पवित्रा सुनार, काठमाडौं, साउन ७- सरकारले नागरिकता प्रमाणपत्र विस्थापन गरी राष्ट्रिय परिचयपत्र बाँड्ने भएको छ। त्यसका लागि यसै साता राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र खोली २६ कर्मचारी नियुक्त गरिसकेको छ।
परिचयपत्र ऐन मस्यौदा, यसको स्वरूप र प्रयोग अवधारणा बनाइसकेको केन्द्रले जनाएको छ।
‘नागरिकको सबै व्यक्तिगत विवरणको रेकर्ड राख्न परिचयपत्र अवधारणा ल्याइएको हो,' केन्द्रका निर्देशक नरेन्द्र दाहालले नागरिकसँग भने, ‘यसै वर्षभित्र वितरण थाल्ने तयारी छ।'
केन्द्रका अनुसार १६ वर्षमाथिका नेपाली नागरिकलाई परिचयपत्र बाँडेपछि बालबालिकाको पालो आउने छ। ‘परिचयपत्र सकेसम्म आधुनिक बनाउनेछौं,' उनले भने।
परिचयपत्रमा नाम, जन्ममिति, लिंग, जन्मस्थान, स्थायी ठेगाना, हालको ठेगाना, बुवाआमाको नाम, पतिपत्नीको नाम, औंठाछाप, हस्ताक्षर, फोटोलगायत विवरण हुनेछन्। परिचयपत्रमा भएको सबै जानकारी सरकारी सूचना केन्द्र (जिआइडिसी)मा जम्मा हुनेछ। यसको प्राविधिक पूर्वाधारका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ बोलाइएको छ।
परिचयपत्र मालपोतमा जग्गा पास गर्दा, बैंकमा खाता खोल्दा, राहदानी बनाउँदा, भोट हाल्दा, सञ्चय कोष, अस्पताल भर्ना हुँदा, सवारी साधन दर्ता, उद्योग दर्तालगायत काममा प्रयोग हुनेछ। विदेशमा बस्ने नेपालीले समेत यस्तो परिचयपत्र पाउनेछन्।
यसका लागि प्रयोग हुने कार्ड महँगो प्रविधिको हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा छापिने दाहालले बताए। ‘परिचयपत्रमा प्रयोग हुने प्रविधिका कारण यसको नक्कल गर्न सकिँदैन,' केन्द्रका अधिकृत राजेन्द्र सिग्देलले भने, ‘त्यसैले नागरिकताजस्तो दुरुपयोगको सम्भावना हुँदैन।'
निर्देशक दाहालका अनुसार परिचयपत्रले अपराध नियन्त्रणमा पनि सघाउनेछ। ‘नेपालको जुनसुकै ठाउँमा जुनसुकै सरकारी काम गरे पनि परिचयपत्रका आधारमा थाहा हुन्छ,' उनले नागरिकसँग भने।
एसियाली विकास बैंकले नेपालमा सूचना प्रविधि विकास कार्यक्रमअन्तर्गत यसमा सघाउँदै छ। सूचना प्रविधिका लागि बैंकले नेपाललाई ४५ करोड रुपैयाँ अनुदान दिएको छ।
Friday, July 23, 2010
अब नागरिकताको साटो राष्ट्रिय परिचयपत्र
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment