भुवन शर्मा, नयाँ पत्रिका, काठमाडौं, ९ साउन, सरकार निर्माणमा निणर्ायक मानिएका मधेसवादी दलहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका माओवादी र कांग्रेस दुवैलाई समर्थनको आश्वासन दिएका छन् । दुवै दलहरूसित आइतबार भएका वार्ता सकारात्मक रहेको मधेसी मोर्चाले जनाएको छ ।
मोर्चाले प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रेका दुई दल माओवादी र कांग्रेससँग आइतबार छलफल गरेको थियो । छलफलमा यसअघि आफूले तयार पारेको अवधारणामा दुवै दलको लिखित प्रतिबद्धताको माग मोर्चाले गरेको छ । जुन दलले लिखित प्रतिबद्धता जाहेर गर्छ, उसैलाई सरकार गठनका लागि सहयोग गर्ने आश्वासन मोर्चाले दिएको छ ।
'नेपाली कांग्रेस र माओवादी दुवैसँग वार्ता सकारात्मक भएको छ । हामी दुवैसँग सहमतिनजिक पुगेका छौँ,' लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले नयाँ पत्रिकासँग भने, 'दुवै पार्टीसँग छलफल गरेपछि हामीले आन्तरिक छलफल गर्छौँ र त्यसपछि निष्कर्ष निकाल्छौँ ।'
सिंहदरबारस्थित तराई-मधेस लोकतान्त्रिक पार्टी संसदीय दलको कार्यालयमा कांग्रेससँग भएको वार्तामा मोर्चाले स्वायत्त मधेस प्रदेश निर्माणमा सहमत भए पौडेललाई सहयोग गर्ने आश्वासन दिएको थियो । छलफलपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस प्रदेशलगायत मधेस आन्दोलनलाई मान्यता, राज्यको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता, राष्ट्रिय सेनामा मधेसीको समूहगत प्रवेशलगायतका विषयमा लिखित प्रतिबद्धता जनाए कांग्रेसलाई समर्थन गर्ने जानकारी गराए । अध्यक्ष यादवले मोर्चाले प्रस्तुत गरेको १६ बुँदे आधारपत्रमाथि कांग्रेसले आधिकारिक धारणा तय गरेपछि आफूहरूले समर्थन गर्ने-नगर्ने विषयमा निर्णय लिने पनि बताए ।
वार्तामा सहभागी कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले मधेसी मोर्चा वर्तमान लोकतान्त्रिक गठबन्धनकै एक अंग भएको जिकिर गर्दै उसले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे । केसीले मोर्चाको अधारपत्रमा उठाइएको स्वायत्त मधेस प्रदेशलगायतका केही विषयमाथि गम्भीर छलफल गरी परिभाषित र व्याख्या गर्न आवश्यक रहेको बताए ।
'आधारपत्रमाथि गम्भीर छलफल गरी पार्टीले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्छ र सहमतिका लागि फेरि मोर्चासँग वार्ता गर्छौँ,' केसीले भने । वार्तामा मोर्चाका चारवटै पार्टीका अध्यक्षलगायतका नेताका साथै कांग्रेसका तर्फबाट प्रवक्ता केसी, महामन्त्री विमलेन्द्र निधि र केन्द्रीय सदस्य शेखर कोइरालाको सहभागिता थियो ।
यसैगरी, आइतबार भएको वार्तामा माओवादीले पनि मधेसवादी दलहरूले उठाएको मुद्दा 'सकारात्मक' भन्दै हल गर्न सकिने संकेत दिएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको बैठक बसेर मोर्चाले उठाएका मुद्दा सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाइने जानकारी दिए ।
'उहाँहरूले लिखित प्रतिबद्धता माग्नुभएको छ,' बैठकपछि प्रकाशले भने, 'आवश्यक छलफल गरेर लिखित रूपमै प्रतिबद्धता जनाउँछौँ ।'
तराई मधेस लोकतान्त्रिक पार्टीको सिंहदरबारस्थित दलको कार्यालयमा भएको वार्तामा माओवादीले १७ साउनमा हुने प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आग्रह गरेको थियो । मोर्चाका नेताहरूले आफूहरूले तयार पारेको अवधारणा पत्रमा सहयोग गर्ने लिखित प्रतिबद्धता जनाए सहयोग गर्न सकिने बताएका थिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदेयश त्रिपाठीले मोर्चाको अवधारणापत्रमा उठेका स्वायत्त मधेस एक प्रदेश, सेनाको समावेशीकरण, नागरिकतालगायतका विषयमा माओवादीले थप व्याख्या मागेको जनाए । उनका अनुसार मोर्चाको अब बस्ने बैठकले ती विषयमा माओवादीलाई प्रस्ट्याउनेछ । राज्य पुनर्संरचना आयोग बनाउने तीन दलको निर्णयप्रति मोर्चाले यसअघि नै असहमति जनाएको छ ।
शान्तिप्रक्रिया, संविधान लेखन र मधेस मुद्दामालाई समटेर मोर्चाले तीनबुँदे अवधारणापत्र तयार पारेको थियो । सरकारले विगतमा मोर्चासँग गरेको आठबुँदे सहमतिको कार्यान्वयन, स्वायत्त मधेस प्रदेशको सुनिश्चितता र राज्यका हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागितालगायतका एजेन्डामा समर्थन गर्ने दलका उम्मेदवारलाई समर्थन गर्ने मोर्चाको आधारपत्रमा छ ।
Monday, July 26, 2010
मधेसवादी दलद्वारा दुवै उम्मेदवारलाई आश्वासन
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment