मनोज घिमिरे, नयाँ पत्रिका
मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि पूर्वराजाहरूका फोटो अंकित नोट अझै ३ वर्षसम्म चलनमा रहिरहने भएका छन् । नेपाल राष्ट्र बैंकले मुलुकमा गणतन्त्र घोषणासँगै बितेका २ वर्षमा योजनाअनुरूप नोट छाप्न नसकेकाले पूर्वराजाका फोटो अंकित नोट अझै ३ वर्षसम्म प्रतिस्थापन गर्न नसक्ने बताएपछि पुराना नोट चलनमा रहिरहने भएका हुन् ।
०६४ भदौमा तत्कालीन मन्त्रिपरिषद्ले ४ वर्षभित्रमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका फोटो भएका नोट प्रतिस्थापन गर्न दिएको निर्देशनअनुसार ०६८ सम्ममा सबै नोट चलनचल्तीबाट हटाउनुपथ्र्याे । तर, राष्ट्र बैंकले पर्याप्त नोट छाप्न नसकेपछि पूर्वराजाका तस्बिर भएका नोट हटाउने समयसीमा १ वर्ष थप गरी ०६९ सम्म पुर्याएको छ । नयाँ नोट पर्याप्त नभएसम्म पूर्वराजाका फोटो अंकित नोट बजारमा रहिरहनेछन् ।
'पूर्वराजाको फोटो अंकित नोट करोडौँको संख्यामा रहेका छन् । तर, प्रतिस्थापन गर्न दिएको ४ वर्षसम्ममा हामीले पर्याप्त नोट छपाइ गर्न नसकेकाले तोकिएको समयसीमाभित्र प्रतिस्थापन गर्न सक्ने अवस्थामा छैनाँै,' राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले भने । उनले नोट प्रतिस्थापन गर्ने निर्देशन आए पनि लामो अवधिसम्म राष्ट्र बैंक गभर्नरविहीन हुनु र डेपुटी गभर्नरलाई नोट छाप्न तत्काल अनुमति नदिएकाले सरकारले दिएको समयावधिमा पूर्ण रूपमा प्रतिस्थापन गर्न नसकिएको हो ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले तत्काल नै २९ वर्षदेखि वीरेन्द्रको पालामा छापिएको नोट र ज्ञानेन्द्रको ४ वर्षे शासन अवधिमा छापिएका नोट एकैपटक थुतेर राख्न सम्भव नहुने भएकाले प्रतिस्थापन गर्न समय लाग्ने बताए ।
त्यस्तैगरी पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले केन्द्रीय बैंकले गणतन्त्र घोषणापछि केही संख्यामा सगरमाथा र लालीगुराँसको फूल अंकित ५०० र १ हजार दरका नोट छापेको भए पनि पर्याप्त मात्रामा नोट नभएकाले प्रतिस्थापन गर्न नसकिने बताए ।
तर, राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले केन्द्रीय बैंकले हालै मंसिरमा ३९ महिनाका लागि ल्याएको नोट छपाइ योजनाअन्तर्गत आगामी ३ वर्षमा पूर्व राजाका तस्बिर अंकित नोट प्रतिस्थापन हुने बताए ।


0 comments:
Post a Comment