मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, July 27, 2010

भुटानी शरणार्थी भोकहडतालमा

नयाँ पत्रिका, झापा, १० साउन, पूर्वीनेपालका भुटानी शरणार्थी सोमबारदेखि भोकहडतालमा उत्रिएका छन् । सातवटै शिविरका शरणार्थी रित्तो थाल बोकेर भोकहडतालमा उत्रिएका हुन् । शरणार्थी परिचयपत्र नपाएर राहत पाउनबाट वञ्चित शरणार्थीले सातवटै शिविरमा सुरु गरेको भोकहडतालमा बालबालिका, वृद्धवृद्धा र युवायुवती सहभागी छन् ।

सहायताका लागि पटक-पटक पहल गर्दासमेत दाता निकायबाट सुनुवाइ नभएपछि बाध्य भएर भोकहडतालमा उत्रनुपरेको राहत पीडित भुटानी शरणार्थी संघर्ष समितिका संयोजक नन्दु पौडेलले बताए । 'शरणार्थीलाई भोकै राख्नु मानवताविरुद्धको अपराधजस्तै हो,' संयोजक पौडेलले भने, 'राहत नपाएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।' उनले शरणार्थीको दर्जामा सूचीकृत गरी राहत नदिए तत्काल शिविरबाहिर निकाल्न सरकार र दाता निकायसँग आग्रह गरे ।

यसअघि असारको दोस्रो साता मानवीय सहायताको माग गर्दै पीडितहरूले शरणार्थी मामिलामा कार्यरत दाता निकायका कार्यालय बन्द गर्नुका साथै बेलडाँगी-२ स्थित शरणार्थी समन्वय एकाइ (आरसियू) र विश्व खाद्य कार्यक्रमको बेलडाँगीस्थित गोदाममा 'भात देऊ' भन्दै धर्ना दिएका थिए ।

अनेक बहानामा आफूहरूलाई राहतबाट वञ्चित गरिएको शरणार्थीको अनुभव छ । शिविरभित्र बसेपछि खाद्यान्न पाउनु आफूहरूको अधिकार भएको शरणार्थी युवा दीपेश चापागाईं बताउँछन् । 'सबैले पाएका ठाउँमा हामीले पनि पाउनुपर्छ,' उनले भने, 'नभए शरणार्थी होइनौ भनिदिनुपर्‍यो ।'

समितिका अनुसार, १८ वर्षदेखि पूर्वी नेपालमा बसेकामध्ये चार वर्गका तीन हजार एक सय ९० जना शरणार्थी नियमित सहायताबाट वञ्चित छन् । दर्ता नभएका सात सय ८० जना, नेपाल भुटान प्रमाणीकरण टोलीले छानबिनमा राखेका सात सय १७ जना, जनगणनामा छुट भएका आठ सय ५० जना र परिचयपत्र पाउन बाँकी आठ सय ४३ जना शरणार्थीलाई लामो समयदेखि खाद्यान्नलगायतका सहायता उपलब्ध गराइएको छैन ।

0 comments: