उजिर मगर, काठमाडौं, साउन ४- कांग्रेसको नेतृत्वलाई समर्थन दिने कि सम्भावित माओवादी समर्थनमा आफ्नै सरकार बनाउने भन्ने आन्तरिक विवादका कारण एमालेले सोमबार प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकेन। कम्तीमा दुई तिहाइ सभासद्को मत पाउने आधार खोज्न माओवादी, कांग्रेस र मधेसवादी दलहरूसँग थप गृहकार्यका लागि बैठक मंगलबार बिहानसम्म स्थगित गरिएको छ।
‘माओवादी, कांग्रेस र मधेसवादी दलहरुसँग राष्ट्रिय सहमति जुटे अध्यक्ष झलनाथ खनाल नै प्रधानमन्त्रीको उम्मेदवार हो,' बैठकपछि पार्टी प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संवाददाताहरुसँग भने, ‘तर, बहुमतीय सरकारका लागि एमालेले उम्मेदवारी दिँदैन।'
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्तरिक विवाद टुंगो लगाउने शीर्ष नेताहरूको प्रयत्न विफल भएपछि बल्खुमा पाँच घन्टा चलेको केन्द्रीय कमिटी बैठक पनि निष्कर्षबिनै स्थगित गरिएको हो।
बैठकमा महासचिव ईश्वर पोखरेलले स्पष्ट दुई तिहाइ बहुमतको वातावरण नबनेसम्म खनालले उम्मेदवारी दिन नहुने बताएको स्रोतले बतायो।
‘दुई तिहाइ पाउने निश्चित भएपछि मात्रै अध्यक्षले उम्मेदवारी दिनुपर्छ,' पोखरेलको मध्यमार्गी भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एकले अर्कोलाई अस्वीकार गर्नेभन्दा पनि मिलेर जानुपर्छ।'
स्रोतका अनुसार बालुवाटार बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले नेता केपी ओलीलाई सभासद् बनाउने, प्रधानमन्त्रीको राजीनामाका लागि हस्ताक्षर गर्ने सभासद्, उपाध्यक्ष वामदेव गौतमलाई कारबाही हुनुपर्ने र खनाल प्रधानमन्त्री भए कार्यवाहक ओली वा उनको पक्षले पाउनुपर्ने प्रस्ताव राखेका थिए।
‘सरकार सञ्चालन र पार्टी एउटै व्यक्तिबाट हुन नसक्नेलगायत विषयमा प्याकेजमा सहमति नभएकाले केन्द्रीय कमिटीमै लगिएको हो,' बालुवाटार स्रोतले भन्यो।
ओलीले अघिल्लो बैठकमा आफूलाई वार्ता टोलीबाट हटाएकोमा आक्रोश पोखेका थिए। ‘मलाई छापामार शैलीमा वार्ता समितिबाट हटाइयो। यो कुरा म केन्द्रीय कमिटीमा लान्छु,' ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने।
जवाफमा खनालले अन्तिममा त्यस्तो निर्णयमा प्रक्रियागत गल्ती भएको भनी आत्मालोचना गरेका थिए।
राष्ट्रिय सहमति जुटेमात्रै प्रधानमन्त्रीको उम्मेदवारी दिनेमा सहमत भए पनि खनालका लागि ओली र नेपालले प्रस्तावक/समर्थक नबस्ने जानकारी बालुवाटार बैठकमै गराएको स्रोतले बतायो।
बैठकमा अध्यक्ष खनाल, प्रधानमन्त्री नेपाल, ओली, महासचिव पोखरेल, सचिव विष्णु पौडेल र गृहमन्त्री भीम रावल सहभागी थिए।
केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बहुमतीय प्रक्रियाबाट सहमति खोज्ने, माधव नेपाल सरकारलाई पुनर्स्थापना गर्ने र कांग्रेसलाई सहयोग गरेर रामचन्द्र पौडेललाई सहयोग गर्ने धारणा राखेका छन्।
उपाध्यक्ष गौतम, केन्द्रीय सदस्य गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले बहुमतीय प्रक्रियाबाट सहमति खोज्नुपर्ने र खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानुपर्ने धारणा बताए भने ओली पक्षले दुई तिहाई जुटाउने आधार नभएको दाबी गरेको थियो।
नेपाल सरकारलाई नै पुनर्स्थापना गर्नुपर्छ भन्ने मत राख्नेमा शंकर पोखरेल, खगराज अधिकारी, गणेश तिमिल्सिना, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा, जितु गौतम, जगत विश्वकर्मा, उर्मिला अर्याल, सुशीला नेपाल, उर्वादत्त पन्त, कृष्णगोपाल श्रेष्ठलगायत थिए।
नेपालको सरकारलाई पुनर्स्थापना नभए कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नुपर्छ भन्ने कर्ण थापा, रामेश्वर फुयाँललगायत केन्द्रीय सदस्यको धारणा थियो।
प्रधानमन्त्री चयन प्रक्रिया बहुमतीय हुने भएकाले त्यसमा अध्यक्ष खनालले उम्मेदवार दिने निर्णय हुने सम्भावना रहेको केही केन्द्रीय सदस्यहरुले औंल्याएका छन्।
प्रधानमन्त्रीबारे दलहरुबीच सहमति नजुटेकाले बुधबारको चुनाव पहिलो चरणमात्र हुने भएको आंकलन गर्दै खनालले मंगलबार उम्मेदवार दिने स्रोतले बतायो।
एकथरी केन्द्रीय सदस्यले भने माओवादीले उम्मेदवारी दिए खनालले उम्मेदवारी नदिने बताएका छन्। माओवादी र कांग्रेसले उम्मेदवारी दिए एमालेले दुवैलाई मत नदिने केन्द्रीय सदस्य योगेश भट्टराईले बताए।
‘पहिलो चरणको चुनावपछि सहमतिका लागि पुनः पहल हुने भएकाले उम्मेदवारी दिनुपर्छ भन्ने छ,' खनाल निकट एक केन्द्रीय सदस्यले नागरिकसँग भने। (nagariknews)
Tuesday, July 20, 2010
एमालेमा उम्मेदवारी विवाद
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment