प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने चर्चा चलेपछि दौड शुरु भएको हो
तीन प्रमुख दलबीच प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने बुँदा सामेल तीन बुँदे सहमति भएपछि भावि प्रधानमन्त्रीको निम्ति तीन प्रमुख दलहरुभित्रै होडबाजी देखा परेको छ।
त्यो प्रतिष्पर्धामा प्रमुख प्रतिपक्षि एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका दुई-दुई जना नेताहरु मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन्।
कांग्रेस
काँग्रेस केन्द्रीय कार्यसमितिको शुरु भएको बैठकको निष्कर्षका आधारमा संसदीय दल कार्य समितिले आफ्नो दलको प्रधानमन्त्रीका उम्मेदवार तय गर्ने, केन्द्रिय सदस्य तथा सभासद ध्यान गोविन्द रंजितले बताए।
तर संभावित प्रधानमन्त्रीको दौड निर्विवाद हुने कुरामा कमैलाई मात्र विश्वास छ।
दोश्रो वरिष्ठ नेता शेरबहादुर देउवाले फेरि एकपटक बालुवाटारमा आँखा लगाएको लुकेको छैन।
तर संसदीय दलका नेता रामचन्द्र पौडेलका एकजना कट्टर समर्थक सभासद मोहनप्रसाद पाण्डे, पौडेललाई स्वाभाविक दावेदार मान्छन्।
संविधानसभा चुनावपछि सबभन्दा ठूलो दल एकीकृत माओवादी र तेश्रो ठूलो दल एमालेले सरकारको नेतृत्व गरिसकेकाले अब पालो आफ्नो भएको ठान्ने दोश्रो ठूलो दल काँग्रेसको अर्को खेमा देउवा र पौडेलको बिभिन्न पदीय हैसियतको परीक्षण असफल भइसकेको भन्दै महामन्त्री केबी गुरुङको दावेदारीको वकालत गरिरहेको छ।
एमाले
एमालेमा दुईजना जवरजस्त नेताहरु झलनाथ खनाल र केपी शर्मा ओली प्रतिष्पर्धामा देखिएका छन्।
एमालेका एकजना युवा नेता योगेश भट्टराई संसदीय दलको नेताका साथै पार्टी अध्यक्ष समेत भएकाले खनाललाई भावी प्रधानमन्त्रीको स्वभाविक हकदार मान्छन्।
उनले समन्वयकारी तथा लचिलो स्वभाव खनालको थप गुणको रुपमा प्रस्तुत गरेका छन्।
तर उनको निम्ति केपी शर्मा ओली एमाले मुख्यालय बल्खुको दैलोमै चुनौतिको रुपमा ठिङ्ग उभिएका छन्।
उनको सार्वजनिक छवि माओवादीका सदावहार कट्टर आलोचकको छ जवकी खनालको माओवादीप्रति नरम धारणा राख्ने नेताको छ।
तर ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम घडीमा भएको वार्तापछि संविधानसभाको म्याद थप्ने गाँठो फुकेको भन्ने विषयलाई ओली समर्थकहरुले निकै महत्वका साथ प्रस्तुत गरिरहेका छन्।
एमालेका एजना केन्द्रिय सदस्य कर्णबहादुर थापा उक्त प्रकरणपछि ओलीको खाँचो थप महशुस भएको तर्क गर्छन्।
त्यसकै निम्ति ओलीलाई संविधानसभाको सदस्य बनाउने कसरत पनि शुरु भएको ठानिएको छ।
माओवादी
प्रधानमन्त्री बन्ने दौडमा संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीभित्र पनि उत्तिकै तानातान चलिरहेको बताइन्छ।
माओवादीको शक्तिशाली स्थायी समितिले प्रधानमन्त्रीका लागि कहिले अध्यक्ष प्रचण्ड नै चाहिने तर आवश्यक परे विकल्प खुला राख्ने भन्ने गरेको छ।
पर्दा पछाडि भने माओवादीभित्र कट्टरपन्थि भनेर चिनिने समुहले प्रचण्डको बदला अहिले चर्चामा रहेका पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई या अरुलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन पटक्कै नचाहने बताइन्छ।
एकजना माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले पनि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने अडान व्यक्त गरेका छन्।
खासगरी प्रचण्डको नेतृत्वको सरकार गिरे यता उनीनै प्रधानमन्त्री बन्नुपर्छ भनेर अडान लिन नहुने भन्नेहरुको संख्या माओवादी भित्र बढ्दै गएको बताइन्छ।
अर्का माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझी राजनीतिक गतिरोध अन्त्य हुन्छ भने विकल्पका लागि खुला रहनुपर्ने धारणा राख्छन्। (BBC)
Tuesday, June 8, 2010
प्रधानमन्त्रीको निम्ति तीन ठूला पार्टीभित्रै होड
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment