मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 21, 2010

नानी नचाउने रहर

तारा चाम्लिङ, (नागरिक)काठमाडौं, असार ४- थुप्रै म्युजिक भिडियोका साथै 'मेरो एउटा साथी छ','म तिमी बिना मरिहाल्छु' जस्ता चलचित्रमा कोरियोग्राफी गरेर चर्चा बटुलेकी रिनासा राईले केही दिनअघि मात्र डान्स स्टुडियो खोलेकी छिन्। कुपन्डोलको गुरुद्वरा छेवैमा रहेको 'स्टेप्स् स्टुडियो' मा मोडल र कलाकारहरु नाच सिकिरहेका भेटिन्छन्। तर उनको इच्छा फरक छ।'स्कुलेलाई नचाउने मन छ',रिनासा भन्छिन् 'स्कुल छँदै विद्यार्र्थीलाई निखार्दै लैजाने हो भने उनीहरुको व्यक्तित्व विकासमा ठुलो भुमिका खेल्छ।'
नाच्यो भने पढाई बिग्रन्छ भन्ने तर्क चाँही उनलाई कति पनि चित्त बुझ्दैन। 'यो एकदमै गलत मानसिकता हो', उनले थपिन् 'नाचले मान्छेमा भएको संभावनाहरुलाई बाहिर ल्याउन मद्दत गर्छ।'

उनको भनाईमा शारिरिक हाउभाउ, मुद्रा बाहेक नाचमा अन्य धेरै कुरा छन्। अनुशासन, स्मरण, धैर्यता नहुने हो भने राम्रो नृत्य गर्न सकिन्न। 'किताबी ज्ञानले मात्र मान्छे व्यवहारिक बन्ने होइन,' रिनासाको तर्क छ 'नाचमा भएको पक्षहरुलाई केलाउने हो भने यसबाट फाइदै फाइदा छ। '

नाचमा स्टेज प्रस्तुती नै महत्वपुर्ण भएकोले नाच्नेहरुमा आत्मविश्वास दरिलो हुन्छ भन्छिन् रिनासा। समुहमा नाच्नेहरुले झन् बढी चलाखी अपनाउनु पर्छ। त्यसैले पनि नृत्यमा भिजेकाहरु तेजिला हुन्छन् भन्ने उनको बुझाई छ।

राजधानीमा अचेल बि बोइङ र साल्सा सिक्न नचाहाने कमै होलान्। उनी कहाँ आउने मध्ये ९० प्रतिशत यस्तै छन्। तर नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम 'खोजी प्रतिभाको' निर्णायक बने यता उनको सोच बद्लिएको छ। अचेल उनी नेपालका पारम्परिक नाच तिर तानिएकी छिन्। पश्चिमा नाच सँगै धिमे,मन्जुश्री,चर्या जस्ता नेपाली नाच प्रवर्द्धन गर्ने उनको सोच छ।

'नेपाली नृत्यमा यतिका विविधता हुँदाहुँदै पनि हामीले त्यसलाई समात्न सकेका रहेनछौं ' रिनासा भन्छिन् 'यस्ता नाचलाई पनि भरतनाट्यम जतिकै लोकप्रिय बनाउन सकिन्छ।'

स्टेप्स स्टुडियोमा नाच सिक्न आउने मध्ये कसैले पनि धिमे,मन्जुश्री या बज्रयोगिनी जस्ता पारम्परिक नाचमा रुचि देखाएका छैनन्। बरु भरतनाट्यम सिक्नेहरु आउँछन्। बिबोइङ र साल्साको त बहारै चलेको छ। 'मिडियामा जे छाँउछ,त्यही चलनमा आउँछ ' रिनासा भन्छिन्। त्यसैले पनि आफ्नो स्टुडियोमा समेत पश्चिमा नाच नै लोकप्रिय भएको उनको ठम्याइ छ।

पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै उनी नेपाली संस्कृती झल्कने विभिन्न नाचहरु प्रवर्द्धन गर्ने सोचमा छिन्। 'खोजी प्रतिभाको' मा उत्कृष्ट दशमा छनोट हुनेहरुले पारम्परिक नाच नाच्नै पर्ने नियम बनाउन जोड गर्दैछिन्। केही स्कुलहरुमा यस्ता नाच सिक्न आफू कहाँ विद्यार्थी पठाउन चिठी समेत पठाइसकेकी छिन्। तर नानीहरु पश्चिमा नाचमै रमाइरहेकाले छोटो समयमा परिवर्तन ल्याउन नसकिने उनको अनुभव छ।

0 comments: