किरण पुन, (नागरिक) काठमाडौं, साउन १ - एकीकृत माओवादीले कांग्रेस-एमाले गठबन्धनलाई 'घोर दक्षिणपन्थी' को संज्ञा दिँदै आफ्नो नेतृत्वमा सरकार बनाउन प्रगतिशील गठबन्धन बनाउने अभियान थालेको छ।'जनविरोधी निर्णय र सरकारको दमन नीति रोक्न' पनि सरकारमा जानुपर्नेबारे पार्टीभित्र बहस सुरु भएको छ।
'कांग्रेससहितको घोर दक्षिणपन्थी गठबन्धन माधव नेपाल सरकारकै निरन्तरताको रूपमा रामचन्द्र पौडेल वा अरू कुनैलाई लिन चाहेको देखिन्छ,' पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले भने, 'हामी त्यसलाई तोडेर प्रगतिशील गठबन्धन बनाउन प्रयास गरिरहेका छौं।'
माओवादीले प्रगतिशील गठबन्धनमा 'दक्षिणपन्थी गठबन्धनविरुद्ध उभिनेहरू, राष्ट्रिय स्वाधिनता, संघीयता र धर्मनिरपेक्षता पक्षधर, वामपन्थी र देशभक्त' लाई समेटिने जनाएको छ। अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने स्थिति नआए विकल्प खुला गर्नुपर्ने बहस फेरि चर्किएको छ। यसका लागि दाहालको विकल्पका रूपमा उपाध्यक्ष बाबुराम भट्टराईमात्र हुने कि महासचिव रामबहादुर थापा वा कृष्णबहादुर महरा पनि हुने भन्ने बहस थालिएको छ।
केसीले सरकारको नेतृत्व अध्यक्ष दाहाल वा भट्टराईले गर्ने भन्ने नेताहरूको भनाइ पार्टी निर्णयविपरीत भएको दाबी गरे। दाहाल आफैले आफ्नो नेतृत्वमा सरकार बन्ने निर्णय भएको भनिसकेका छन्। भट्टराई पक्षधरले भने विकल्प खुला रहेको र त्यसको विकल्प भट्टराई आफैं रहेको आसयका रूपमा पार्टी निर्णयलाई व्याख्या गरिरहेका छन्।
'अध्यक्ष दाहाल वा उपाध्यक्ष भट्टराईले नेतृत्व गर्ने कुरा बाहिर आएका छन्, ती नेताका निजी विचार हुन्। उनीहरू पोलिटब्युरो बैठकको निर्णयविपरीत बोलेका छन्,' केसीले नागरिकसित भने, 'सरकारमा पार्टीको नेतृत्व निश्चित भएपछि मात्र को जाने तय हुन्छ। अहिले न अध्यक्षको निर्णय भएको छ, न उपाध्यक्षको।'
अध्यक्ष दाहाल पक्षधरले भने उनको नेतृत्वमा सरकार नबने प्रतिपक्षमा बस्ने लबिङ थालेका छन्। उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम पक्षधर भने उनको नाममा सहमति नजुटे विकल्प खोज्नुपर्ने लबिङमा छन्।
स्रोतका अनुसार अध्यक्ष दाहाल नयाँ नेतृत्व आफूबाहेक अरूलाई सरकार नेतृत्व गर्न नदिने रणनीतिमा छन्। संसदीय दलका नेता, पार्टी प्रमुखबाहेक अरूलाई सरकारमा पठाउँदा कांग्रेस-एमालेमा जस्तै भाँडभैलो हुने दाहाल पक्षधरको तर्क छ। 'अध्यक्षबाहेक अरूलाई पठाउँदा एमालेमा जस्तै भाँडभैलो हुन्छ,' अध्यक्ष दाहाल पक्षधर एक पोलिटब्युरो सदस्यले भने, 'अध्यक्ष नगए प्रतिपक्षमा बस्नुपर्छ।'
दाहालले यसअघि पटकपटक आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गराइसकेका छन्। पछिल्लो पोलिटब्युरोले भने व्यक्ति किटान नगरी पार्टीले नेतृत्व गर्ने निर्णय गरेको छ।
'पहिले त माओवादी नेतृत्वमा सरकार बन्ने सहमति खोज्छौं,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'अध्यक्षको नेतृत्व नमान्ने कुनै कारण छैन, तर उहाँको नाममा सहमति नजुटे छलफल गर्न तयार छौं।'
वैद्य र भट्टराई दुवै पक्षधर भने अध्यक्ष दाहालको विकल्प खोज्न सहमत छन्। तर, वैद्य पक्षधरले दाहाल र भट्टराई दुवै नाममा सहमति नभए महासचिव रामबहादुर थापा वा कृष्णबहादुर महरालाई पठाउने तर्क अघि सारेका छन्। माओवादीले सदन, सडक र सरकार तीनवटै मोर्चाबाट जाने निर्णय गरिसकेकाले सरकारको मोर्चा सम्हाल्न पनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेको हो।
पार्टीको मुख्य नेतृत्व कार्यकर्तामाझ जाने र त्यसपछिको नेतृत्वलाई सरकारको जिम्मेवारी दिए सजिलो हुने बहस थालिएको छ। पार्टीको मोर्चाभन्दा सरकारको मोर्चा कम महŒवको भएकाले पनि मुख्य नेतृत्व सरकारमा जान मरिहत्ते गर्न नहुने उनीहरूको भनाइ छ। 'भ्रष्टाचार रोक्न, दमनविरुद्ध जनविरोधी निर्णय रोक्न पनि सरकारमा जान जरुरी छ,' केसीले भने।
वैद्य पक्षधरले दाहाल र भट्टराईमा तात्विक अन्तर नभएको र पार्टी उनीहरूको मात्रै पेवा नभएको भन्दै दोस्रो पुस्ताका नेता पनि सरकारमा जान सक्ने तर्क गरेका छन्।
'दुवैमा घटीबढी केही छैन, तराजुमा हालेर जोखे पनि हुन्छ,' एक पोलिटब्युरो सदस्यले भने।
माओवादीभित्र पार्टीले नेतृत्व नपाए झलनाथ खनालको नेतृत्वमा पनि जान सकिने तर्क उठ्न थालेका छन्। खनालको नेतृत्वमा गए शान्ति र संविधान सुनिश्चितताको न्यूनतम कार्ययोजनासहित जानुपर्ने नेताहरू बताउँछन्। यसरी जाँदा आवास तथा भौतिक योजना, अर्थ, रक्षा, गृहजस्ता मन्त्रालय आफ्नो हातमा लिनुपर्ने उनीहरूको राय छ।
कांग्रेस-एमालेको खाका अस्वीकार
एकीकृत माओवादीले कांग्रेस-एमालेको सेना समायोजनसहितको खाका अस्वीकार गरेको छ। तत्कालीन राज्य र विद्रोही माअेावादी दुवैले हारजित नगरी सम्झौता गरेकाले दुवैप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने माओवादीको भनाइ छ।
'कांग्रेस-एमालेलेको प्रस्ताव जनयुद्ध हारेकोजस्तो आधारमा आएको छ,' सचिव चन्द्रप्रकाश गजुरेलले भने। उनले हतियार बुझाउने र विघटन गर्ने प्रस्ताव हारेको अवस्थामा लागू हुने भन्दै स्वीकार गर्न नसकिने बताए।
शुक्रबार बसेको पदाधिकारी बैठकले संवैधानिक रूपमा सहमतीय नभए पनि राजनीतिक रूपमा आफ्नो नेतृत्वमा माओवादीले सहमतीय सरकार बनाउन प्रयास जारी राख्ने निर्णय गरेको छ।
'कांग्रेसको निर्णय र एमालेको गतिविधिले उनीहरू इमानदार नदेखिए पनि आफ्नो तर्फबाट माओवादी नेतृत्वमा राष्टिय सरकार बनाउने प्रयत्न जारी राख्ने निर्णय गरेका छौं,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
कांग्रेसले बहुमतीय सकार नेतृत्व गर्ने निर्णय गरेको र एमालेले सहमति जुटाउन पहल नगरेकाले उनीहरू सहमति जुटाउन इमानदार नभएको उनले आरोप लगाए।
उपाध्य श्रेष्ठको आपत्ति
एकीकृत माओवादी उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री भीम रावलको बिहीबार भएको भेटबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।
लुटपाट र तस्करी अभियोगमा फरार पार्टी केन्द्रीय सदस्य कालीबहादुर खाम पार्टी सम्पर्कमा आएको र कारबाही बढाउने भन्ने गृहमन्त्री र अध्यक्ष दाहालको भनाइ आफूले कतै उल्लेख नगरेको भन्दै उनले आपत्ति जनाएका हुन्।
Saturday, July 17, 2010
माओवादीले सरकार बनाउन प्रगतिशील गठबन्धन तयार गर्ने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment