सागर पण्डित
काठमाडौं, ४ असार : कर्मचारीलाई प्रहरी लगाएर कुटपिट गराएको विषयमा प्रधानमन्त्री माधवकुमार नेपालले सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठसँग शुक्रबार स्पष्टीकरण लिएका छन् । प्रधानमन्त्री नेपालले कर्मचारीमाथि दुव्र्यवहार गर्न लगाएको भन्दै श्रेष्ठलाई झपारेका थिए ।
'तपाईंको मन्त्रालय परिसरमा कर्मचारीमाथि दुव्र्यवहारको घटना भएकाले त्यसको जिम्मेवारी तपाईंले लिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंले कर्मचारीसँग तत्काल माफी माग्नुपर्छ ।'
प्रधानमन्त्रीले माफी माग्न कडा निर्देशन दिएपछि मन्त्री श्रेष्ठले शुक्रबार कर्मचारीसँग माफी मागेका छन् । नेपाल निजामती कर्मचारी संगठनका एक उच्च पदाधिकारीका अनुसार प्रधानमन्त्री नेपालले मन्त्री श्रेष्ठलाई कर्मचारीसँग सार्वजनिक रूपमा माफी नमाग्ो मन्त्रीबाटै बर्खास्त गर्नसक्ने चेतावनी दिएका थिए । 'प्रधानमन्त्री, मन्त्री श्रेष्ठसँग निकै आक्रोसित हुनुभएछ, कर्मचारीसँग माफी नमागे बर्खास्त गर्नसक्नेसमेत चेतावनी दिएपछि उहाँले हामीसँग माफी माग्नुभएको हो ।' संगठनका ती उच्च अधिकारीले भने । यसअघि एमालेले पनि मन्त्री श्रेष्ठले गल्ती गरेको भन्दै कर्मचारीसँग माफी माग्न निर्देशन दिएको थियो ।
मन्त्रीले माफी मागेर सहमति गर्न तयार भएकाले कर्मचारी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । संगठनका अध्यक्ष भोलानाथ पोख्रेलले मन्त्रीले आफूहरूसँग माफी मागी सहमति गर्न तयार रहेको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको बताए ।
मन्त्री श्रेष्ठ र कर्मचारी संगठनबीच शुक्रबार नै तीनबुँदे सहमति भएको छ । सहमतिमा विशेष व्यवस्थापन प्रक्रिया तुरुन्त सुरु गरिने, ट्रेड युनियनप्रति सरकार सकारात्मक रहने र कर्मचारीले आन्दोलन फिर्ता गर्ने सहमति भएको छ । विशेष व्यवस्थापनमा परेका झन्डै १८ हजार कर्मचारीको व्यवस्थापन एक साताभित्रै गर्न मन्त्री श्रेष्ठ सहमत भएका छन् ।
'मबाट गल्ती भयो, अब आइन्दा त्यस्तो हुनेछैन, त्यसैले म माफी चाहन्छु,' मन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै अध्यक्ष पोख्रेलले भने, 'अब म तपाइर्ंहरूले जे भन्नुहुन्छ, त्यसैअनुसार अघि बढ्छु, तपाईंहरूसँग कहिल्यै पनि रिसइवी लिन्न ।' वार्तामा मन्त्री श्रेष्ठ नर्भस भएको उल्लेख गर्दै संगठनका महासचिव मोहन घिमिरेले भने, 'मन्त्री श्रेष्ठ निकै नर्भस थिए, उनले दुखद घटना घट्यो भन्दै बारम्बार माफी मागे ।'
पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा मन्त्री श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे, सामान्य प्रशासन सचिव बालानन्द पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त सहभागी थिए ।
यसअघि मन्त्री श्रेष्ठले कर्मचारीलाई दुईपटकसम्म सामान्य प्रशासन मन्त्रालयमा वार्ताका लागि आउन आह्वान गरेका थिए । तर, कर्मचारी माफी नमागेसम्म वार्तामा नजाने अडानमा रहेका थिए । प्रधानमन्त्री नेपालले कर्मचारी संगठनका प्रतिनिधिलाई आफ्नै कार्यालयमा आएर वार्ता गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि कर्मचारी वार्तामा बसेका हुन् ।
विशेष बढुवामा परेका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग गर्दै गत बुधबार कर्मचारी सामान्य प्रशासन मन्त्रालयमा पुगेका थिए । तर, उनीहरू प्रहरीबाट कुटिएका थिए । मन्त्री श्रेष्ठकै निर्देशनमा प्रहरीले दमन गरेको आरोप कर्मचारीले लगाउँदै आएका थिए । (nayapatrika)
Friday, June 18, 2010
प्रधानमन्त्रीले झपारेपछि मन्त्री श्रेष्ठले माफी मागे
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment