किरण पुन, काठमाडौं, साउन ४- प्रधानमन्त्रीको उम्मेदवारी दिने अघिल्लो दिन पार्टी पदाधिकारी बैठकको निर्णयमा आआफ्नै व्याख्या आएपछि एकीकृत माओवादीभित्रको मतान्तर छताछुल्ल भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षले माओवादी नेतृत्वमै सरकार बनाउन पहल गर्ने र नभए एमालेलाई सघाउने निर्णय भएको बताएको भने उपाध्यक्ष मोहन वैद्य-बाबुराम भट्टराई पक्षले एमालेलाई सघाउने निर्णय नै नभएको दाबी गरेको छ। एमाले निर्णयको पर्खाइमा रहेको माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवाददाताहरुसँग आफ्नो नेतृत्वमा सरकार नबने एमालेलाई सघाउने निर्णय गरेको जानकारी दिएका थिए।
माओवादीको त्यस्तो निर्णय पार्टी मुख्यालय बल्खुमा सवा ४ मा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा सुनाइएको थियो।
उम्मेदवारी चयन र अरुलाई सघाए त्यसका आधार मंगलबारको पोलिटब्युरोले तय गर्ने माओवादीले जनाएको छ।
‘हाम्रो नेतृत्वमा सरकार नबन्ने स्थितिमा संघीयता, धर्म निरपेक्षता, सामाजिक न्यायका पक्षधरसँग प्रगतिशील मोर्चा बनाउने र ठोस नीतिका आधारमा एमालेलाई समर्थन गर्न सकिन्छ,' उपाध्यक्ष श्रेष्ठले नागरिकसित भने, ‘बाबुराम भट्टराईजीको समेत सहमतिमा सर्वसम्मत निर्णय भएको हो।'
सहमतीय सरकार कांग्रेसको निर्णयका कारण सम्भव नभएको र उसले निर्णय फेरेमात्र जान सकिने, बहुमतीय भए पनि आफ्ना दलको नेतृत्वमा मंगलबारसम्म प्रयास जारी राख्ने, त्यसो हुन नसके अग्रगामी मोर्चा बनाएर एमालेलाई सघाउने निर्णय भएको उनले बताए।
अर्का उपाध्यक्ष बाबुराम भट्टराईले भने पदाधिकारी बैठकमा मंगलबार पोलिटब्युरो बोलाउनेबाहेक कुनै निर्णय नभएको बताए। ‘आजको बैठकले पोलिटब्युरो बोलाउने बाहेक कुनै निर्णय गरेको छैन,' उनले नागरिकसित भने।
पार्टी सचिव चन्द्रप्रकाश गजुरेलले पनि भट्टराईकै भनाइ दोहोर्याएका छन्। ‘पहिलो प्राथमिकता आफ्नै दलको नेतृत्वमा र नभए अरु विकल्पमा जाने निर्णय भएको हो,' उनले भने, ‘तर कसलाई सघाउने भन्ने तय पोलिटब्युरोले तय गर्ने निर्णय भएको बताए।
‘पहिले आफ्नै नेतृत्वको दाबी गर्ने र नभए अरु विकल्पमा जाने हो,' गजुरेलले भने, ‘अरु कुनै निर्णय भएको छैन।'
अर्का सचिव पोष्टबहादुर बोगटीले आफ्नै दल नेतृत्वमा पहल गर्ने र नभए एमालेलाई सघाउने निर्णयमा कसैको विमति नभएको बताए। ‘आफ्नै दलको नेतृत्वका लागि मंगलबार अबेरसम्म पनि प्रयास जारी राख्छौं,' उनले नागरिकलाई भने।
माओवादी अध्यक्ष दाहाल आफूबाहेकका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन अनिच्छुक देखिएका छन्। सर्वमान्य व्यक्ति भएकाले भट्टराईलाई उठाउनुपर्ने मत दाहाल पक्षले स्वीकारेको छैन।
दाहाल आफूले नपाउने स्थिति आए पार्टीबाहिर जाने रणनीतिमा छन्। मोहन वैद्य पक्ष भने अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिले महासचिव रामबहादुर थापा वा कृष्ण्बहादुर महरालाई उठाउनुपर्ने तर्क गरिरहेको छ।
‘माओवादी दाहाल र भट्टराईको पेवा होइन,' वैद्य पक्षका एक स्थायी समिति सदस्यले भने ‘उनीहरुबीच कुरा नमिले महासचिव रामबहादुर थापा या कृष्णबहादुर महरा उठाउँछौं।'
अध्यक्ष नउठे भट्टराईलाई स्वीकार्न अध्यक्षले आनाकानी गर्न नहुने वैद्य पक्षको तर्क छ। ‘भट्टराईलाई पार्टी उपाध्यक्ष बनाउन हुने, प्रधानमन्त्री बनाउन किन नहुने?' वैद्य पक्षको प्रश्न छ।
वैद्य पक्ष पहिलो प्राथमिकतामा अध्यक्ष, त्यसपछि भट्टराई, त्यसमा नभए महासचिव थापा र पार्टीभित्र नभए मात्र अन्तिम विकल्पका रुपमा झलनाथ खनाललाई सघाउने पक्षमा छन्।
‘हाम्रा अध्यक्ष उम्मेदवार नभए भट्टराई, भट्टराई पनि नभए रामबहादुर थापा हुन्,' पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले नागरिकसित भने।
उपाध्यक्ष भट्टराईले मंगलबार बस्ने पोलिटब्युरो बैठकले डमी उम्मेदवार नबनाउने बताए। माओवादीले कस्तो उम्मेदवार खडा गर्छ भन्ने प्रश्नमा उनले भने, ‘गम्भीर उम्मेदवार दिन्छ, डमी उम्मेदवार तयार गर्दैन।' (nagariknews)
Tuesday, July 20, 2010
माओवादी मतभेद छताछुल्ल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment