बजेट अधिवेशनबारे प्रधान मन्त्री-सभामुख छलफल-
माधव ढुङ्गेल, काठमाडौं, जेठ २३- सभामुख सुवासचन्द्र नेम्वाङले प्रधान मन्त्री माधवकुमार नेपालसँग भेट गरी संसद्को हिंउँदे अधिवेशन जेठ २५ मा सुरु गर्ने विषयमा छलफल गरेका छन्। असार २ गते राष्ट्रपति रामवरण यादवबाट सरकारको नीति-कार्यक्रम पेश गर्ने कार्यक्रम यसअघिको छलफलमा तय भएको छ। सरकारको नीति–कार्यक्रम पारित गर्नुपर्ने, त्यसपछि बजेटपूर्वको अन्तर्क्रिया गर्नुपर्ने र नयाँ आर्थिक वर्षको बजेट पेश गर्ने गम्भीर जिम्मेवारी भएकाले समयमै अधिवेशन सुरु गर्न सुझाव दिएका हुन्।
केही दिनअघि भएको छलफलअनुसार नै हिउँदे अधिवेशन सुरु गर्न सुझाव दिएको नेम्वाङले जानकारी दिए।
'जेठ २५ मा नै अधिवेशन आह्वान गर्ने मेरो विश्वास छ', भेटपछि सभामुख नेम्वाङले भने। यसबारे प्रधानमन्त्री नेपालले राष्ट्रपतिसँग छलफल गरेर तिथि तोक्ने नेम्वाङलाई बताए। केही दिनअघि यही मितिमा बजेट अधिवेशन सुरु गर्ने भन्दै हिउँदे अधिवेशन अन्त्य गरेका थिए। माओवादीले विरोध गर्दागर्दै सरकारले अधिवेशन अन्त्य गरेको थियो।
बजेट अधिवेशन सुरु भएको दिन राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन प्रारम्भ भएको पत्र पढेर सुनाइन्छ। त्यसपछिको 'बिजनेश' नै राष्ट्रपतिबाट सरकारको नीति–कार्यक्रम पेश गर्ने राखिन्छ। नीति–कार्यक्रम पास भएपछि त्यसैको आधारमा बजेटपूर्वको अन्तर्क्रिया गराउनुपर्नेछ।
विगतमा लगातार २ वर्ष यस्तो अन्तर्क्रिया गराइएन। कानूनमा रहेको सो प्रावधान पूरा नगरेका कारण नियमावलि नै निलम्बन गरेर काम चलाइएको थियो।
प्रधान मन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा जेठ १४ गते राती भएको तीन बुँदे सहमति कार्यान्वयनबारे पनि छलफल भएको थियो। प्रधान मन्त्रीले सहमति कार्यान्वयन गर्न मुलुकको जिम्मेवार नेताका नाताले विशेष पहल गर्नुपर्ने बताए। नेम्वाङले भने- सहमतिको कार्यान्वयन भएमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको आधार तयार हुनेछ।
दलहरूबीच राम्रो समझदारी हुनुपर्ने र राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने विषयमा आफूले ध्यानाकर्षण गराउँदा प्रधान मन्त्री नेपालले पनि सहमति जनाएका थिए। नेम्वाङले भने- प्रधान मन्त्री चिन्तित र सकारात्मक हुनुहुन्छ, राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा विवाद छैन। (nagariknews)
Sunday, June 6, 2010
'अधिवेशन २५ बाट, नीति तथा कार्यक्रम असार २ मा'
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment