एएफपी, लन्डन , श्रावण ५ - भारतीय क्रिकेटका सफलतम खेलाडी सचिन तेन्दुलकरको बहुप्रतीक्षित आत्मकथाको विशेष संस्करण छपाइका लागि उनकै रगत प्रयोग गरिने भएको छ । मोटो आत्मकथाको त्यो संस्करण वास्तवमै विशेष हुने प्रकाशकको दाबी छ ।
२०११ फेब्रुअरीमा बजारमा आउने 'तेन्दुलकर ओपस' का दस प्रति उनकै रगतले छापिन लागेको हो । प्रकाशक क्राकेनले यस्तो गर्नुको कारणबारे प्रस्ट्याएको छ, 'महान् खेलकुद व्यक्तित्वप्रति वास्तविक सम्मान र उनको खेल र व्यक्तिगत जीवन झल्काउने अवसर ।'
'हस्ताक्षर प्रयोग हुने पाना रातो देखाउन तेन्दुलकरको वास्तविक रगत प्रयोग हुनेछ,' क्राकेनका प्रमुख कार्यकारी कार्ल फ्लावरले बेलायती पत्रिका गार्जियनलाई भनेका छन्, 'यो सुन्दा पनि रोमाञ्चित तुल्याउँछ ।'
'कसैका लागि यो पागलपन पनि हुन सक्नेछ । तर तेन्दुलकर करोडौं क्रिकेट पारखीका लागि महान् व्यक्तित्व हुन्,' उनले भने, 'उनको छवि भगवान्को जस्तो छ । प्रकाशकका लागि आत्मकथा पनि भगवान्कै कथाजस्तो बनाउने चुनौती हुन्छ । त्यसैले हामीले यस्तो गर्न लागेका हौं ।'
दुर्लभ ती दस प्रतिका लागि सुरुमै 'बुकिङ' गर्नुपर्नेछ र प्रत्येकको मूल्य ७५ हजार डलर पर्नेछ । यसबाट उठेको रकम भने तेन्दुलकरको च्यारिटी-फन्डमा जम्मा हुनेछ । साधारण आत्मकथा पनि हजार प्रति मात्र छापिनेछ र यसको मूल्यसमेत दुई हजारदेखि तीन हजार डलरको बीचमा हुनेछ ।
आत्मकथामा ८ सय ५२ पाना हुनेछन् । यसमा १५ सय तस्बिर र तीन लाख शब्द हुनेछन् । खेल क्षेत्रमा यस्तै प्रकाशन यसअघि डिएगो म्याराडोना र माइकल जोन्सनका आत्मकथामा भइसकेको छ । 'तेन्दुलकर वास्तवमै महान् खेलाडी हुन् र यसप्रकार उनको आत्मकथा बाहिर आउनु जायज छ,' प्रकाशन संस्थाले जनाएको छ ।
Friday, July 23, 2010
तेन्दुलकरको आत्मकथा रगतले लेखिने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment