विषाक्त आँप
अतुल मिश्र, काठमाडौ, अषाढ ५ - एकैनासले पहेंलिएर पाकेका आँप किन्दै हुनुहुन्छ भने ख्याल गर्नुस् । यस्ता आकर्षक र देख्दै खाउँ खाउँ लाग्ने आँप वा फलफूलले शरीरलाई फाइदाभन्दा बढी नोक्सानी गर्छन् । किनकि ती रसायन हालेर पकाइएका हुन्छन् । यसका भुक्तभोगी चिकित्सकहरू नै छन् ।
वीर अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. ध्रुव सिंह बजारमा पाइने आकर्षक आँप खाएपछि पेटसम्बन्धी समस्याले थला परे । उनी दुई दिनसम्म काममा जान सकेनन् । 'घरमै उपचार गरें,' उनले भने, 'अरू भएको भए अस्पतालै भर्ना गर्नुपर्ने हुन्थ्यो ।'
व्यापारीहरूले आँप, केरा, मेवा, अम्बा, भुइँकटहरजस्ता फलफूललाई कार्बाइडजस्तो प्रतिबन्धित रसायनको सहयोगले बलजफ्ती पकाउने गरेका छन् । मेडिकेयर अस्पतालका पेटरोग विशेषज्ञ डा. प्रदीपकुमार यादवका अनुसार कार्बाइडद्वारा पकाइएका फलफूल नियमित खाँदा मुखमा घाउ, पेटमा ग्यास्टि्रक र कहिलेकाहीँ त फुड प्वाइजनिङसमेत हुन सक्छ । 'प्राकृतिक रूपमै पाकेका फलफूल शरीरका लागि उत्तम हुन्,' उनले भने, 'फलफूल खानुअघि राम्ररी धुनैपर्छ ।'
'कार्बाइडले पकाइएको आँपले पखाला, बान्ता, फुड प्वाइजनिङजस्ता समस्याको स्वयं सिकार भएँ,' डा. सिंहको अनुभव छ, 'त्यस्तै आँप खाएका थुप्रै व्यक्तिको उपचार भइरहेको छ ।' उनका अनुसार कार्बाइडले मृगौलामा क्षतिलगायतका शारीरिक समस्या हुन सक्छन् । तर दुर्भाग्य, सम्बद्घ निकाय कानमा तेल हालेर बसेको छ ।
बलजपmती पकाइएका फलफूलमा प्राकृतिक स्वाद र सुगन्ध कम हुन्छ । यिनमा प्राकृतिक रूपले पाकेका फलफूलभन्दा कम मात्रामा 'फुटक्रोज' र पौष्टिक तत्त्व हुन्छ । यस्ता फलफूलमा फोस्फोरस र आर्सेनिकको अंशसमेत देखिन्छ ।
'क्याल्सियम कार्बाइडको उपयोग अत्यन्त खतरनाक छ,' रसायनशास्त्री डा. विनय झाले भने, 'कार्बाइडमा आर्सेनिक, फोस्फोरसको अंश हुन्छ र एसिटिलिन ग्यास एसिटलडिहाइडमा परिवर्तन हुन्छ, जसले क्यान्सर उत्पन्न गर्न सक्छ ।' कार्सिनोजेनिक अर्थात् क्यान्सर उत्पन्न गर्न सक्ने कार्बाइड धातु जोड्न उपयोग गरिन्छ ।
फलफूलमा एकैनासको आकर्षक रंग देखिए, घरमा राखेको दुई/तीन दिनपछि फलफूलको बोक्रामा कालो दाग देखिए तिनमा रसायन प्रयोग भएको निश्चित हुन्छ ।
डा. सिंहका अनुसार उनले आफू ढुक्क हुन कार्बाइड उपयोग नगरिएको भनेर हरियो अवस्थाकै आँप ल्याएका थिए, तर २४ घन्टामै सबै आँप पाके ।
जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकाशित टर्कीको अध्ययन प्रतिवेदनअनुसार फलफूल पकाउन क्याल्सियम कार्बाइडको उपयोग अत्यन्त खतरनाक छ । उक्त प्रतिवेदनमा भनिएको छ, 'इसिटिलिन ग्यासले स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै टाउको दुखाइ, बेचैनी, स्मरण क्षमतामा कमी, बढी निद्राजस्ता समस्या
देखिन्छन् ।' रसायनशास्त्री डा. झाले भने, 'यो रसायन कति प्रतिक्रियात्मक छ भने छोए हातमा फोका उठ्छ ।' सूर्यको प्रकाशमा राख्दा कार्बाइडले निकै तीव्र ग्यास छोड्छ ।
कार्बाइडलाई सामान्यतः आँप, केरालगायतका फलफूल पकाउने ठाउँमा सानो कागतको प्याकेटमा केही मात्रामा हालेर राखिन्छ । फलफूलमा भएको आद्रताले रासायनिक प्रतिक्रिया भएर एसिटाइलिन ग्यास उत्पन्न हुन्छ । यसले पहेंलिने प्रक्रिया तीव्र बनाउँछ । ग्यासले एक दिनमै फलफूल पाकेको देखिन्छ ।
'मलाई थाहा छ, यो रसायन प्रतिबन्धित छ तर कसैले जाँच गर्दैन,' एकजना फलफूल व्यापारीले भने । उनले यो रसायन उपयोग गरे पनि कुनै किसिमको कानुनीलगायतका बाधा-अड्चन नआएको दाबी गरे ।
विज्ञहरूका अनुसार क्याल्सियम कार्बाइड धेरै प्रतिक्रियात्मक (रिएक्टिभ) रसायन हो । प्रतिबन्धित भए पनि यो नेपालमा खुलमखुल्ला उपयोग गरिन्छ ।
'कसैले पनि सुरक्षित पकाउने प्रक्रिया उपयोग गर्दैनन्,' कृषि मन्त्रालयका एक विशेषज्ञले भने । प्राकृतिक रूपमा पकाउन खोज्दा नियन्त्रित तापक्रमको आवश्यकतासँगै धेरै खर्च पर्छ । पकाउने वास्तविक प्रक्रियाका निम्ति कम्तीमा ५/६ दिन लाग्छ । कार्बाइडको उपयोगले २४ देखि ३६ घन्टामा फलफूल पाक्छ ।
रसायनशास्त्रीहरूका अनुसार एकपटक पानीमा घुलेपछि कार्बाइडले एसिटिलिन ग्यास छोड्छ । एसिटिलिन ग्यास फलफूललाई प्राकृतिक रूपमा पकाउने 'एजेन्ट' इथाइलिनसँग मिल्दोजुल्दो हुन्छ । एसिटिलिनले इथाइलिन छोड्छ र पाक्ने क्रिया तीव्र पार्छ ।
आँप, केरालगायतका फलफूल पकाउन कार्बाइडको उपयोग नेपालमा प्रतिबन्धित छ । भारतमा खाद्यपदार्थ मिसावट ऐनअनुसार कार्बाइडले फलफूल पकाउने प्रक्रिया
प्रतिबन्धित मात्र नभई दण्डको समेत विशेष व्यवस्था छ- ६ महिनाको जेल सजाय र एक हजार भारु ।
'नियममा कार्बाइडले फलफूल पकाउन नपाउने उल्लेख छ,' खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले भनिन्, 'यसलाई व्यवहारमा समेत कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता छ ।'
बिक्रेता र उपभोक्तालाई कार्बाइडको उपयोगविरूद्घ जनचेतना जगाउने आवश्यकतासमेत उनले औंल्याइन् । उनका अनुसार व्यापारी र कृषकलाई फलफूल पकाउने सस्तो र सुरक्षित विकल्पको जानकारी दिन खाँचो छ । (ekantipur)
Saturday, June 19, 2010
जताततै कार्बाइडले पकाइएका फलफूल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment