प्रवीण ढकाल, नयाँ पत्रिका
काठमाडौं, २४ जेठ
स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति शिक्षा र स्वास्थ्यमा लगानी गर्ने सरकारको घोषणा असफल भएको छ । सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्न स्थापना गरिएको नेपाल ट्रस्टले पर्याप्त रकम नभएको भन्दै यो वर्ष रकम खर्च नगर्ने जनाएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्तिलाई शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने घोषणा गरेको थियो । तर, अर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी हुँदा पनि ट्रस्टले यससम्बन्धी कुनै पनि प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
०६७ वैशाख मसान्तसम्ममा ट्रस्टले झन्डै साढे पाँच करोड रुपैयाँ संकलन गरिसकेको छ । ट्रस्टको ऐन तथा नियमावलीमा पूर्वराजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गर्दा प्राप्त हुने रकम विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्ने एवं स्वास्थ्य क्षेत्रमा खर्च गर्ने स्पष्ट व्यवस्था गरिएको छ । तर, ट्रस्टले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्न हालसम्म कार्यक्रम त टाढैको कुरा, योजनासम्म बनाएको छैन ।
ट्रस्टका प्रवक्ता टीकाराम घिमिरेले सम्पत्ति र रकम संकलनकार्य भइरहेको, तर संकलित रकमलाई कुन आधारमा कसरी प्रयोगमा ल्याउने भन्ने कार्ययोजना नबनेको बताए । उनी भन्छन्, 'शिक्षण संस्था स्थापना गर्न वा अनुदान दिन तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न संकलित रकमलाई कसरी र कुन आधारमा गर्ने भन्ने निर्णय भएको छैन । त्यसैले यससम्बन्धी काम अगाडि बढ्नै सकेको छैन ।'
सरकारले देशका थुप्रै स्थानमा भौतिक पूर्वाधारविना सञ्चालित विद्यालयमा कक्षाकोठा, भवन र शिक्षकको राम्रो व्यवस्था गर्न तथा देशका दुर्गम, पिछडिएको क्षेत्रलगायतका क्षेत्रमा अस्पताल, स्वस्थ्यचौकी तथा अन्य स्वास्थ्यको विकासका कार्यक्रम सञ्चालन गर्न सहयोग मिलोस् भनेर ट्रस्टको कार्यक्षेत्र तोकिदिएको थियो ।
ट्रस्टले तत्काल केही आवश्यक क्षेत्रमा कार्य सुरु गर्न सक्थ्यो नि भन्ने जिज्ञासमा प्रवक्ता घिमिरे भन्छन्, 'दुर्गम तथा केही क्षेत्रमा एकपटक मात्र अनुदान दिएर पुग्दैन, नियमित दिनुपर्ने हुन्छ । ट्रस्टको नियमित आयस्रोत हुँदै गएपछि मात्र अनुदानका कुरा अगाडि बढाउन सकिन्छ ।' उनले पटक-पटक गरेर रकम संकलन गरेकाले पनि शिक्षणसंस्था तथा स्वास्थ्य क्षेत्रमा भवन निर्माण, जनशक्ति भर्ना गर्नेलगायतका कार्य अगाडि बढाउन नसकिएको बताए । उनका अनुसार कोषमा १० करोडभन्दा बढी रकम भएपछि मात्र लगानीको बाटो खुल्नेछ ।
ट्रस्टले दिएको जानकारीअनुसार हालसम्म ट्रस्टले घर भाडामा दिएबापत टेकुको काठमाडौं बिजनेस पार्कबाट वाषिर्क २५ लाख रुपैयाँ, लाजिम्पाटको
स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट वाषिर्क ६० लाख ८० हजार रुपैयाँ, कमलादीको काठमाडौं प्लाजाबाट वाषिर्क ४८ लाख रुपैयाँ, गोकर्णको गोकर्ण रिसोर्टबाट वाषिर्क एक लाख ४० हजार अमेरिकी डलर र कालिमाटीको सोल्टी होटल जाने बाटोमा आठवटा पसलबाट वाषिर्क १५ लाख ५६ हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।
त्यसबाहेक नबिल बैंकमा रहेको ५७ लाख ३३ हजार रुपैयाँबराबरको सेयर, नेपाल औद्योगिक विकास निगममा रहेको ६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर र अन्नपूर्ण होटलमा रहेको १५ लाख ६० हजार रुपैयाँबराबरको सेयरका साथै विभिन्न जिल्लामा गरी हालसम्म तीन हजार ६ सय रोपनी जग्गा फेला पारिएको छ । यसका साथै दरबारमार्गको एउटा घरको ब्युटिपार्लरबाट मासिक पाँच हजार रुपैयाँ उठाउँदै आएको ट्रस्टले केही समयअगाडि त्यही स्थानमा कार्यालय स्थापना गरेर बसेकाले त्यसबाट आउने आम्दानी भने घटेको छ ।


0 comments:
Post a Comment