मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 22, 2010

दलित बस्ती डुबायो, विद्यालय र सरकारी कार्यालयमा आश्रय

मोहन भट्टराई, नयाँ पत्रिका, विराटनगर, ५ साउन, दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले मोरङका हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण एक हजार १९ परिवार विस्थापित भएको र २ हजार ८ सय ४० परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर उपमहानगरपालिका- १६ बखरी बस्तीमा केसलिया खोलाको बाढी पसेर दुई सय दलित परिवार विस्थापित भएका छन् । बाढीले नौ सय घरपरिवार प्रभावित भएका छन् । मंगलबार साँझदेखि परेको अविरल वर्षाले विराटनगर-७ ब्रह्मपुरा दक्षिणबाट पसेको केसलिया खोलाले विराटनगर-१६ बखरीस्थित दलित बस्तीका केही घर बगाएको छ भने अधिकांश घर पानीले डुबाएको छ ।

बस्तीमा बालबच्चा, महिला, वृद्धवृद्धा र पशु चौपायाको बिजोग भएको छ । बस्तीमा अचानक केसलिया खोलाको बाढी पसेपछि अधिकांश गाउँले सुरक्षित स्थानमा पुग्न पाएनन् । धेरैका घरमा रहेका कुखुरा, हाँस, बाख्रासमेत निकाल्न नपाएको विस्थापित अर्जुन ऋषिदेवले बताए ।


बखरीस्थित मुसहर बस्तीका अर्जुन ऋषिदेव, चौठी ऋषिदेव, बदाई ऋषिदेव, मनिजर ऋषिदेव, गेनुलाल ऋषिदेवको परिवारलगायत दुई सय परिवार विस्थापित भएको हो । बाढीबाट विस्थापित भई घरबारविहीन भएपछि मुसहर बस्तीका ऋषिदेवहरू नजिकैको विद्यालय र सरकारी कार्यालयमा आश्रय लिएर बसेका छन् ।



स्थानीय बखरी निमाविमा करिब दुई सय परिवारका बालबच्चा, महिलासहित एक हजार ऋषिदेव शरण लिई बसेका छन् । 'मंगलबार साँझदेखि अविरल पानी परे पनि बुधबार बिहान दस बजेसम्म बाढी पसेको थिएन,' विस्थापित भई बखरी निमाविमा शरण लिइरहेकी कृष्णदेवी ऋषिदेवले भनिन्, 'भात पाकिसकेको थियो खानै नपाई बाढीले छोप्यो ।' घरभित्र रहेको अन्नपात र कपडासमेत निकाल्न नपाएको उनले सुनाइन् ।


विराटनगरकै सिंघिया खोलाले विराटनगर-१ पुष्पलाल चोकदेखि, पोखरिया, विराटनगर-२ कामतटोल, विराटनगर-१० को सुकुम्बासी टोल, कारागार पछाडिको सुकुम्बासी टोलमा तीन सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने ९ सय ७१ घरपरिवार प्रभावित भएका छन् ।



अधिकांश विस्थापित स्थानीय गायत्री संस्कृत माध्यमिक विद्यालयमा बसेका छन् । त्यस्तै, केही विस्थापित अग्लो ठाउँमा रहेको बाँसको झ्याङमा र केही भने आफन्तकोमा शरण लिएर बसेका छन् । सिंघिया खोलाको बाढीले कटहरी र विराटनगर जोड्ने काठको पुल भत्काएको छ । पुल भत्किँदा उद्धारमा समस्या भएको छ । उद्धारका लागि नेपाल प्रहरी, स्थानीयवासी, रेडक्रसलगायतका संस्थाले काम गरिरहेका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण रतुवा खोलाले सिजुवामा २१ घर विस्थापित भएका छन् भने ९६ घरपरिवार प्रभावित भएका छन् । मोरङकै लोहन्द्रा खोलामा आएको बाढीले बेलबारीको लालभित्ती, कदमाहा, कटहरी- ९ मा गरी २ सय १५ घर विस्थापित भएका छन् भने ७ सय प्रभावित भएका र एउटा बिजुलीको पोलसमेत ढालेको छ । त्यस्तै भेडियाखोलाले हात्तीमुढाका ९ घर डुबानमा परेका छन् । त्यस्तै, बक्राहा खोलामा आएको बाढीले बयरवन- १ का ५० घर डुबानमा परेका छन् भने चिसाङ खोलाले खेतीयोग्य जमिन बगाएको छ ।

0 comments: