मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, July 18, 2010

माओवादीद्वारा पार्टीभित्र र बाहिर सरकार नेतृत्वको विकल्प खुला

किरण पुन, काठमाडौं, साउन २- संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले सरकार नेतृत्व पार्टीभित्र र बाहिर दुवैतिर विकल्प खुला गरेको छ। अध्यक्ष पुष्पकमल दाहालबाहेक पनि विकल्प खोज्न सकिने र माओवादी नेतृत्वमा सरकार नबन्ने स्थितिमा अन्य दललाई पनि समर्थन जनाउने दुवै विकल्प खुला गरेको हो।

पटकपटक माओवादी नेतृत्वमा सहमतीय सरकार बने त्यसको नेतृत्व अध्यक्ष दाहालले गर्ने निर्णय गरे पनि पछिल्लो पोलिट्ब्युरोले व्यक्तिको नाम किटान नगरी ‘सके सहमतीय नभए बहुमतीय सरकारको नेतृत्व पार्टीले गर्ने' निर्णय गरेको थियो।

यो निर्णयलाई अध्यक्ष दाहाल पक्षधरले ‘अध्यक्ष दाहालको नेतृत्व' र उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराई पक्षधरले ‘दाहालको विकल्प खुला गरेको' भन्दै आआफ्नै व्याख्या गर्दैआएका थिए। स्रोतका अनुसार माओवादी नेतृत्वमा सरकार बन्ने स्थिति क्षिण भएकाले बैद्य र भट्टराई पक्षधरको मुखमा बुजो लाउन अन्तिम अवस्थामा विकल्प खुला गरिएको हो।

‘शान्ति र संविधान सुनिश्चित गर्न कम्तिमा दुई तिहाई बहुमतको सरकार बनाउन अन्तिमसम्म पनि प्रयास गर्छौं,' प्रवक्ता दिनानाथ शर्माले भने, ‘त्यसको लागि सरकारको नेतृत्वको सबै विकल्प पार्टीभित्र र बाहिर पनि खुला गरेका छौं।' स्रोतका अनुसार ‘अध्यक्ष दाहालको विकल्प खुला गरे माओवादी नेतृत्वमा सरकार बन्छ कि' भन्ने पार्टीभित्रै उठ्दैगएको आवाजलाई मत्थर पार्न यस्तो निर्णय गरिएको हो।



यसअघि अध्यक्ष दाहाललाई ‘विकल्प खुला नगरी आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने स्थिति भए प्रतिपक्षमा बस्ने' भनेर आरोप लगाउँदैआएका थिए भने दाहालकै कारण माओवादी नेतृत्व सरकार बन्ने अवसरबाट रोक्न नहुने चर्को आवाज उठेको थियो।


तर माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्ने स्थिति पातलिदै गएपछि मात्र पार्टीभित्र र बाहिर विकल्प खुला गरेको छ। अध्यक्ष दाहालले माओवादी नेतृत्वमा सरकार बन्ने स्थिति नरहेको भन्दै समसमायिक राजनीतिबारेमा स्थायी समितिमा ब्रिफ गरेका थिए।


‘अध्यक्ष दाहालले माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना लगभग सकियो भनेर अहिलेको राजनीतिक परिस्थितिको बारेमा ब्रिफ गर्नुभयो,' एक स्थायी समिति सदस्यले भने। तर बैठकले अन्तिमसम्म आफ्नो दलको नेतृत्वमा सरकार बनाउनलाई दलहरुलाई मनाउन भने प्रयास जारी राख्ने निर्णय गरेको छ। आफ्नो दलको नेतृत्वमा सरकार बन्ने राजनीतिक सहमति जनाएपछि मात्र दोस्रो चरणमा उम्मेदवार तय गर्ने छ।


‘हाम्रो आधारपत्रलाई स्वीकारेपछि यसअघि नै अध्यक्ष दाहाल प्रधानमन्त्री भइसकेकाले नयाँ उम्मेदवार भए हुन्थ्यो भन्ने अरु दलबाट प्रस्ताव आएपछि अर्को उम्मेदवार सार्छौं,' माओवादी उच्च स्रोतले भन्यो, ‘विकल्पमा पहिलो पुस्ताका उपाध्यक्ष भट्टराईसहित महासचिव रामबहादुर थापा मात्र होइन सहित दोस्रो पुस्ताका स्थायी समिति सदस्यद्वय कृष्णबहादुर महरा, वर्षमान पुन पनि हुन सक्छन्।'


कांग्रेसले सारेको सेना समायोजनको खाकालाई ‘विस्तृत शान्ति सम्झौताविपरीत' भन्दै अस्वीकार गरेको माओवादीले उनीहरुसँग आत्मसमर्पण गरेर सरकारमा नजाने बताएको छ।


‘जनमुक्ति सेनालाई पुलिसको जिम्मा लगाउने, हतियार बुझाएर आत्मसर्पण गरेजस्तो गरेर सरकार बनाउन लालायित छैनौं,' स्रोतले भन्यो।


सचिव सीपी गजुरेलले आफ्नो नेतृत्वमा सरकार बनाउनलाई सबै दलहरुलाई मनाउन अन्तिमसम्म पनि प्रयास गर्ने बताए। उनले भने, ‘एक चरण सबै दलसँग कुरा गर्छौं। मनाउन पनि सक्छौं। यदि त्यसो भएन भने मात्र कसलाई समर्थन गर्ने भन्नेतिर लाग्छौं।'


आफूले मनाउन नसकेपछि भने माओवादीले शान्तिप्रक्रियाको मूल विषय सेना समायोजन तथा सविधान निर्माणको विषयमा सकारात्मक हुनेलाई सघाउने छ। यसका लागि माओवादी सरकारबाहिर बसेर सहयोग गर्ने वा सहभागी हुने टुंगो पनि दलहरुले उठाउने उम्मेदवारमा भर पर्ने छ। ‘मन परेको उम्मेदवार आए सरकारमा सहभागी हुने नत्र बाहिर बस्छौं,' स्रोतले भन्यो।


माओवादीको लागि पहिलो प्राथमिकतामा वामपन्थी शक्ति हुने छन्। एमालेबाट झलनाथ खनाललाई समर्थन गर्ने छ। कांग्रेस-एमाले गठबन्धन नटुटे उसले यी दुई बाहेकको मधेसी दललाई सघाउने छ। माओवादी स्रोतका अनुसार अन्तिम अवस्थामा फोरम फुटाए जसरी एमालेलाई भारतले नफुटाए खनाल बन्ने छन्। तर त्यसको लागि उनले हिम्मत गर्नुपर्ने माओवादीको विश्लेषण छ। एमालेसित मिले मधेसका उपेन्द्र यादव, साना वाम तथा साना दल लिएर दुई तिहाई हुने र त्यसबाट संविधान लेख्न सकिने माओवादी अड्कल छ।



‘वापपन्थीपछि हामी देशभक्त, धर्म निरपेक्ष र संघीयता पक्षधरलाई प्राथमिकतामा राख्छौं,' स्रोतले भन्यो। चुनाव बाहिरबाट हेर्दा नेपालका राजनीतिक दलमा देखिए पनि भित्रीरुपमा सिधै भारतसित भएको माओवादी उच्च स्रोतको दाबी छ। माओवादी उच्च स्रोतका अनुसार माओवादी जसरी पनि भारतीय इन्टरेष्टमा बन्ने पौडेल वा मधेसी मोर्चाका उम्मेदवारलाई ढाल्न लागिपर्ने छ।


रामचन्द्र पौडेल प्रधानमन्त्री नबन्ने स्थिति भए मधेसी गठबन्धन खनाललाई प्रधानमन्त्री हुनबाट रोक्न भारतले मधेसी मोर्चा ब्युझाएको माओवादीको दाबी छ। उनीहरुअनुसार खनाल पनि भारत विरोधी भन्दै उनलाई रोक्न मधेसी मोर्चा ब्युझाएको हो। कुनै पनि हालतमा खनाल नै आउने स्थिति भए उनी हुनु र माओवादी हुनुमा तात्विक अन्तर नदेखेपछि माओवादी नेतृत्व सरकार बन्न रोक्ने छैन।



‘भारत माओवादी नेतृत्वको मात्र होइन उसले समर्थन गरेको सरकार पनि नबनोस् भन्ने चालमा छ,' उच्च स्रोतले भन्यो, ‘तर कुनै पनि हालतमा माओवादी समर्थनमा खनाल नै आउने भएपछि भने माओवादी नेतृत्व सरकार बन्न पनि सक्ने छ। त्यसबेला उसले रोक्ने छैन।'


‘कथमकदाचित रामचन्द्र पौडेल नहुने स्थिति आए मधेसीबाट भारतले उम्मेदवार उठाउने प्रपन्च रचेको देखिन्छ,' अध्यक्ष दाहाल निकट उच्च स्रोतले भन्यो, ‘तर हामी पनि मधेसीबाटै उम्मेदवार उठाउँछौं।' स्रोतका अनुसार उनीहरुले महन्थ ठाकुरलाई अघि सारे माओवादीले उपेन्द्र यादव वा अरु कसैलाई अघि सार्नेछ।


‘भारत अहिले माओवादी नेतृत्वमा सरकार बन्न नदिने, दोस्रोमा झलनाथ खनाललाई बन्न नदिने, तेस्रोमा उपेन्द्र यादवलाई बन्न नदिने र अन्तिममा माओवादीले समर्थन गरेका कुनै पनि दललाई सरकार बनाउन नदिने चाल चालेको छ,' अध्यक्ष दाहाल निकट उच्च स्रोतले भन्यो, ‘तर हामी त्यसलाई तोडेर सरकार बनाउन लागेका छौं, त्यो हाम्रो नेतृत्वमा होस् वा अरुको।' (nagariknews)

0 comments: