मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 22, 2010

एमालेको गलत नीतिका कारण खनाल नचुनिएकोः माओवादी

किरण पुन, काठमाडौं, साउन ६- बहुमतका लागि पनि आफ्नो पार्टीले मत दिने स्पष्ट पार्दापार्दै एमालेको गलत नीतिका कारण खनाल चुनिन नसकेको माओवादीले बताएको छ।

प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनाललाई बहुमतकै सरकार बनाउन समर्थन दिएको एकीकृत माओवादीले जनाएको छ।

बुधबार माओवादी पदाधिकारी बैठकले एमालाई ‘४०१ पुर्‍याउने शुभेच्छासहित आफ्ना २३७ मत दिने' पत्र पठाएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘पत्रमा दुई तिहाइ भए समर्थन गर्ने र नत्र नगर्ने भन्ने कुनै सर्त थिएन,' श्रेष्ठले नागरिकसित भने, ‘भारतीय स्वार्थअनुकूलको उम्मेदवारलाई जुनसुकै मूल्यमा हराउने र प्रगतिशील गठबन्धन बनाउने' रणनीतिमा माओवादीले खनाललाई सघाउने निर्णय गरेको थियो।

माओवादीले बुधबार दिउँसो खनालका लागि आफू सम्मिलित ११ दलीय गठबन्धनलगायतसँग पनि मत मागेको श्रेष्ठले बताए। ‘११ दलको मोर्चाभित्र र बाहिर हामी दिनभर खनालका पक्षमा मत माग्यौं,' उनले भने, ‘अन्तिम घडीमा फिर्ता लिने भयौं भनेपछि मात्र आफ्नो उम्मेदवारीका लागि तयार भयौं।'

बुधबार दुई तिहाइ (४०१) नपुगेकाले एमाले केन्द्रीय समिति निर्णयअनुसार प्रस्तावक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिए।

एमाले संस्थापन पक्षले खनाललाई ‘खुट्टा बाँधेर फुटबल खेल्न पठाएको' भन्दै पार्टी निर्णयकै आलोचना गरेको छ। केन्द्रीय समितिमा केपी ओली-माधवकुमार नेपाल पक्षको बहुमत छ।

माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई खनालको भर नपर्न भन्दै उम्मेदवारी दिन कर गरेका थिए। खनालले उम्मेदवारी झिकेपछि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल निर्विरोध हुने आशंका उनीहरुको थियो।

‘यसपटक देशभक्त, संघीयता, धर्मनिरपेक्षता पक्षधर प्रगतिशील गठबन्धनको सरकार हुन सकेन,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नागरिकसँग भने, ‘एमालेलाई हामीले सहयोग गर्‍यौं, अब उसको र मधेसीको समर्थन जुटाउन कोसिस गर्छौं।'

कांग्रेस कस्तो रणनीति बनाएर आउँछ, त्यसकै आधारमा माओवादीले शुक्रबारको रणनीति बनाउने उनले बताए। ‘मधेसीसँग संघीयतालगायत मुद्दा मिल्छ,' सचिव पोष्टबहादुर बोगटीले भने, ‘त्यसैले अन्तिमसम्म मधेसवादीले हामीलाई समर्थन गर्ने सम्भावना छ।' बहुमत पुर्‍याउन कांग्रेसलाई १८७ मत चाहिन्छ भने माओवादीलाई ६४ भए पुग्छ। (नागरिक)

0 comments: