१. तपाईंको जन्म कस्तो परिवारमा भयो ?
मेरो जन्म इलामको साँखेजुङमा सातौँ सन्तान (जन्तरे)का रूपमा भएको हो । पहिले हामी जमिनदार थियौँ । तर, म मध्यमवर्गीय किसान परिवारमा जन्मेको हुँ । मेरो हजुरबुबा र बुबा प्रकाण्ड पण्डित हुनुहुन्थ्यो । उहाँहरूबाट म बाल्यकालमा धेरै प्रभावित थिएँ ।
२. सानोमा कस्तो हुनुहुन्थ्यो ?
अध्ययनशील र जिज्ञाशु थिएँ ।
३. बाल्यकालमा के बन्ने सपना देख्नुभएको थियो ? राजनीतितिर कसरी आकषिर्त हुनुभो ?
सानोमा त्यस्तो कुनै सपना थिएन । एसएलसी पास गरेपछि इन्जिनियर बन्ने सपना बोकेर काठमाडौँ आएँ । तर, केही विद्यार्थीले गरेको हडतालको नाममा त्रि-चन्द्रको परीक्षाकेन्द्र ध्वस्त बनाई हामीजस्ता विद्यार्थीका भविष्य चकनाचुर बनाउने काम भयो । त्यसपछि, इन्जिनियर बन्ने मेरो सपना टुटयो । र, मैले नयाँ सपना देखेँ- राजनीतिमा लागेर पञ्चायती शासनविरुद्ध लड्ने ।'
४. विवाह कसरी भयो ? प्रेम-विवाह कि अरू कुनै ?
काठमाडौँ छिरेपछि भूमिगत राजनीति सुरु भयो । ०३९ सम्म मैले विवाहबारे सोच्नै पाइनँ । म पार्टीको नेता बनिसकेको थिएँ । त्यहीवेला रविलक्ष्मी चित्रकारसँग चिनजान भयो । उनी काठमाडौँ जिल्ला कमिटी सदस्य थिइन् । पछि, त्यो चिनजान घनिष्ठतामा र घनिष्ठता प्रेममा रूपान्तरण भयो । केही वर्षपछि हामीले विवाह गर्यौँ ।
५. आफ्नै नजरमा झलनाथ खनाल के हो/ को हो ?
झलनाथ खनाल एक सचेत नागरिक हो, जो देश र जनताका हित-हकप्रति सचेत छ । देश र जनताका लागि निरन्तर संघर्षरत छ ऊ ।
६. आफ्ना सवल पक्ष के-के ठान्नुहुन्छ ?
यो अरूले मूल्यांकन गर्ने कुरा हो । राजनीतिमा लागेपछि दर्शनमा मेरो दख्खल छ भन्ने ठान्छु । यही मेरो सवल पक्ष हो कि ?
७. अनि कमजोर पक्ष नि ?
कम प्राज्ञिक अध्ययन, कमजोर स्वास्थ्य र नराम्रो हस्तलेखन मेरा कमजोर पक्ष हुन् भन्ने लाग्छ ।
८. कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
मान्छे, वस्तु, घटना या विचार सबैलाई म द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्छु । यसबाटै कुनै पनि चिजको स्वरूप निर्धारित हुन्छ भन्ने विश्वास गर्छु म । यही आधारमा म कसैलाई हेर्ने धारणा बनाउँछु ।
९. तपाईंको स्वभाव निर्माणमा कुन-कुन पक्ष हाबी छन् ?
मेरो स्वभाव निर्माणमा पारिवारिक परिवेशको त्यति प्रभाव छैन । विद्यार्थीकालदेखि सार्वजनिक जीवन बाँचिरहेको छु । सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश नै मेरो स्वाभाव-निर्माणमा हाबी छन् ।
१०. कतिखेर रिस उठ्छ ?
सामान्यतया म कम रिसाउँछु । तर, आफ्नो मान-सम्मान, स्वाभिमान या इमानमाथि नचाहिँदो प्रश्न उठयो भने म असाध्यै रिसाउँछु ।
११. कतिखेर भावुक बन्नुहुन्छ ?
विगतका उकाली-ओरालीलाई ससम्झिँदा ।
१२. कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
अन्याय, अत्याचार, शोषण र दमनका स्थितिमा उत्तेजित हुन्छु ।
१३. तपाईं कत्तिको संयमित हुनुहुन्छ ?
मेरा साथीहरूका अनुसार म संयमित र शालीन मान्छे हुँ । म छिचरो ढंगले अरूमाथि टिप्पणी गर्दिनँ र गालीगलौज गरेर कसैको खण्डन गर्दिनँ ।
१४. कतिखेर खुसी हुनुहुन्छ ?
सफलतामा ।
१५. अनि, कहिले दुःखी हुनुहुन्छ ?
नगुमाउनुपर्ने कुरा गुमाउँदा ।
१६. तपाईंका के-के दुःख छन् ?
मेरो व्यक्तिगत जीवनका दुखका त्यति अर्थ हुँदैनन् । झलनाथ त्यस्तो व्यक्तित्व हो जसले स्वाभाविक रूपमा सामान्य नागरिकले भन्दा बढी दुःख झेल्नुपर्छ । तर, ती खासै उल्लेख्य छैनन् ।
१७. तपाईंको जीवनको सबैभन्दा दुःखद क्षण ?
०२९ फागुन २९ गते । इलामबाट झापा गइरहेको थिएँ, लोदिया गरुवा भन्ने ठाउँमा उँभौली-उँधौली गर्नेहरू हजारौँको संख्यामा जम्मा भएका थिए । हामी घन्टौँ रोकियौँ । तत्कालीन पञ्चायती शासकले हाम्रा अत्यन्त होनाहार योद्धाहरूलाई निर्मतापूवर्क गोली हानी हत्या गरेको थियो । एउटा भयानक सत्यलाई जबरजस्ती स्विकार्नु परेको त्यो क्षण मेरा लागि एकदमै दुःखद थियो । त्यस्तै, मदन भण्डारी र जीवराज आश्रतिको दुर्घटनामा मृत्यु भयो भन्ने खबरले मलाई अत्यन्तै दुःखी बनाएको थियो ।
१८. अनि सबैभन्दा खुसीको क्षण नि ?
२०४६ सालमा प्रजातन्त्र घोषणा भएको दिन र २०६२/६३ को जनआन्दोलन सफल भएको बैसाख ११ गतेको दिन ।
१९. तपाईंको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
२०३९ सालतिर तत्कालीन पार्टी नेकपा मालेले मलाई महासचिवको जिम्मेवारी दियो । त्यतिवेला नेताको रूपमा बैचारिक, राजनैतिक, सैद्धान्तिक, संगठनात्मक र तमाम क्षेत्रमा उत्पन्न भएका उटुङ समस्यासँग जुध्नुपरिरहेको थियो । त्यतिवेला ममा पर्याप्त सैद्धान्तिक ज्ञान विकसित भईसकेको थिएन । मेरो जिन्दगीको सबैभन्दा अप्ठ्यारो मोड त्यही नै थियो ।
२०. तपाईंले अहिलेसम्म गरेको सबैभन्दा सही निणर्य ?
०५३ मा सञ्चारमन्त्री भएँ । त्यतिवेला मैले 'हाम्रो अरबिटल स्लट कहाँ छ ?' भनेर सञ्चार मन्त्रालयका अधिकारीलाई सोधेँ । तर, कसैले पनि यहाँ छ भनेर देखाउन सकेनन् । त्यसपछि, मैले खोजी गर्न सुरु गरेँ । एकदिन एउटा अमेरिकी कम्पनीसँग अचानाक भेट भयो । त्यो कम्पनी पनि नेपालको अर्बिटल स्लट खोज्दै आएको रहेछ । त्यतिवेला नेपालको अर्बिटल स्लटमाथिको अधिकार नै गुमीसकेको रहेछ । त्यो प्राप्त गर्न मैले जेनेभामा आईटीयुको हेडक्वार्टरमा सम्पर्क गरेर नेपालको अर्बिटल स्लट कसरी जोगाउन सकिन्छ भन्ने बारे जानकारी लिएँ । त्यसपछि उनीहरूले मलाई बोलाए । अर्बिटल स्लट पुनः प्राप्त गर्न नेपालले दुईवटा दस्ताबेज अनुमोदन गर्नुपर्ने रहेछ । मैले तत्कालै अनुमोदन गरेर नेपालको अर्बिटल स्लटलाई सुरक्षित गर्ने काम गरेँ ।
२१. अनि गलत चाहिँ ?
विचैमा अध्ययन छोडेर राजनीतिमा लाग्नु ।
२२. जीवनमा सबैभन्दा बढी पछुतो लागेको क्षण ?
एस.एल.सी जुन स्तरमा उत्तीर्ण हुनुपथ्र्यो, हुन सकिनँ । त्यो पछुतोको बिषय थियो ।
२३. जीवनमा अहिलेसम्म सबैभन्दा बढी रुनु भएको दिन ?
२०१८ सालमा म अत्यन्त कारुणिक क्षणहरूबाट गुजि्रएँ । त्यतिवेला मेरो साईलो दाजु र काईलो दाजु र म सगैं पढ्थ्यौँ । मेरो साईली बहिनी सानै थिईन् । यी तिनै जनालाई एकदिन अचनाक ज्वरो आयो । ज्वरो आएको सोर्हौं दिनमा साईलो दाजुको निधन भयो, सत्रौ दिनमा काईलो दाजुको र अठारौ दिनमा बिहिनीको । हाम्रो घरबाट तिनसम्म लगातार मलामीको ताँती घाटसम्म पुगेको थियो । त्यतिवेला म धेरै रोएको थिएँ ।
२४. अन्तिम पल्ट कहिले रुनु भएको थियो ?
केही वर्ष अघि आफ्नो बुबालाई गुमाउँदा । र, २०६२/६३को जनआन्दोलनमा हाम्रा धेरै योद्धा शहीद हुँदा ।
२५. तपाईंलाई कस्तो मान्छे मन पर्छ / कस्तो मान्छे मन पदैन ?
कर्तव्यनिष्ठ र आत्मविश्वासयुक्त्त मान्छे मन पर्छ । अराजक, घमण्डी र उदण्ड मन पर्दैन ।
२६. फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
साहित्य लेखेर र पढेर ।
२७. तपाईंको रुचि ?
साहित्य लेखपढ ।
२८. कस्ता पुस्तक पढ्नुहुन्छ ?
दर्शन, कानुन, साहित्य र अर्थशास्त्रका पुस्तक पढ्छु । साहित्यमा उपन्यास र कविता बढी पढ्छु ।
२९. अहिले कुन पुस्तक पढीरहनु भएको छ ?
लियो टोल्सटएको 'युद्ध र शान्ति' उपन्यास दोहोर्याएर पढीरहेको छु ।
३०. तपाईंलाई सबैभन्दा मन परेको पुस्तक कुन हो ?
निकोलाई अस्त्रोबस्कीको 'अग्दीदिक्षा' ।
३१. धेरैचोटी दोहोर्याएर पढेको पुस्तक ?
लिसाउजीको 'असल कम्युनिष्ट कसरी बन्ने ?' । समाजवाद र साम्यवादको प्रारम्भिक जानकारीका लागि यो अत्यन्त उपयोगी छ ।
३२. कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
मैले दसवटा पुस्तक लेखिसकेको छु । तर, अहिले भने लेखीरहेको छैन । लेख्ने योजनामा छु ।
३३. कुनैवेला कविता खुब लेख्नुहुन्थ्यो ? अहिले लेख्दै हुनुहुन्छ की छोड्नुभयो ?
फुसर्दमा कविता लेखिनैरहेको छु । वाहिर नआएको मात्रै हो ।
३४. तपाईंलाई मनपर्ने विदेशी लेखकहरू ?
म्याक्सिम गोर्की, लुसुन, निकोलाई अस्त्रोबस्की र जोर्डिङ ।
३५. तपाईंलाई मनपर्ने गीत ?
अम्बर गुरुङले गाएको 'नौ लाख तारा' हो ।
३६. मनपर्ने गायक/गायिका ?
स्वारसम्राट नारायण गोपाल, अरूण लामा र अम्बर गुरुङ ।
३७. तपाईंका 'परिर्वतनका तरङहरू...... भन्ने एल्बम पनि निक्लिएको छ । गीतकार जे.एन खनाल र एमालेका अध्यक्ष झलनाथ खनालविच केही भिन्नता छ की ?
नेकपा एमालेका अध्यक्षका झलनाथ खनाल यो समाजको विकासक्रमको उपज हो भने गीतकार झलनाथ खनाल पनि त्यसैको उपज हो । त्यसैले खासै भिन्नता छैन ।
३८. कतिवेला गीत र कविता फुर्छन् ?
जतिवेला फुर्सदमा हुन्छु र, एकान्तमा बस्ने अबसर पाउँछु । मलाई लुसुनका एउटा बाक्यको याद आउँछ,-'साहित्य भनेको फुर्सदको उपज हो ।'
३९. प्रेम गीत चाहिँ लेख्नुभएन ?
लेखिनँ । लेख्न भ्याएको छैन । तर, कम्युनिष्टले प्रेम गीत लेख्नै हुँदैन भन्ने लाग्दैन मलाई ।
४०. फिल्म चाहिँ कत्तिको हेर्नुहुन्छ ?
हेर्न असाध्यै मन लाग्छ तर हेर्न भ्याउँदिन । फिल्म हेर्नथालेपछि मेरो मन यति केन्द्रति हुन्छ कि म भावुक भएर रुन थाल्छु । फिल्मका कथाले हसाईदिन्छन् र रुवाईदिन्छन् । म फिल्म गहिरिएर हेर्छु ।
४१. तपाईंलाई रुवाएको फिल्म ?
म धेरै फिल्म हेरेर रोएको छु । र, हाँसेको पनि छु । तर, अहिले फिल्मको भने ठ्याक्कै याद छैन ।
४२. मनपर्ने नायक नायिका ?
राजेश हमाल र करिस्मा मानन्धर ।
४३. मनपर्ने खेल ? आफु पनि खेल्नुहुन्छ ?
भलिबल । म आफै पनि खेल्छु । ईलाममा हुँदा भलिबल टिमको क्याप्टेन नै थिएँ । भलिबलमा धेरै कप र प्रमाणपत्र पनि पाएको छु ।
४४. मनपर्ने खाना ?
दालभात, तरकारी र अचार ।
४५. मनपर्ने पोशाक ?
कमिज र पेन्ट । दौरा सुरुवाल, कोट र टोपी पनि राम्रो लाग्छ ।
४६. तपाईं सधै आकर्षक देखिनु हुन्छ । यसको रहस्य ?
मलाई टिपटप अथवा चिटिक्क परेर हिँड्ने नेता भनेर टिप्पणी गरेको पाउँछु । सायद- मेरो शरीरको बनोट र छालको रङनै यस्तो छ कि कुनैपनि रङका कपडा मलाई सुहाउँछन् ।
४७. राजनीतिमा तपाईंको हिरो को हो ?
कार्ल माक्र्स । उनको चिन्तन, सिद्धान्त र विचारको गहिराइका कारण नै उनी मेरा हिरो हुन् ।
४८. तपाईंका आर्दश नेता को को हुन् ?
कार्ल माक्र्स र चे ग्वेभारा ।
४९. नेपाली नेताहरूमा नि ?
आर्दश नेता चाहिँ भन्दिन । तर, पुष्पलाल श्रेष्ठ, विश्वेश्वरप्रसाद कोईराला, मदन भण्डारी र मनमोहन अधिकारीलाई म नेपालका योग्य, उत्तम र क्षमतावान नेता मान्छु ।
५०. राजनीतिमा नलागेको भए......
ईन्जिनीयर हुन्थेँ होला ।
प्रस्तुतीः राजेश राई, नयाँपत्रिका
rajesh.kulung@gmail.com
Wednesday, June 2, 2010
झलनाथलाई ५० प्रश्न
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment