काठमाडौं असार ३२ (नागरिक)- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले लुटपाट र तस्करी अभियोगमा फरार पार्टी केन्द्रीय सदस्य कालीबहादुर खामलाई पक्राउ गरी कारबाही अघि बढाउन गृहमन्त्रीसँग आग्रह गरेका छन्।
खाम सम्पर्कमा आएको र उनीमाथि पार्टीले पनि अनुसन्धान सुरु गरेको जानकारी दिँदै दाहालले बिहीबार गृहमन्त्री भीम रावललाई कारबाहीको सहमति दिएका हुन्।
खामको अभियोगबारे दाहाललाई जानकारी दिन गृहमन्त्री रावल बिहीबार बिहान नयाँ बजारस्थित निवास पुगेका थिए। ‘अध्यक्षज्यूले गृहमन्त्रीलाई कारबाही अघि बढाउन आग्रह गर्नुभयो,' दाहाल-रावल भेटबारे जानकारी दिँदै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘खाम पार्टीको सम्पर्कमा आएका छन्, हामीले पनि अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ भन्नुभयो।' दोषी पाइए पार्टीले कारबाही गर्ने उनले बताए।
गोंगबुस्थित नवमित्र गेस्ट हाउसमा तीन चिनियाँ व्यापारी लुटेको र यार्चागुम्बाको अवैध र्याकेट सञ्चालन गरेको अभियोगमा खामलाई काठमाडौं परिसरले खोजिरहेको छ। मंगलबार माओवादी प्रवक्ता दीनानाथ शर्माले खाम दुई महिनायता पार्टी सम्पर्कमा नरहेको बताएका थिए।
स्रोतका अनुसार रावलले खामविरुद्ध प्रहरीले यथेष्ट प्रमाण फेला पारेको बताउँदै उनलाई पक्रन प्रहरी परिचालन गरिएको दाहाललाई जानकारी गराएका थिए। ‘हत्याको अभियोग लागेकालाई पनि राजनीतिक संरक्षण भयो,' दाहालसँग रावलको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तोमा पनि राजनीतिक संरक्षण भए राज्यले सहँदैन।'
दाहाल निवासवाट रावल सिधै बालुवाटार पुगेर प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटबारे जानकारी गराएका थिए।
पाँचौँ डिभिजनका ब्रिगेडियर कमान्डर खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याका समेत मुख्य अभियुक्त हुन्। श्रेष्ठ हत्यामा जिल्ला अदालत चितवनले खामलाई पक्राउ आदेश जारी गरे पनि ‘राजनीतिक संरक्षण' का कारण उनी प्रहरी नजरमा ‘फरार' छन्।
असार २५ को गोंगबु लुटपाटको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी प्रभाग, सोह्रखुट्टेका प्रहरीले २७ गते गोंगबुस्थित खामको कोठाबाट पाँच लाख नगद, सात किलो आठ सय ग्राम यार्चागुम्बा, १० वटा गोली, सरकारी किर्तेछाप र लुटपाटमा प्रयोग भएको ना१च ८७३६ नम्बरको सेन्ट्रो कार बरामद गरेको थियो। कार चोरीको पुष्टि भइसकेको छ। प्रहरीले खामका मुख्य सहयोगी गणेशबहादुर मल्ल, सौगात बुढामगर, जितेन्द्र बुढामगर, कर्म शाही घर्ती मगर, लालबहादुर राना मिलनसेन ठकुरी, मधुसुदन शर्मा र अशोक खातीलाई पक्राउ गरिसकेको छ।
Friday, July 16, 2010
खामलाई पक्रन दाहालको सहमति
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment