भोलामानसिंह बस्नेत, धानबालीविद्
दुईजना नेपालीको भेट हुँदा भात खाइयो ? भन्ने प्रश्नबाट कुराकानी सुरु हुन्छ । भातमाथ्ािको अति निर्भरतालाई तोड्ने हिम्मत अहिलेसम्म भएकै छैन । जुम्लामा हेलिकोप्टरबाट किन चामल पुर्याउने ? त्यहाँको उत्पादन आलुलाई विकल्पका रूपमा अघि सार्नेतिर हामीले कहिल्यै सोचेनौँ ।
हामी नेपाली एक नम्बरका भातप्रेमी हौँ । खाना भन्नासाथ हाम्रा लागि मूलतः भात हुन्छ । तथापि, चाडबाडमा मात्र भातको अनुहार देख्न पाउने गरिब थुप्रै छन् हाम्रो देशमा । वर्षमा केही दिन भात खान पाउनु उनीहरूका लागि ठूलो उत्सव हुन्छ ।
भातको सर्वपि्रयतामाथि दुईमत नहोला । र, यस्तो सर्वपि्रय 'भात' को स्रोत धानको अध्ययन-अनुसन्धानमा करिब चार दशक बिताएको छु मैले । ३७ वर्षसम्म कृषि क्षेत्रमा सरकारी जागिरे भएर काम गरेँ ।
धानमाथि सम्पूर्ण जीवन अर्पण गरेकाले होला, मलाई अहिले पनि धानबालीको कुरा उठ्नेबित्तिकै निकै चासो हुने गर्छ । अहिले म रिटायर्ड जीवन बाँचिरहेको छु । दैनिक कार्यालय जाने कामबाट मुक्त भए पनि कृषिप्रतिको मेरो लगाब कत्ति घटेको छैन । अहिले म पर्यवेक्षकले झैँ कृषि क्षेत्रका समस्या स्वतन्त्र रूपले नियाल्दै छु । त्यसैले मैले भन्ने गरेको छु- 'आई एम वन्ली रिटायर्ड बट नट टायर्ड -म सेवानिवृत्त मात्रै भएको हुँ, तर अझै थाकेको छैन) ।'
०००
भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले एउटा भाषणमा सार्वजनिक घोषणा गरेका थिए- एभ्री थिङ क्यान वेट वब नट एगि्रकल्चर अर्थात् कृषिमा गर्नुपर्ने काम तत्काल गर्नुपर्छ । यसपछि भारतको कृषि क्षेत्रले नयाँ गति लियो । राजनीतिक प्रतिबद्धताले भारतको कृषि क्षेत्रले काँचुली फेरेको छ । पहिले नेपालसँग चामल किन्ने भारत आज चामलमा आत्मनिर्भर छ ।
म अचेल पत्रपत्रिका र इन्टरनेटमार्फत कृषि क्षेत्रमा व्ािश्वमा भइरहेका नयाँ-नयाँ अनुसन्धानबारे सूचना खोज्न व्यस्त छु । निकट भविष्यमै भियतनाममा विश्व बाली सम्मेलन हुँदै छ । म त्यसमा भाग लिने तयारी गर्दै छु । यसबारे सरकारलाई जानकारी छ/छैन थाहा भएन । मलाई धानबालीबारे त्यहाँ केही कुरा राख्न मन लागेको थियो । आयोजकबाट मेरा केही कार्यपत्रले स्वीकृतिसमेत पाइसकेका छन् ।
मैले जागिरको सिलसिलामा धानका लागि विख्यात अन्तर्राष्ट्रिय संस्था- इरीमा बस्ने मौका पाएँ । विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा सहभागी हुने अवसर जुर्यो । इरीमा म करिब तीन वर्ष बसेँ । यसको कार्यालय फिलिपिन्समा छ । त्यहाँ संसारभरिका धानका बारेमा अध्ययन-अनुसन्धान हुने गर्छ । त्यहाँ मैले विदेशमा कृषि क्षेत्रमा अपनाइएका मोडालिटीबारे जान्न पाएँ । विदेशमा प्रयोगवादी कृषि प्रणाली अपनाइएका छन् । आधुनिक कृषि प्रणालीमा उनीहरू सैद्धान्तिक र व्यावहारिक पक्षलाई सँग्ासँगै लैजान सफल भएका छन् ।
नेपालमा पनि बाल्ाी अनुसन्धानको पक्ष त्यति कमजोर छैन । तर, अनुसन्धानबाट प्राप्त कुरा किसानसम्म पुग्न सकिरहेको छैन । युगौँदेखिको समस्या हो यो । कृषि वैज्ञानिक र कृषकबीच प्रत्यक्ष सम्पर्क र संवाद हुन सकिरहेको छैन । कृषि अनुसन्धान परिषद् -नार्क)ले गरेका अनुसन्धानबारे किसान प्रायः अनभिज्ञ हुन्छन् ।
०००
किसानसम्म प्राथमिक सूचना पुर्याउने भनेका जेटी र जेटिए हुन् । उनीहरूलाई तालिम पुगेको छैन । कृषि प्रणालीको कमजोर पक्ष यही हो, जस्तो लाग्छ मलाई । कृषि अनुसन्धानकर्तासित प्राविधिक ज्ञान त हुन्छ, तर प्रयोगात्मक सीप हुँदैन ।
आजभन्दा ३५ वर्षअघि मैले जापानमा भएको धानबालीसम्बन्धी प्रशिक्षणमा सिकेको एउटा सामान्य परीक्षण छ । धानको बीउलाई नुन हालेको पानीमा भिजाए कमसल र कीराले खाएको बीउमाथि उत्रिन्छ भने स्वस्थ बीउ तल थेग्ाि्रन्छ । जापानका प्रायः किसानले यो विधि अपानाएका छन् । जापानमा सिकेको यो विधि मैले नेपालमा प्रचार गर्ने प्रयास गरेँ । तर, अझै किसानले यस विधिलाई त्यति प्रयोग गरेको पाइँदैन । बीउ नुन-पानीमा भिजाउने प्रक्रिया आधा मिनेटभित्रै पूरा हुन्छ । तर, बीउ छर्नुअघि भने बीउलाई चिसोपानीले धुनुपर्छ । हाम्रा किसानमा यति साधारण विधिको ज्ञानसमेत पुग्न सकेको छैन ।
०००
युगौँदेखि हामी रटिरहेका छौँ- नेपाल कृषिप्रधान देश हो । विद्यालयस्तरीय परीक्षामा त 'नेपाल कृषिप्रधान देश हो' भन्ने शीर्षकमा निबन्ध लेख्न लगाइन्छ । तर, कृषिप्रधान देशको विडम्बना यो छ कि यसले खाद्य संकट खेपिरहेकोे छ । तथ्यांकअनुसार यो वर्ष १६ लाख नेपालीले भोकमरीग्रस्त हुनुपर्ने छ । किनभने, यसैवर्ष पाँच लाख १६ हजार मेटि्रक टन खाद्य अपुग हुने अनुमान छ । खाद्य संकटले सबभन्दा बढी पहाडी जनजीवनलाई गाँजेको छ । विगत २१ वर्षमा १३ वर्ष त खाद्य अभावमा बितेको पाइन्छ । यति हुँदाहुँदै पनि कृषि अझै सरकारी प्राथमिकतामा किन नपरेको होला ?
डोल्पामा भोकमरी, खाद्य डिपो रित्तै, सुदूरपश्चिममा खाद्यन्न अपुग, जुम्लामा हेलिकोप्टरबाट चामल ढुवानी... पत्रपत्रिकामा यस्ता हेडलाइन आउँदा मेरो मन भतभती पोल्छ । मलाई निकै दुःख लाग्छ ।
मानिसको पहिलो आधारभूत आवश्यकता खाना हो । भोको पेटले केही गर्न सक्दैन । न काम गर्न सक्छ, न राम्रो सोच्न सक्छ, न साहित्य-कला-संगीत नै सिर्जना गर्न सक्छ । त्यसैले पनि खाद्य उत्पादनमा जोड दिनु जरुरी छ ।
०००
नेपाली भात भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले यहाँको मुख्य बाल्ाी धान भएको हुन सक्छ । भात संस्कृति नै बनेको छ भन्दा फरक पर्दैन । दुईजना नेपालीको भेट हुँदा 'भात खाइयो ?' भन्ने प्रश्नबाट कुराकानी सुरु हुन्छ । भातमाथिको अति निर्भरतालाई तोड्ने हिम्मत अहिलेसम्म भएकै छैन । जुम्लामा हेलिकोप्टरबाट किन चामल पुर्याउने ? त्यहाँको उत्पादन आलुलाई विकल्पका रूपमा अघि सार्नेतिर हाम्रो प्रणाल्ाीले सोचेन । त्यसैले, भातविनाको खाना के खाना भन्ने चलन छ ।
नेपालको मात्र होइन, भात विश्वको आधा जनसंख्याको खाना हो । ९० प्रतिशत एसियालीको खाना भातै हो । धानको महत्त्व दिनानुदिन बढ्दै छ, तर यसको उत्पादन भने बर्सेनि घट्दै गइरहेको छ । धानको घट्दो उत्पादनले नेपाललाई पनि पिरोलेको छ । यसको कारक मौसमलाई लिइन्छ । वेलैमा पानी नपरिदिँदा, बेर्ना रोगी भइदिँदा किसानको मिहिनेत त खेर जान्छ नै, यसले भोकमरी पनि निम्त्याउँछ । नेपालमा १५ लाख हेक्टरमा खेती गरिन्छ । तर, सिँचाइ व्यवस्था नभएका कतिपय ठाउँमा वेलैमा रोपाइँ हँुदैन । अनि फल हात लाग्ने कुरै भएन ! विदेशमा भने यस्तो स्थितिबाट मुक्ति पाउन बिरुवाको वृद्धि बढाउन र घटाउन सकिने पद्धतिको विकास गरिएको छ । रासायनिक औषधिको प्रयोगबाट त्यो काम गरिए पनि प्रभाव भने ज्यादै न्यून हुन्छ ।
विगत ४४ वर्षको अवधिमा नेपालमा ६० जातका धानको बीउ सिफारिस गरिएको छ । अहिले खास गरेर खडेरी सहन सक्ने खालको बीउको खोजी भइरहेको छ । एकपटक चितवनमा मन्सुरी धानको बेर्नालाई मरुवा रोगले सखाप बनायो । करौडौँ रुपैयाँको क्षति भयो । ठहरै पर्नेगरी किसान मर्कामा परे । त्यसको समाधान केही थिएन । तर, कृषि अनुसन्धान परिषद्ले अर्को वर्षदेखि धानको बीउ नै फेरेर रामपुर मन्सुरी जातको बीउ ल्यायो । ०४३ मा धानबाली अवलोकनमा जाँदा के पाइयो भने मध्यपहाडका लागि सिफारिस गरिएको खुमल-३ धान खुमलटार र बनेपामा स्वस्थ थिए, तर त्यही जातको धान काठमाडौँको मूलपानीमा भने खत्तम भएको थियो । उही जातको बीउ पनि ठाउँपिच्छे फरक पर्दोरहेछ । बीउ फेरेर लग्ााएमात्रै पनि यो समस्या केही हदसम्म कम भएर जान्छ ।
०००
धनुषाको हर्दिनाथ फार्मको म्यानेजर रहँदा मैले तराईका निकै जिल्ला घुम्ने अवसर पाएको थिएँ । त्यसक्रममा किसानलाई भेट्दा उनीहरूको एउटै गुनासो हुन्थ्यो- मल, बीउ पाइएन, प्राविधिक ग्ााउँमा आइदिएनन् । अनि, कति त प्राविधिकले दिने ज्ञानकै विपक्षमा पनि हुन्थे । अनुभवले खारिएका पुख्र्याैली कृषक र भर्खरको जागिरे प्राविधिकबीच तालमेल नै नहँुदोरहेछ । प्राविधिकले आफूले जानेको कुरा किसानलाई सिकाउनै नसक्ने !
म आफैँ एकजना किसानको समस्या फेस गर्न अघि सरेँ । उनलाई प्राविधिकले सिकाउन सक्छन् भन्ने विश्वासै रहेनछ । पछि, मैले उनलाई धानखेतीबारे धेरै कुरा सिकाएपछि उनले भने, 'सरले धानखेतीबारे राम्ररी जान्नुभएको रहेछ ।' त्यस घटनाले मेरा आँखा खुले र मैले थाहा पाएँ- हाम्रा प्राविधिकको सिकाउने तरिकामा कतै न कतै त्रुटि छ । बीउ, मल र जलको तालमेलको अभावले नै उत्पादन घट्दै गइरहेको छ । यसबारे किसानलाई सचेत गराउन मेरै अगुवाइमा हालको कृषि सूचना केन्द्रको स्थापना भयो । जसले विभिन्न सञ्चारमाध्यमबाट किसानसम्म सूचना प्रवाह गर्छ ।
सामान्यतः जुन १५ बाट वषर्ा सुरु हुने भएकाले रोपाइँ थाल्ने मिति त्यही मानिए पनि अचेल मौसम परिवर्तनका कारण वषर्ामा निकै घटबढ हुने गरेको छ । मौसम परिवर्तनको पहिलो सिकार किसान हुन्छन् । अर्काे जटिल पाटो के हो भने प्राकृतिकबाहेकका सामान्य समस्याबारे समेत नेपाली किसान अनभिज्ञ छन् ।
कति ठाउँमा आधुनिक धानको सट्टा रैथाने धानकोे उत्पादन निकै राम्रो पाइएको छ । धानबालीको अन्तर्राष्ट्रिय संस्था इरीले बीउ बैंकमार्फत बीउ जोगाउने अभियानै थालेको छ । नेपालका दुई सय जातका धान यस अभियानमा परेका छन् ।
भगौलिक विविधताका कारण नेपालमा जंगली धानदेखि विश्वको सबभन्दा उचाइमा फल्ने धानको जातसम्म पाइन्छन् । जुम्ली मार्सी नौ-दस हजार फिटको उचाइमा फल्ने धान हो । चन्दनानाथ बाबाले कास्मिरबाट सो धानको बीउ ल्याएका भन्ने कहावत पाइन्छ ।
तराई, पहाड र उच्च पहाडी क्षेत्रमा ठाउँअनुसार धानको जात लगाउने कृषि अनुसन्धान परिषद्को सिफारिस व्यवहारमा त्यति लागू भएजस्तो लाग्दैन । यसले पनि उत्पादनमा घटबढ भइरहेको छ ।
एकथरी, कृषिमा आधुनिक प्रणाली अपनाउनेमा जोड दिइरहेका छन् भने अर्काथरी परम्परागत खेतीपाती छाड्नुहुन्न भनिरहेका छन् । परम्परागत कृषिले मात्र उँभो लाग्न सकिन्न, तर यसको अर्थ आधुनिक कृषि मात्रै सबथोक होइन । मलाई लाग्छ- यी दुवैको फ्युजन हुनुपर्छ ।
प्रस्तुति : रामदत्त पन्त
Friday, June 18, 2010
नेपालीलाई भातै चाहिने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment