काठमाडौं, साउन ९ (नागरिक)- राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका-संसद्मा प्रधानमन्त्री चुनावी प्रक्रिया पटक-पटक दोहोरिँदा जनता निराश हुने बताएका छन्। शनिबार सितल निवास आएका प्रधानमन्त्रीसँग राष्ट्रपति यादवले यस्तो अवस्था दोहोरिइरहे जनतामा व्यवस्थाप्रति नै नकारात्मक धारणा उत्पन्न खतरा औंल्याएका हुन्।
राष्ट्रपतिले राजनीतिक अन्योलको असर राज्यसंयन्त्रका दैनिक काममा नपरोस्, कामचलाउ सरकारकै कारण जनताले आफूलाई असुरक्षित महसुस नगरून् भन्ने चासो व्यक्त गरेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए।
'राष्टिय सहमतिको कुरा आएको थियो, तर बहुमतीय सरकार पनि बन्न सकेको छैन, राजनीतिक अन्योल बढ्दै छ,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नागरिकसित भने, 'यसले देशमा दल र संस्कारप्रति जनताको भरोसा कमजोर बनाउँछ।'
राष्ट्रपति यादवले पत्रकार मारिनेलगायत घटना बढेको भन्दै शान्तिसुरक्षाको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए।
मुलुकका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति पुर्याउँदासमेत सरकारले राहत घोषणा नगरेको उनले गुनासो गरेका थिए।
'कामचलाउ भन्दैमा जनताले आफूलाई असहाय नठानून् भन्नेतर्फ पनि चिन्ता जनाउनुभयो,' दाहालले भने।
प्रधानमन्त्रीको नियमित भेटघाटमा व्यवस्थापिका-संसद्मा दुईपटक प्रधानमन्त्री पदको निर्वाचन भइसक्दा पनि कुनै निष्कर्ष निस्किन नसकेको परिस्थितिबारे उनीहरूबीच छलफल भएको थियो।
दलहरूबीच विश्वासको वातावरण बनाउने र सहमति कायम गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले बताए।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ (२) अन्तर्गत व्यवस्थापिका-संसद्बाट प्रधानमन्त्रीको चयन हुन नसकेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे पनि भेटमा छलफल भएको थियो।
अपराह्न तीन बजे सितल निवासमा पुगेका प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घन्टा कुराकानी भएको थियो। असार १६ मा राजीनामा दिएपछि प्रधानमन्त्री नेपालले पहिलोपटक राष्ट्रपति यादवलाई भेटेका हुन्।
Sunday, July 25, 2010
प्रधानमन्त्री चुनावप्रति राष्ट्रपतिको चासो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment