने 'प्लेटर्फम'को कमीले उनीभित्र अन्योल र द्विविधा पनि थपिएको छ भन्ने निष्कर्ष निकाल्न त्यति गाह्रो पर्दैन ।
अभिनयमा विश्रामपछिका सन्तोषका दिन कसरी बितिरहेका होलान् ? आजकाल सन्तोषका दिन 'पटयारलाग्दो' गरी बित्दा छन् । बिहान उठ्नासाथ एक लिटर पानी पिएर सुरु भएको उनको दिन जगिङ गर्दै अघि बढ्छ । दिउँसो हिन्दी र अंग्रेजी फिल्म हेर्दै बित्छ । आर्मीको 'साइकोलोजी अप्रेसन सेक्सन'को जागिरे हुन् सन्तोष । 'कहिलेकाहीँ आर्मी अफिस पुग्छु, तर मेरा प्रायः दिन अनुत्पादक हुन्छन्,' उनले सुनाए ।
लगभग दैनिक रक्सीको गिलास समात्ने गरेकोे तथ्य पनि उनी लुकाउँदैनन् । कुनै दिन रक्सी खाएनन् भने त्यो अपवाद हुन्छ । उता दिन ढल्छ, यता सन्तोष प्याला समाउँछन् । 'रक्सी मेरो साथीजस्तै हो,' उनी सुनाउँछन्, 'हामी केही साथी -राधेश्याम सत्याल, दिलप्रसाद पोखरेल, मोहन मिश्र) दुई रुपैयाँ प्वाइन्टमा तास खेल्दै रक्सी पिउँछौँ । जसले जित्छ उसैले रक्सी किन्छ । यही जिन्दगी मज्जा छ ।' उनको जिन्दगीको यो कालखण्ड भूपी शेरचनको एउटा कवितासँग मेल खान्छ-
चियाको किट्लीबाट एउटा सूर्य उदाउँछ
सधैँ रक्सीको गिलासमा एउटा सूर्य अस्ताउँछ
फेरि कुरा मोडियो, रक्सीबाट जिन्दगीतिर । उनले फयाट्टै भनिदिए, 'हिजोआजको कुराले मलाई नाम, दाम, इज्जत र जीवन दियो । हिजोआजका कुरा नबनाएको भए अहिले 'समबडी' होइन, 'नोबडी' हुने रहेछु ।' अब कहिल्यै टेलिभिजनमा नदेखिए पनि वा अभिनय नगरे पनि 'आफू बाँचुन्जेल धेरै दर्शकको मनमै बसिरहनेमा' ढुक्क छन् सन्तोष । त्यसो भए नेपाली समाजलाई के दियो त हिजोआजका कुराले ? 'समाजको एउटा ऐना थियो यो कार्यक्रम,' उनले भने, 'समाजको विकृति र विसंगति देखाएर समाजलाई ठीक दिशामा हिँडाउन मेरो कार्यक्रम सक्षम थियो भन्ने लाग्छ ।'
०००
सन्तोषले धेरै फिल्ममा अभिनय गरेका छन् । यतिउति उनलाई सम्झना छैन । अहिले उनी फिल्ममा पनि छैनन्, किनारमा बसेर एउटा यात्रुझैँ फिल्म र हास्य टेलिफिल्मलाई नियालिरहेका छन् । उनलाई लाग्छ- अभिनय गर्नु भनेको आत्मसन्तुष्टि मात्रै होइन, समाजलाई सही मार्ग देखाउनु पनि हो । नेपाली फिल्मलाई धेरैले लगाउने आरोपजस्तै उनले पनि लगाए, 'नेपाली सिनेमामा जीवन हुँदैन ।' नेपाली फिल्म, टेलिफिल्मको होलसेल समीक्षा गरिदिए, 'नेपाली फिल्म, टेलिफिल्ममा वियोग हुन्छ, आँसु हुन्छ । अन्त्य आँसुमै गएर अडिन्छ ।'
नयनराज पाण्डेको 'नायक' कथामा फिल्म लेखक जीवनवादी भए पनि पात्रले अन्त्यमा आफूलाई मारिदिनूस् भनेर याचना गर्छ । नेपाली फिल्मका सालाखाला सबै लेखकको नियति नै यही हो । कथामा नेपाली सिनेमाका स्रस्टाको दरिद्र मानसिकता प्रकट गर्ने प्रयास लेखकले गरेका छन् । तर, यसो भन्दैमा नायकलाई चोख्याउन मिल्ने अवस्था यहाँ नरहेको सन्तोष सुनाउँछन् । 'आधा शताब्दीभन्दा बढीको इतिहास बोकेको नेपाली सिनेमा यो अवस्थासम्म आइपुग्दा यसमा निकै चेन्ज आइसक्नुपर्ने हो,' उनले सुनाए, 'तर, त्यसो भएन । नेपाली सिनेमामा कथाको एउटै सूत्र हुन्छ । नेपाली सिनेमा त्यही सूत्रमा जेलिएको छ । त्यही जालमा अल्झिरहेको छ ।' सन्तोषले नेपाली फिल्ममा अभिनय गर्न थालेको तीन दशक नाघिसकेको छ । तर, आफूले अभिनय गरेका फिल्म, टेलिफिल्मको सूचीमा कुनै पनि नयाँ सूत्र प्रयोग भएको उनलाई थाहा छैन । 'यहाँ फिल्म त बने, तर नयाँ सूत्र र कहानी आएनन्,' उनले सुनाए, 'एउटै हिरोले वा चरित्र अभिनेताले ३० वर्षदेखि उस्तै कथानक भएका फिल्ममा अभिनय गरिरहनुपरेको छ । हाम्रो फिल्ममा नौलो सूत्र केही पनि विकास भएनन् ।'
०००
हिजोआजका कुराको सुटिङ गर्ने समय निकै कष्टकर हुने गरेको उनले सुनाए । 'प्रत्येकपटक एउटा महाभारत टाउकोमा उठाएजस्तो लाग्थ्यो,' उनले भने, 'हिजोआजका कुराको कथा सिद्धिए के गर्ने होला भन्ने डर मनमा सधैँ रहन्थ्यो ।'
एकपटक यस्तो भएछ- सुटिङका लागि चितवन जाँदा सन्तोषले गाडी हाँकेका रहेछन् । नौबिसेमा 'ब्रेक फेल' भएछ । अब के गर्ने ? सन्तोष आत्तिएनछन् । बरु गाडी हाँकिरहे । उनले त्यस्तो अवस्थामा हाँकेको गाडी नारायणघाट पुगेर मात्रै रोकियो । 'गाडी रोकिसकेपछि मात्रै त्यसमा सवार यात्रु साथीहरूलाई ब्रेक फेल भएको सुनाएँ,' उनले भने, 'त्यसपछि उनीहरू झनै आत्तिए । सबैले 'धन्न बाँचियो' भनेका थिए ।'
सुटिङमा सौराहा जाँदा कलाकार चढेको बसको टायर तीनपटक पन्चर भएको, दामनमा हिउँ परेर सुटिङमा बाधा पुगेको र काठमाडौँमै दामनको सेट बनाएर कार्यक्रम सुटिङ गरिएको अनेक घटना सन्तोषको मनमा तस्बिरका एल्बममा झैँ कैद छन् । अब यी सबै सम्झँदा उनलाई एकादेशको कथाझैँ लाग्न थालेको छ । 'एक्लै बस्दा निकैबेर टोलाउँछु । पुराना कुरा फिल्मका रिलजस्तै रिवाइन्ड भइरहन्छन्,' उनी सुनाउँछन्, 'ती दिन साह्रै रोमान्टिक थिए, जसलाई कत्ति गर्दा पनि भुल्न सकिन्न ।'
०००
सन्तोषले आफ्ना पहिलेका फिल्म, टेलिफिल्म वा स्टेज-सोमा आफूलाई जसरी प्रस्तुत गरे, पछिसम्म पनि उनको छवि त्यही बन्यो । आफू थोरै भए पनि नयाँ भूमिकामा देखिन रुचाएको र प्रयोग पनि गरेको उनले सुनाए । त्यति हुँदाहुँदै पनि नयाँ भूमिकामा आउन नेपाली फिल्म, टेलिफिल्मका परम्परागत धारले नदिएको उनी बताउँछन् । 'नेपाली फिल्मले नयाँ धार सामातेन,' उनले सुनाए, 'परम्परावादी धारका नेपाली फिल्ममा खेल्न बाध्य छन् अहिलेका नयाँ नायक पनि ।' उनको विचारमा यहाँ समाज छिटो हिँडयो, तर फिल्म हिँडेन ।
सन्तोष ५० वर्ष पुगे । अहिले अभिनयबाट पूर्ण रूपमा बाहिर छन् । बाहिरी देशका चलन छाडिदिउ, नेपालमा नायकको उमेर छिप्पिसकेपछि ऊ सिनेमाको पर्दामा नायक हुन पाउँदैन, साइड रोलतिरै चित्त बुझाउनुपर्छ । के अब सन्तोष पनि 'आउटडेटेड' भए ? के उमेर छिप्पिएपछि नेपालमा नायक -प्रमुख) भूमिकामा आउन पाइन्न ? 'नायकको उमेर हुँदैन । यदि, उमेर हुन्थ्यो भने अमिताभ बच्चन, ऋषि कपुरहरू अहिले बलिउडका 'हिट' नायक हुँदैनथे,' उनले सुनाए, 'जबसम्म नायकलाई दर्शकले रुचाउँछन् तबसम्म ऊ नायक नै रहिरहन्छ । बाँच्ने उसको अभिनय हो, 'हिरोइजम' होइन ।'
०००
सन्तोष पन्तले हिन्दी सिनेमा उद्योगमा पनि कमजोर छायाका रूपमा स्थापित विषयवस्तु नेपाली फिल्म र टेलिफिल्मले आयात गरेको र मुख्य विषयवस्तु बनाइएको सुनाए । 'यो आयात प्रक्रियामा हामीले कुनै मापदण्ड र सीमा निर्माण गरेका छैनौँ । हामी त हिन्दीको हुबहु आयात गछौ । यसले नेपाली पर्दाको छवि झनै कमजोर बनाउँदै छ ।' एउटा कालखण्डका हिन्दी सिनेमाका विषयवस्तु नै हाम्रो पहिलो प्राथमिकतामा पर्ने गरेकोमा उनलाई दिक्क लागेको रहेछ । 'हिन्दी फिल्मको पूरै नक्कल र जोडजाड हाम्रा फिल्म हुन्,' उनले भने, 'विश्व फिल्ममा नायकको छवि बिस्तारै फेरिँदै छ । तर, त्यसबारे हाम्रा निर्देशक र कथाकार बेखबर छन् ।'
अंग्रेजीकै सिको गर्दै भए पनि हिन्दी सिनेमाका नायकको छवि दैनिक फेरिँदै छ । ऊ आफ्नो सुन्दरता र बाहुबलले होइन, आफूभित्रको अन्तर्निहित फरक विशेषताका कारण 'नायक' हुन थालेको छ । समयानुकूल उसले आफूलाई फेर्दै लगेको छ । 'तर, नेपाली सिने क्षेत्रले यो पक्षलाई बुझ्नै सकेन । अहिले पनि धर्मेन्द्र, राजेश खन्ना र अमिताभका हिन्दी सिनेमाले निकै पछि छाडिसकेका हिरोका चरित्रलाई हामीले समातिरहेका छौँ ।'
सन्तोषको विचारमा नायकको चरित्र र कथानक एक-अर्कामा जोडिएका विषय हुन् । 'कथानक कति सशक्त हुन्छ भन्ने कुरा हिरोको चरित्रलाई कसरी प्रस्तुत गरिन्छ त्यसैले थाहा पाइन्छ,' सन्तोषले गम्भीर हुँदै सुनाए, 'तर, नेपाली टेलिफिल्म र फिल्मको सबैभन्दा कमजोर पक्ष नै 'चरित्र' हो । हाम्रोमा चरित्रलाई तर्कसंगत रूपले प्रस्तुत गरिँदैन ।'
०००
उनको जीवनमा केही यस्ता क्षण छन्, जुन अरू कलाकारका जीवनका पलभन्दा नितान्त फरक छन् । फिल्ममा माग्नेको रोल गर्नुपर्यो भने उनी माग्नेले लगाउने जस्तै लुगा लगाएर र दुरुस्तै माग्ने बनेर विष्णुमति पुलमाथि बस्थे रे । बटुवाले मैलो टोपीमा खसालिदिएको केही रुपैयाँ बोकेर उनी सुटिङ स्पटतिर लाग्थे । 'आफूले अभिनय गर्नुपर्ने पात्र बनेर म धेरैपटक बसेको छु,' उनले भने ।
'चेलीबेटी' फिल्ममा उनले जँडयाहा दमाइको भूमिका गर्नुपर्ने भएछ । उनी मैलो इस्टकोट, मैलो सुरुवाल र कालो टोपी लगाएर हल्लिँदै गाउँ पसेछन् । मान्छेले आँगनबाटै लखेटेका घटना पनि उनीसँग छन् ।
आजकाल अनेक कारणले सानो र ठूलो पर्दाको सिर्जनात्मक पक्ष कमजोर भएको सन्तोषको निष्कर्ष छ । चरित्रमा विविधता नदेखिनु र नायकमा मौलिकता नहुनु यसकै कारण हो भन्छन् उनी । सन्तोष 'नेपाली फिल्म र टेलिफिल्म जग नभएको घरमाथि उभिएको छ,' भन्छन् ।
अन्त्यमा उनले भने, 'मैले हास्यव्यंग्यको पिच बाटो बनाएको थिएँ । तर, अहिलेका हास्यकलाकारले त्यो बाटो खनेर नेपालको प्रजातन्त्रजस्तो बनाइदिए, जहाँ खाल्डाखुल्डी मात्रै छ ।
सन्तोषका आँखा मा १० उत्कृष्ट हास्य कलाकार
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ
उनीहरूको जोडी नेपाली हास्यव्यंग्य क्षेत्रमा एउटा नौलो उदाहरण हो । यस जोडीलाई छुटयाएर प्रस्तुत गर्न मिल्दैन भनेर एकैपटक भनेको हुँ । उनीहरू भर्सटाइल छन् । कलाकारले समाजमा लिनुपर्ने जिम्मेवारी उनीहरूले लिइरहेका छन् । नेताहरू झुटो सपना बेचिरहेका वेला उनीहरूले समाजलाई सत्य सपना देखाइरहेका छन् । उनीहरूको सेन्टिमेन्ट्स र फिलिङ्स सधँै समाजको हितमा मात्रै हुन्छ । सत्यकुरा बोलेर पनि हँसाउन सकिन्छ है भन्ने उनीहरूको सकारात्मक सोचको कदर गर्नै पर्छ । नेपालमा उनीहरूको स्तरको हास्य कलाकार अरू छैनन् ।
मोहन मिश्र
मोहन नेचुरल एक्टिङ गर्छन् । उनको स्त्रिmप्ट लेखन पनि निकै राम्रो छ । कुन कुरामा कसरी र कति व्यंग्य गर्नुपर्छ र कति हँसाउनुपर्छ उनलाई राम्ररी थाहा छ ।
शैलेन्द्र सिंखडा
शैलेन्द्र निकै राम्रो व्यंग्य कवि हुन् । उनको अभिनय पनि सहज छ । सहज र सरल अभिनयबाट दर्शक हँसाउने उनको खुबीको म प्रशंसा गर्छु ।
उज्ज्वल भण्डारी
निकै सरल अभिनय गर्छन् । अहिले त नेपाल वानमा 'उज्जु डार्लिङ' बनेका छन् । खुब राम्रो हास्यकलाकार हुन् ।
शिवहरि पौडेल
हास्य स्त्रिप्ट राम्रो लेख्छन् उनी । टेलिफिल्मभन्दा पनि स्टेजमा ब्यालेन्स अभिनय गर्छन् । अरू पनि हास्यकलाकार जन्माउने खुबी छ उनीसँग । निर्देशकीय क्षमता पनि भएका मान्छे हुन् उनी ।
खेम शर्मा
चार्ली च्याप्लिनको जस्तो अभिनय गर्छन् उनी । तर, अहिले पहिलेजति राम्राे अभिनय गर्दैनन् कि जस्तो लाग्छ । ओभर एक्टिङ गरेजस्तो लाग्छ, जो स्टेजमा पच्छ, तर टेलिभिजनमा पच्दैन । तथापि, उनी राम्रा कलाकार हुन् । यसमा शंका छैन ।
जितु नेपाल
पहिलेभन्दा निकै राम्रो अभिनय गर्दै छन् । 'जिरे खुर्सानी'मा देखिएको उनको निर्देशकीय क्षमता पनि राम्रो छ । अलि ओभर एक्टिङ गर्न थालेका छन्, त्यसमा सुधार गरे भने निकै राम्रो कलाकार बन्नेछन् । हास्यकलाकार बन्न उनले गरेको मिहिनेतको म प्रशंसा गर्छु ।
दमन रुपाखेती
उनी हिजोआजका कुराबाट सानो रोल गर्दै आएका कलाकार हुन् । उनी मिहिनेती छन् । तर, उनले ओभर एक्टिङ गर्न कहिल्यै छाडेनन् । सधैँ मुख बंग्याएर मात्रै अरूलाई हँसाउन सकिन्छ भन्ने उनको फर्मुला अब निकै पुरानो भइसक्यो । उनले आफ्नो अभिनयको प्याटर्न चेन्ज गर्नै पर्छ ।
दीपकराज गिरी
निकै लामो समयदेखि तीतो सत्यमा काम गर्दै आएका दीपक रेडियो ड्रामा राम्रो गर्थे । तीतो सत्यमा सधैँ एकैखाले अभिनय गरिरहेका छन् । उनले यसमा छिट्टै परिवर्तन गनुपर्छ । मेरो हिजोआजको कुरा हटेपछि उनले फैलने मौका पाए ।
-दीपक सापकोटा


0 comments:
Post a Comment