उजिर मगर, काठमाडौँ, साउन ६- एमाले अध्यक्ष झलनाथ खनालले भोलि हुन लागेको प्रधानमन्त्री निर्वाचन 'दुर्घटनाग्रस्त हुने' बताएका छन्। दुई तिहाई बहुमत नपुगेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको भोलिपल्ट केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले भने, 'यो निर्वाचनले राष्ट्रिय सहमतिको र सामान्य बहुमत कुनै पनि किसिमको प्रधानमन्त्री चुन्न सक्दैन। यो निर्वाचन दुर्घटनाग्रस्त निर्वाचन हुनेछ। त्यसैले पर्याप्त छलफल जरुरी छ।'
खनालले भोलिको निर्वाचनमा जाने आधार हिजैको निर्णय भएको बताए। 'एमाले बहुमतीय ढाँचामा जाँदै जाँदैन, बहुमतीय ढाँचाको सरकार बनाउने प्रयास भनेको फेरि पनि शान्ति र संविधान निर्माणमा नलाग्ने कुरा हो', उनले बताए।
बेल्जियममा काम चलाउने सरकार नौ महिना चलेको उदाहरण दिँदै उनले भने, 'यहाँ कामचलाउ सरकारको आयु बढाउने तर्फ कोही नलागौँ।'
भोलि हुने निर्वाचनमा आफूहरुले कसैलाई उम्मेदवारी फिर्ता गर नभन्ने तर सल्लाह गरेर एउटाले छाड्दा राम्रो हुने उनको कथन थियो।
एमालेले सँधै शान्ति र संविधानलाई प्राथमिकता दिएको र अझै पनि यसैमा प्राथमिकता दिने उनले बताए। त्यसैका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने आफूहरुको अडान रहेको खनालले बताए।
उम्मेदवारी फिर्तासम्बन्धमा उनले कुनै रोष व्यक्त गरेनन्। उम्मेदवारी फिर्ता पार्टीको निर्णय अनुसार गरेको उनले बताए। 'यो केन्द्रीय कमिटीको सर्वसम्मत निर्णय हो। मतभिन्नता छैन', उनले बताए।
कानुनी कुरा कानुनविदले हेर्ने विषय हो भन्दै उनले भने 'हामी मूल्यको राजनीति गर्न चाहन्छौँ। सत्ताको लुछाचुँडीमा लाग्ने हो भने शान्ति र संविधान प्राप्त हुन्न। विदेशी चलखेल नचाहने हो भने आन्तरिक शक्तिहरु एकजुट हुनुपर्छ।'
मत दिन्छु भनी आश्वासन दिएका कतिपय पार्टीहरु अन्तिम समयसम्म टिक्न नसकेको उनले बताए। '३९१ मत झण्डै दुई तिहाई १६ घण्टाको अवधिमा जुट्यो, दुनियाँको कुनै संसदमा यति सानो समयमा यति धेरै मत जुट्न सक्दैन' उनको जिकिर थियो।
उनले सबै दलका नेतालाई आग्रह गरे- देश जुन रुपमा अघि बढ्दैछ, यसका लागि चीसो दिमागले सोच्नुपर्छ। नत्र के हुन्छ? सबै सानाठूला नेतालाई थाहा छ। हामीलाई अरु विषयभन्दा शान्ति र संविधानप्रति चिन्ता छ। कसरी यसलाई अघि बढाउन सकिन्छ भन्ने चासो छ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिः
मिति - ६ साउन २०६७
प्रेस विज्ञप्ति
व्यवस्थापिका-संसदको हिजो २०६७ साउन ५ को वैठकमा प्रधानमन्त्री चयन गर्ने सिलसिलामा भएको मतदान प्रक्रिया र हाम्रो पार्टीले आफ्नो उम्मेद्वारी फिर्ता गर्नुपरेको स्थिति सम्वन्धमा प्रष्ट गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।
हाम्रो पार्टी नेकपा(एमाले) संविधानसभाको निर्वाचनलगत्तैदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा उभिएर त्यसको आधार निर्माण गर्ने पहलकदमीका साथ अघि बढेको सर्वविदितै छ । राष्ट्रिय सहमतिबिना शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा नहुने वास्तविकता विगतका दुईवटा बहुमतीय सरकारको अनुभवले स्पष्ट गरिसकेका छन् ।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले राष्ट्रिय सहमतिको अनिवार्यतामा जोड दिदै त्यसको लिखित प्रस्ताव र खाका नै अघि सारेको थियो । त्यसै आधारमा जेठ १४ को तीन बुँदे सहमति संभव भएको थियो । मुलुक यतिबेला त्यही सहमति कार्यान्वयनको प्रक्रियामा रहेको छ ।
उल्लिखित अडान,निर्णय र सहमतिका आधारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । यसै क्रममा केन्द्रीय कमिटीको पाचौँ बैठकले राष्ट्रिय सहमतिको प्रयत्नलाई ठोसरुपमा अघि बढाउन तथा कम्तिमा दुई तिहाई बहुमतको समर्थन प्राप्त गर्ने गरी सरकार गठन गर्न पार्टी अध्यक्ष तथा संसदीय दलका नेताले उम्मेद्वारी दिने निर्णय सर्वसम्मतिले नै गरेको थियो । त्यसैअनुरुप राष्ट्रिय सहमतिको न्यूनतम् आधार र पार्टीको अडान स्पष्ट राख्दै हामीले प्रधानमन्त्री पदमा उम्मेद्वारी दिएका थियौं । त्यसक्रममा हामीलाई ३९१ सभासदको समर्थन रहने लिखित प्रतिवद्धता नै प्राप्त भईसकेको थियो । यसरी राष्ट्रिय सहमतिको सरकार हुने सुनिश्चितजस्तै भएको थियो तर समय अभाव र केही प्राविधिक समस्याका कारण ४०१ को समर्थन नभएकोले उम्मेद्वारी फिर्ता गर्नुप¥यो । त्यसले गर्दा राष्ट्रिय सहमति निर्माणको महत्वपूर्ण अवसरलाई मुलुकले गुमाउनु परेकोछ । तर यस प्रयत्नलाई पुनः अघि बढाउनु अपरिहार्य छ ।
यस घटनाक्रमले मुलुकमा शान्ति संविधान र अग्रगतिका निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ र त्यसको कुनै बिकल्प छैन भन्ने तथ्यकै पुनःपुष्टि गरेको छ । र, पार्टीले निरन्तर राख्दै आएको अडान पनि बिल्कुल सत्य सावित भएको छ । साथै दुई तिहाई बहुमतसहितको बाहेक कुनैप्रकारको बहुमतीय सरकार गठन गर्नु गलत र घातक हुने कुरा पनि अझ प्रष्ट भएको छ । तसर्थ चालु निर्वाचनमा सामान्य बहुमतको सरकार गठन गर्ने प्रक्रियामा हाम्रो पार्टीको कुनै संलग्नता नरहने कुरा हामीले प्रस्तुत गरेको त्यागले प्रष्ट गरिसकेको छ ।
यस्तो अवस्थामा हामी सहमतीय राजनीतिको प्रक्रियालाई अझ फराकिलो बनाउदै अघि बढ्नका निम्ति मुलुकका प्रमुख जिम्मेवार राजनीतिक दलहरूसमक्ष विशेष आग्रह गर्दछौं । साथै, चालु निर्वाचन प्रक्रियाबाट नयाँ सरकार गठन हुन नसक्ने र भईहाले पनि त्यसले सार्थकरुपमा राष्ट्रका सामु रहेका कार्यभार पूरा गर्न नसक्ने निश्चित रहेकोतर्फ सिंगो राष्ट्र र आम जनसमुदायको गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छौं । तसर्थ, यस स्थितिमा प्रधानमन्त्री पदका लागि प्रत्यासी रहनुभएका बाँकी दुईजना उम्मेद्वार मित्रहरूलाई राष्ट्रिय सहमतिको ठोस वातावरण निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गर्नसमेत अनुरोध गर्दछौं ।
अन्त्यमा राष्ट्रिय सहमतिको राजनीतिको पुनःस्थापना र राष्ट्रिय सरकार गठन गरेर अघि बढ्ने हाम्रो पार्टीको सतत् प्रयत्नलाई अत्यन्तै छोटो समयमा पनि साथ-सहयोग प्रदान गरी झन्डै दुई तिहाई बहुमत सभासदहरूको समर्थन उपलब्ध गराउनुहुने एकीकृत नेकपा (माओवादी) लगायत सम्पूर्ण राजनीतिक दलहरूप्रति हाम्रो पार्टी हार्दिक आभार तथा धन्यवादसमेत ज्ञापन गर्दछ ।
झलनाथ खनाल
अध्यक्ष
(नागरिक)
Thursday, July 22, 2010
भोलिको निर्वाचन दुर्घटनाग्रस्त हुनेछः एमाले अध्यक्ष खनाल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment