मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, July 22, 2010

भोलिको चुनावमा पनि कसैको बहुमत नआउने संकेत

माधव ढुङ्गेल, काठमाडौं, साउन ६- भोलि शुक्रबार हुने चुनावमा पनि प्रधानमन्त्रीका कुनै पनि उम्मेदवारले संसदमा बहुमत जुटाउन सक्ने संकेत देखिएको छैन। भोलिको मतदानमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच मात्र प्रतिस्पर्धा हुने छ।

एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी भने हिजोको मतदानअघि नै उनका प्रस्तावक माधवकुमार नेपालले प्रस्ताव फिर्ता लिइसकेका छन्।

प्रस्ताव प्रस्तुत भई त्यसमाथिको छलफल पनि सकिइसकेकाले शुक्रबार पहिले दाहाल र त्यसपछि पौडेलको प्रस्तावमाथि मतदान हुनेछ।

‘दोस्रो पटक पनि परिणाम आउँदैन, त्यसैले छोटो समयमै गरौं, त्यसपछि समय दिएर गृहकार्य गरौं भन्ने तीन दलबीच सहमति बनेअनुसार ७ गते १ बजे बैठक बोलाउने सहमति भएको हो' कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले नागरिकसँग भने।

शुक्रबारको बैठकमा पनि परिणाम नआउने प्रायः निश्चित छ। एमालेको केन्द्रीय कमिटीले ४०१ जनाको हस्ताक्षर नजुटाउने हो भने खनालको उम्मेदवारी फिर्ता गर्ने निर्णयसँगै बहुमतीय प्रणालीमा कुनै पनि हालतमा नजाने निर्णय गरेको छ।

खनालले ३९१ जनाको हस्ताक्षर आफ्नो पक्षमा भए पनि पार्टीको निर्णयअनुसार मूल्यको राजनीतिका लागि उम्मेद्वारी फिर्ता गरेको बताउँदै संवाददाताहरूसँग भने, ‘अब जबसम्म मुलुकमा राष्ट्रिय सहमति बन्दैन, तबसम्म सरकार बन्न सक्दैन।' शुक्रबार के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले प्रष्ट पारे, 'हामी कसैलाई पनि मत हाल्दैनौं।'

खनालको प्रस्ताव फिर्ता लिंदै प्रधानमन्त्री नेपालले खनालसँग बहुमत भए पनि फिर्ता गरेको बताए। उनले भने, ‘अहिले पनि बहुमत प्राप्त हुने अवस्था छ, वर्तमान सरकार नै बहुमतमा छ भने खनालको पक्षमा बहुमत नहुने कुरै भएन।'

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि अहिलेकै अवस्थामा कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरेको छ। ‘मधेसका सवाल, संविधान निर्माण र शान्ति प्रक्रियाका सम्बन्धमा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार र दलहरूसँग कुनै पनि प्रकारको सहमति र सम्झौता नभएको हुँदा ती मुद्दाहरूको सम्बन्धमा सहमति नहुञ्जेलसम्म कुनै पनि उम्मेद्वारको पक्ष वा विपक्षमा मतदान नगर्ने' निर्णय मोर्चाले गरेको छ।


एकै दिनमा माओवादी वा कांग्रेससँग संघीयता, संविधानका विषय र शान्ति प्रक्रियाबारे सम्झौता हुने सम्भावना पनि न्यून रहेकाले चारै दल मतदानमा सहभागी हुने संभावना कम छ। मोर्चाका चार दलसँग गरी जम्मा ८२ सिट छ। माओवादीसँग मधेसी मिलेमा मात्र बहुमत पुग्छ।

बुधबारको मतदानमा दाहालको पक्षमा २४२ र विपक्षमा ११४ मत परेको थियो। कुल उपस्थित ५९२ मध्ये २३६ जना तटस्थ बसेका थिए। माओवादीको २३७ मत मात्र रहेको भए पनि उनलाई जनमुक्ति पार्टीका २, नेपाली जनता दलका २ र नेपाः राष्ट्रिय पार्टीको १ मत प्राप्त भएको थियो। उनको विपक्षमा कांग्रेसका ११४ मत परेको थियो।

पौडेलका पक्षमा १२४ मत परेको थियो। उनले कांग्रेसबाहेकका ११ मत पाए। राप्रपाका ७ र राजपाका ३ सभासद्ले उनलाई भोट दिएका हुन्। राप्रपाका सूर्यबहादुर केसी लामो समयदेखि बिरामी भएकाले उपस्थित भएनन्।

दाहालको प्रस्तावमाथि मतदान हुँदा ५९२ र पौडेलको मतदान हुँदा ५८७ सभासद् उपस्थित थिए। पौडेलको प्रस्तावमा मतदान गर्दा जोड्न गल्ती भएका कारण ५९७ उपस्थित भएको सभामुखबाट वाचन गरियो। पौडलको विपक्षमा माओवादीको सिफारिसमा सभासद मनोनीत पदमज्योतिले मतदान गरेनन्।


शौचालय जाँदा मतदान गर्न पाएनन्
दाहालको प्रस्तावमा मतदान हुँदा राप्रपा नेपालका चन्द्रबहादुर गुरूङ शौचालय गएका कारण ढोका बन्द गर्दा बाहिर परेकाले मतदानमा छुटे। उनी पौडेलको प्रस्तावमा निर्णय गर्न भने उपस्थित थिए।

मतदानअघि छलफलका क्रममा मधेसी चार दलका नेताले कसैलाई पनि मत नदिने बताएपछि तटस्थ बस्नेको लहर नै चलेको थियो। तमलोपाका हृदयेश त्रिपाठी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी, सद्भावनाका अनिलकुमार झा र फोरमका उपेन्द्र यादवले मोर्चाको निर्णय सुनाउँदै मतदानमा भाग नलिने बताए।

सदनमा राप्रपा नेपालका चन्द्रबहादुर गुरूङ, नेमकिपाका सुनील प्रजापति, नेकपा एकीकृतका परी थापा, सभासद्हरू विश्वेन्द्र पासवान, लक्ष्मीलाल चौधरी, एकनाथ ढकाल, सदरुल मियाँ हक, रुक्मिणी चौधरीले पनि तटस्थ बस्ने घोषणा गरे।

नेकपा मालेका नेता सीपी मैनाली, नेकपा संयुक्तका चन्द्रदेव जोशी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र सद्भावनाका सरिता गिरीले भने खनालको उम्मेदवारी कायमै रहेमा उनलाई मत दिने अन्यथा आफू मतदानमा सहभागी नहुने बताएका थिए। माले सभासद् शारदा नेपालीले विष सेवन गरी अस्पताल भर्ना भएकाले उपस्थित भइनन्। नेमकिपाका नारायणमान विजुक्छे पनि बैठकमा आएका थिएनन्। संसदमा जम्मा ५९९ सभासद् छन्।


संविधानसभा (व्यवस्थापिका-संसद्) कार्यसञ्चालन नियमावलीको नियम ७(८) मा प्रधानमन्त्रीको निर्वाचनको लागि निर्धारित दिनको बैठकमा निर्णयार्थ प्रस्तुत भएका कुनै पनि प्रस्ताव संविधानको संसद्मा कायम रहेका सदस्यको बहुमतबाट पारित नभएमा सभामुखले सबै प्रस्तावलार्य निर्णयार्थ अर्को बैठक बोलाउनुपर्ने व्यवस्था छ। यो प्रक्रिया पारित नभएसम्म जारी रहने व्यवस्था छ। कुनै पनि प्रस्तावले कम्तिमा ३०० मत नपाएसम्म यो प्रक्रिया दोहोरिरहनेछ।

दाहालको प्रस्तावको परिणाम
पक्ष २४२
विपक्ष ११४
तटस्थ २३६
उपस्थित ५९२

पौडेलको प्रस्तावको परिणाम
पक्ष १२४
विपक्ष २३५
तटस्थ २२८
उपस्थित ५८७
(नागरिक)

0 comments: