बाग्लुङ, श्रावण ८ - तीन दिनदेखि फैलिएको झाडापखालाको कारण यहाँकी सात महिनाकी सुत्केरीको मृत्यु भएको छ । झाडापखालाले सिकिस्त बनेकी खुंखानी ७ नर्जाखानीकी २३ बर्षिया गुनदेवी छन्त्यालको उपचारका लागि बुर्तिवाङ ल्याउँदै गर्दा शनिवार विहान बाटैमा मृत्यु भएको हो ।
झाडापखालाको कारण एक शिक्षक सहित ५ वरामी परेका छन् । तीन दिन अघि उक्त स्थानमा झाडापखाला फैलिएपनि विरामी सामान्य अवस्थामा रहेकोले तत्काल स्वास्थ्य संस्थामा नलगेको छन्त्यालको परिवारले बताए । शुक्रवार राती देखि छन्त्याल सिकिस्त भएपछि बोकाएर बुर्तिवाङ ल्याउने क्रममा मृत्यु भएको स्थानीय खिमबहादुर विकले बताए ।
गाउँलेलाई छिटफूट रुपमा १५ दिन अघिदेखि पखालाको लक्षण देखिएपनि प्रकोपको रुपमा नआएको विकले बताए । उनले भने, 'तीन दिन यता भने समस्या बढी देखिएको हो ।' झाडापखालाबाट स्थानीय शिक्षक जोखबहादुर विक पनि विरामी परेका छन् ।
गाविसमा रहेको स्वास्थ्य चौकीमा अहेव दिलबहादुर श्रीष र अनमी अमिमाया घर्ती नभएपछि उनीहरुले एक दिनको पैदल हिडेर बुर्तिवाङ पुग्न नसक्दा पखालाको प्रकोप भएको उनले बताए । घटना पछि अनमी घर्ती स्वास्थ्य चौकी पुगिसकेकी छिन् भने अहेव श्रीष भने बागलुङ बजार आएकोले शनिवार दिउँसो मात्र त्यसतर्फ गएका छन् । सदरमुकामदेखि घटनास्थल कम्तीमा तीन दिनको पैदल दुरीमा पर्छ ।
दलित र जनजातिहरुको बस्ती रहेको उक्त स्थानका बासिन्दा मध्ये अधिकांसको घरमा शौचालय नभएकोले प्रकोप फैलिएको आशंका गरिएको छ । 'स्वच्छ पानी र शौचालय अधिकांसको घरमा नभएकोले बर्षादको समयमा यस्ता प्रकोप आएको हुन सक्छ' विकले भने ।
सामान्य ज्याला मजदुरी गरेर जीवन विताएका मृतक छन्त्याल परिवारको ७ महिनाको शिशु रहेको श्रीमान युप्रसाद छन्त्यालले बताए । घटनाको बारेमा बरिष्ठ जनस्वास्थ्य प्रशासक अर्जुन अधिकारीले अनविज्ञता व्यक्त गरेका छन् । 'मलाई थाहा भएन, त्यहाँ हाम्रा स्वास्थ्यकर्मी छन् उनीहरुले जानकारी दिएका छैनन्' अधिकारीले भने । बागलुङ बुर्तिवाङ सडक केही दिन यता अवरुद्ध छ । (कान्तिपुर)
Saturday, July 24, 2010
झाडापखालाबाट सुत्केरीको मृत्यु
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment