काठमाडौं, साउन ७ (नागरिक)- चार मधेसवादी दलले आफ्ना शर्त पूरा गर्ने प्रधानमन्त्रीका उम्मेदवारलाई मात्र आफ्नो समर्थन हुने बताएका छन्। एक नेताका अनुसार, मधेसी जनाधिकार फोरम संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्रीका दुई उम्मेदवारलाई राखिने शर्तबारे छलफल भएको छ।
ती बुँदाहरूमा राज्य पुनर्स्थापना आयोग गठन गर्न नपाइने, शान्ति प्रक्रियाको सुनिश्चितताका निम्ति सम्पत्ति फिर्ता, माओवादी लडाकुको व्यवस्थापन, मधेसीलाई सेना, प्रहरीलगायतका राज्य निकायमा तोकिएको २८ प्रतिशत आरक्षण, मधेसीलाई सेनामा समूहगत प्रवेश छन्।
त्यसैगरी संविधानमा वहुलवाद, प्रेस स्वतन्त्रता, मूल्यमान्यताप्रतिको प्रतिवद्धता र चैत मसान्तभित्र संविधान निर्माण र स्वयत्त मधेस प्रदेश स्वीकारजस्ता शर्त प्रधानमन्त्रीका उम्मेदवारलाई राख्ने भएका छन्। यसका लागि उनीहरू शुक्रबार प्रधानमन्त्रीका उम्मेदवार रहेका दलसँग छलफल चलाउनेछन् र मतदान अघि सहमति भए त्यसै अनुरुप समर्थन गर्नेछन्। होइन भने यसअघिको मतदानमा जस्तै तथष्ट बस्ने निर्णय गर्नेछन्।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनाधिकार फोरम, नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टीको बैठकले तयार पारेको आधारपत्र भने प्राविधिक कारणले सार्वजनिक गरिएको छैन। यसलाई शुक्रबार बिहान आपसी छलफलपछि सार्वजनिक गरिने जानकारी फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बैठकपछि संवाददाताहरूलाई बताए।
‘निर्वाचन प्रक्रिया सुरु हुनुअघि नेपाली कांग्रेस र एमालेसँग छलफल गरी जसले शान्ति र संविधानको सुनिश्चितता र मधेस मुद्दामा सहमति जनाउँछ, त्यही पार्टीलाई हामी समर्थन गर्छौं,' उनले भने।
Friday, July 23, 2010
प्रधानमन्त्रीका उम्मेदवारलाई मधेशवादीका शर्त
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment