मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, July 19, 2010

कालीबहादुर खामको पदोन्नति : प्रदीप नेपाल

माओवादी पार्टीका सबै नेताहरू कालीबहादुर खामजस्तै हत्यारा छन् भन्नुहुँदैन, तर माओवादी पार्टीका सबै शीर्ष नेताहरूमा भने हत्याचेतना विद्यमान छ l

'विविध' उपनाम भएका कालीबहादुर खाम रामहरि श्रेष्ठको हत्याका प्रमाणित अभियुक्त हुन् । सँगसँगै उनी एकीकृत माओवादी पार्टीका केन्द्रीय सदस्य र माओवादी 'जनमुक्ति सेनाका' कमान्डर पनि हुन् । उनी सामान्य नागरिक हुन्थे र उनको टाउकामा माओवादी पार्टीको वरदहस्त हुँदैनथ्यो भने यतिबेला उनी काठमाडौंको केन्द्रीय कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका हुन्थे । तर उनी यतिबेला फौजदारी कानुनबमोजिमको सजाय भोगिरहेका छैनन् । नेपालको अदालतले रामहरि श्रेष्ठको हत्यामा आरोपित गर्दै उनलाई फरार अपराधी भनी गृह प्रशासनलाई उनको खोजी गर्ने दायित्व पनि सुम्पिएको छ । तर उनी एकीकृत माओवादी पार्टीको आश्रयमा सुरक्षित भएर बसेका छन् । यतिबेला या त उनी शक्तिखोरकै क्यान्टोनमेन्टमा छन् या माओवादी अध्यक्ष प्रचण्डको निवासमा । किनभने यी दुवै ठाउँमा नेपाल प्रहरी कारबाही गर्न त के यसको छेउछाउमा जान पनि सक्दैन ।

कालीबहादुर खाम विविध, हत्या अपराधमा सजाय तोकिएका एक मात्र माओवादी होइनन् । अरू अपराधी पनि अनमिनको निगरानीमा भएको भनिएको क्यान्टोनमेन्टमा गएर लुक्ने गरेका छन् । माओवादी सत्तासीन भएको समयमा नेकपा एमालेका प्रचण्ड थैबका हत्यारा -नाम सम्झना हुन सकेन) लाई एकीकृत माओवादी पार्टीले नै रूपन्देहीतिरको कुनै क्यान्टोनमेन्टमा लगेर लुकाएको जानकारी दिँदै माओवादी पार्टीका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले, हत्यारा आफूहरूले लुकाएर राखेको र हिम्मत भए गिरफ्तार गर्न सरकारलाई चुनौती नै दिएका थिए । त्यतिबेलाको परिदृष्य अनौठो थियो । सरकारप्रमुख थिए माओवादी पार्टीका अध्यक्ष, ज्यानमारा थियो माओवादी कार्यकर्ता, लुकाउने थिए माओवादी केन्द्रीय सदस्य, लुक्ने ठाउँ थियो माओवादी लडाकाहरू बस्ने सुरक्षित क्यान्टोनमेन्ट । कहाँबाट पत्तो लागोस् हत्यारा ? अहिलेसम्म पनि प्रचण्ड थैबको हत्यारा एकीकृत नेकपा माओवादीको कुनै सुरक्षित स्थानमा दिनभरि लुकेर बस्छ, रात परेपछि नयाँ हत्या अभियानको योजना बुनेर सडकमा निस्कन्छ ।

अघिल्लो हप्ता चिनियाँ व्यापारीको घरमा भएको डकैती र तस्करीका कारण चर्चामा आएका कालीबहादुर खाम पहिलेदेखि नै हत्या अपराधमा संलग्न थिए । उनी उतिबेला आफ्नै पार्टीका समर्थक रहेका रामहरि श्रेष्ठको हत्याको मुख्य योजनाकार थिए । रामहरिको अपहरण हुनु र उनलाई कालीबहादुर प्रमुख रहेको चितवनको क्यान्टोनमेन्टमा लगेर माओवादी शैलीको बर्बर यातना दिई मार्नुसम्मका सबै काममा कालीबहादुर खामको संलग्नता थियो । यो अपराध सबैतिरबाट प्रमाणित भैसक्दा पनि एकीकृत माओवादी पार्टीले उनलाई प्रशासनको जिम्मा लगाउन र कानुनी कारबाहीलाई अगाडि बढाउन कुनै सहयोग गरेन । उल्टै त्यसले कालीबहादुरलाई जोगाउन र हत्या, अपराधलाई वृद्धि गर्न प्रेरित गर्ने काम गर्‍यो ।

एकीकृत माओवादी पार्टीको यही प्रेरणाका कारण कालीबहादुर खामले चिनियाँ व्यापारीलाई लुट्ने र यार्सागुम्बाको तस्करी गर्ने हिम्मत गरेका हुन् । पहिले रामहरि श्रेष्ठको हत्या गरेको पुरस्कारस्वरूप प्रचण्ड, किरण, प्रकाशजस्ता महान् 'माक्र्सवादी, लेनिनवादी, माओविचारवादी' हरूको जमातले 'कमान्डर कामरेड विविध'लाई पार्टी केन्द्रीय कमिटीको सदस्यता प्रदान गरेको थियो । अहिले कालीबहादुर खाम विविधले गरेको तस्करी र लुटपाटको पुरस्कारस्वरूप समयक्रममा उनलाई पार्टीको पोलिटब्युरोमा राखिने कुरो झन्डैझन्डै टुंगैजस्तो भएको छ । त्यसै हुनाले गृहमन्त्रीले माओवादी पार्टीका अध्यक्षको निवासमै गएर विविधलाई सरकारको जिम्मा लगाउन अनुरोध गर्दा प्रचण्डले असहयोग गरेका हुन् ।

माओवादी पार्टीका सबै नेताहरू कालीबहादुर खामजस्तै हत्यारा छन् भन्नुहुँदैन । तर, माओवादी पार्टीका सबै शीर्ष नेताहरूमा भने हत्याचेतना विद्यमान छ र त्यो सानोतिनो प्रयासले नमेटिने गरी जमोठ भएर बसेको छ । माओवादी पार्टीका अन्धभक्तहरू यस्तो निष्कर्षलाई गाली भनेर सत्यचेतनालाई ढाकछोप गर्ने कोसिस गर्छन् । तर, 'लोकतन्त्रलाई समर्थन गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरे' भनिएका माओवादीहरूले शान्तिपूर्ण राजनीतिप्रति तिखो व्यंग्य गर्दै लगातार ज्यान मार्ने काम गरेका छन् । अर्को पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई अंगभंग हुनेगरी काटकुट गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीले गर्ने गरेका हत्याको अनुपात जंगलीकालको दाँजोमा धेरै घटेको छ । तर, माओवादी पार्टीभित्रको हत्या-चेतना मरेको छैन । शान्तिपूर्ण राजनीतिमा अवतरित भएपछि मात्रै पनि उनीहरूले प्रतिपक्षी राजनीतिक कार्यकर्ताको हत्या गरेका छन्, र आफूले अर्को पार्टीको कार्यकर्ता मार्न सकेकामा दम्भबोध गरेका छन् । यसको उदाहरण नेकपा एमालेका कार्यकर्ता प्रचण्ड थैबको हत्या हो । उनीहरूले पत्रकारको हत्या गरेका छन्, र हत्यारालाई आफ्नो सुरक्षाघेराभित्र लुकाएका छन् । यसको उदाहरण बाराका वीरेन्द्र साह, कैलालीका जे.पी. जोशी र कञ्चनपुरका प्रकाश ठकुरी (?) लगायतको हत्या हो । यी त मेरो स्मृतिमा रहेका थोरै नाममात्र हुन् । यस्ता नामहरू मैले उल्लेख गरेको संख्याभन्दा तीन-चार गुणा नै बढी छन् । राजनीतिक विरोध गरेकामा माओवादीहरूले प्रतिपक्षी पार्टीका कार्यकर्ता मारेका थिए भने माओवादीको पक्षमा नलेखेका हुनाले उनीहरूले पत्रकारहरूको हत्या गरेका थिए । तर, सर्वसाधारणलाई माओवादीले किन मारे भन्ने कारण खोज्नचाहिँ अहिले अप्ठयारो भएको छ । हामीजस्ता नागरिकलाई रामहरि श्रेष्ठ एकजना सामान्य व्यवसायी हुन् भन्ने जानकारी छ । त्यस्तो मान्छेलाई अपहरणको सास्तीपछि माओवादीले मार्नै पर्ने निष्कर्षको जुइनुचाहिँ कतैबाट पनि जोडिन सकेको छैन । माओवादी पार्टीका नेताहरूले, आफ्नै कार्यकर्ताले रामहरि श्रेष्ठलाई मारेको स्वीकारोक्ति गरे पनि मार्नुपर्ने कारणको खुलासा भने अझै गरेका छैनन् ।

शान्तिपूर्ण राजनीतिमा अवतरणमा ओर्लिएपछि एकीकृत माओवादी पार्टीका कार्यकर्ताले नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्तालाई अंगभंग हुने गरी मारपिट गरेका छन् । अंगभंग भएका ती दुई पार्टीका कार्यकर्ताको संख्या त दर्जनौँ छ । केही एकाधको नाम गरेर माओवादी आक्रमणको भयावहतालाई सम्प्रेषित गर्न सकिन्न ।

एकीकृत माओवादीका नेताहरूले आत्मचिन्तन गर्नुपर्ने बेला आएको छ । हजारौँको हत्या र माओवादी भाषाको वलिदानले नेपाल नाम गरेको मुलुकको कुनै हित गरेन । त्यसले माओवादी पार्टीको हित गर्‍यो भन्ने त्यसका नेतालाई लागेको हुनसक्छ । मान्छे मारेरै हामी अहिले नेपालको सबैभन्दा ठूलो पार्टी भएका हौँ भनेर हत्या र बलिदानलाई ठूलो उपलब्धि ठान्ने उल्टो सोच पनि त्यहाँ हुर्किएको हुनसक्छ ।

तर, हत्याको राजनीतिले कसैको भलो गर्दैन । यसले नेपाली माओवादीको पनि भलो गर्दैन । हत्याको राजनीतिले मृत्युबाहेक अर्को कुनै परिणाम दिन पनि सक्दैन । यतिबेला माओवादी आफैँले क्यान्टोनमेन्टबाट आफूलाई बाहिर निकालेर सम्पूर्ण जिम्मेवारी विशेष समितिलाई सुम्पिन सकेको भए, ज्यानमारा कार्यकर्तालाई फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सहयोग गरेको भए, ज्यानमाराहरूलाई अबको एकीकृत माओवादी पार्टीमा कुनै स्थान छैन भनेर घोषणा गर्न सकेको भए कम्तिमा पनि संसद्को दुई-तीन कार्यकालसम्म एमाले वा कांग्रेसले माओवादीलाई आफूभन्दा तल झार्न सक्ने थिएनन् । ०६२ सालको बृहत् शान्तिसम्झौतालाई इमानदारिताका साथ कार्यान्वयन गर्न माओवादी क्रियाशील भएका भए पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीको अगुवाइमा चलेको संयुक्त सरकारको दोस्रो उदाहरण नेपालमै देखिने थियो ।

तर, अमाक्र्सवादी उग्रवामपन्थी चिन्तनका कारण गएको तीन वर्षमा एकीकृत माओवादी पार्टीले जनताको पार्टी हुने औसर पाउन सकेन । सत्तालिप्साको जालोमा माकुरो जसरी टाँस्सिने चिन्तन र ठूलो हुनाका लागि अरूलाई मार्नै पर्ने चेतनाका कारण अहिलेको एनेकपा माओवादी सेक्सपियरको म्याकवेथ नाटकको प्रमुख पात्र भएर सुस्केरा छाडिरहेको छ । म्याकवेथ पढ्ने नेताहरू माओवादीमा दर्जनौँ छन् । जंगली महत्त्वाकांक्षाले व्यक्तिलाई कति कुरूप बनाउँछ भनेर बुझ्नेहरू पनि त्यहाँ धेरै छन् ।

तिनलाई सद्बुद्धि प्राप्त होस् ! राजनीति भनेको फगत् सत्ताको घुम्ने कुर्चीमात्र हो भन्ने उग्रवामपन्थी जडचेतनाबाट तिनीहरूले मुक्ति प्राप्त गरून् ।

nepal.pradip@gmail.com

0 comments: