कसलाई प्रधानमन्त्री बनाउने टुंगो लाग्न सकेन-
विश्वमणि पोखरेल, (नागरिक) काठमाडौं, असार ३२- नेपाली कांग्रेसले माओवादीइतर गठबन्धन कायम राख्दै बहुमतीय सरकारको नेतृत्व लिने भएको छ।
बिहीबार केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व लिने औपचारिक निर्णय गरे पनि संसदीय दलको नेतालाई नै प्रधानमन्त्री बनाउने कार्यवाहक सभापति सुशील कोइरालाको प्रस्ताव टुंगो लगाउन सकेन।
कांग्रेसले बहुमतीय सरकारको नेतृत्वका माओवादीसँग समेत पहल गर्न कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल रहेको वार्ता टोली बनाएको छ।
‘संविधानको धारा ३८(२) अनुसारको सरकार निर्माणका लागि वर्तमान गठबन्धन दलहरूबीच एकता कायम राख्दै,' बिहीबार पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले आफ्नो नेतृत्वको दाबी गर्ने निर्णय गर्दै माओवादीलगायत संविधानसभाभित्रका सबै दलसँग समर्थन र सहभागिताका लागि अनुरोध गर्नेछ।'
पार्टी कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेललगायत नेता भने बिहीबारकै बैठकमा नेतृत्व टुंगो लगाउने प्रयासमा थिए।
कार्यवाहक सभापति कोइरालाले पार्टीकै नेतृत्वमा सरकार बनाउने र संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
साउन १ को बैठकले नेतृत्वको टुंगो लगाउने पार्टी प्रवक्ता अर्र्जुननरसिंह केसीले बताए। पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्रीका आकांक्षी वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरुङको विरोधका कारण नेतृत्वको निर्णय हुनसकेको स्रोतले जनाएको छ।
बुधबार केन्द्रीय समिति बैठकमा कोइरालाले सरकार नेतृत्वबारे प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरुले बैठक रोकिएको थियो। बिहीबार केन्द्रीय समितिको बैठक नबस्दै पदाधिकारी बैठकबाट विवाद अन्त्य गर्ने प्रयास गरिएको थियो।
एक पदाधिकारीका अनुसार बैठकमा कोइराला, पौडेल, उपसभापति प्रकाशमान सिंह र प्रवक्ता केसी नेतृत्व तोक्नुपर्ने पक्षमा थिए भने देउवा, गुरूङ, उपसभापति गोपालमान श्रेष्ठ र महामन्त्री विमलेन्द्र निधि नेतृत्व तोक्न नहुने अडानमा उभिएका थिए।
स्रोतका अनुसार देउवा-गुरुङ पक्षले पार्टीभित्र सहमति गरेर जान समय चाहिने बताउँदै निर्णय नगर्न दबाब दिएको थियो।
देउवा पक्षका एक पदाधिकारीले केन्द्रीय समितिमा नेतृत्वको मुद्दा उठाए मत विभाजनबाट निर्णय गर्नुपर्ने धम्की दिएपछि कोइराला ‘तपाईंहरू जे जे मन लाग्छ गर्नोस्' भन्दै फन्कँदै बैठक कक्षबाट बाहिरिएको एक सहभागीले बताए।
‘कार्यवाहक सभापतिले अप्ठ्यारो परेका बेला विवाद टुंगो लगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,' नाम छाप्न नचाहने ती पदाधिकारीले भने, ‘तर उहाँ आफै फन्किँदै बाहिरिनुभयो।'
देउवाको कार्यकक्षमा बसेको पदाधिकारी बैठकबाट बाहिरिएका कोइराला सोझै केन्द्रीय समितिको बैठकमा पुगेका थिए। तीन घन्टासम्म पर्खेका केन्द्रीय सदस्यबीच पनि उनी खुलेनन्।
कोइराला एक अंग्रेजी पत्रिका हातमा लिएर घोत्लिएर बसेको एक केन्द्रीय सदस्यले बताए। पदाधिकारी बैठकको निर्णय केन्द्रीय समिति बैठकमा सुनाइएको केन्द्रीय सदस्य शेखर कोइरालाले जानकारी दिए। ‘निर्णय सुनाइयो। हामीले नेतृत्व तोक्नुपर्छ भन्यौँ,' शेखरले नागरिकसँग भने।
नेतृत्व नतोक्दा कसले पहल गर्ने भन्ने प्रश्न केन्द्रीय समितिमा जोडदार रुपमा उठाएको केन्द्रीय सदस्य चक्र बास्तोलाले बताए। उनले भने, ‘नेतृत्वका लागि पहल गर्ने कुनै निर्णय नै होइन।'
बैठकमा नेतृत्व कसले गर्ने, कांग्रेसले नेतृत्व नपाए के गर्ने, प्रतिपक्षमा बस्ने कि नबस्ने, माओवादीप्रति पार्टीको धारणा के भन्ने जस्ता प्रश्न राखेको उनले बताए।
केन्द्रीय सदस्य सुजाता कोइराला भने पदाधिकारी बैठक चलिरहेकै बेला बाहिरिएकी थिइन्। ‘पदाधिकारीहरू बैठकका नाममा गफ गरिरहेका छन्,' उनले नागरिकसँग भनिन्।
Friday, July 16, 2010
बहुमतीय सरकारको नेतृत्व हामी नै गर्छौः कांग्रेस
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment