मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, July 17, 2010

ठाकुरलाई प्रधानमन्त्री बनाउने मधेसी गृहकार्य

माधव ढुङ्गेल, (नागरिक) काठमाडौं, साउन १ - मधेसवादी चार दलले तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको साझा उम्मेदवार बनाउने गृहकार्य थालेका छन्। मधेसवादी दलको बैठकले 'लोकतान्त्रिक मधेसी मोर्चा' क्रियाशील बनाएर संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ।

ठूला तीन दलले सहमतिमा प्रधानमन्त्री चयन गर्न नसक्ने देखिएपछि यस्तो निर्णय गरेका हुन्। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गरी माधवकुमार नेपाल गठबन्धनमा सामेल विजयकुमार गच्छदारलाई नमान्ने र गच्छदारले यादवलाई अस्वीकार गर्ने स्थितिमा ठाकुरलाई वैकल्पिक साझा नेताका रूपमा अघि सार्न लागिएको हो।

'अहिलेसम्म चार दलबीच ठाकुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक छलफल भएको छैन,' तमलोपाका सहमहामन्त्री जितेन्द्रप्रसाद सोनारले भने, 'मधेसवादी दलहरूले प्रधानमन्त्री दाबी गर्ने अवस्था आए मधेसको सर्वोच्च नेताका हैसियतमा उहाँ साझा नेता हुने सम्भावना छ।'

बैठकका अर्का सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेसम्म मधेसवादी दलले प्रधानमन्त्री दाबी नगरेको बताए। 'ठूला तीन दलबीच सहमति भएन र उनीहरूले मधेसवादीलाई समर्थन गर्ने भएमात्र हामीले नेतृत्व लिने हो,' उनले भने।

देशको राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउने निर्णय मधेसवादी चार दलले गरेका छन्। उनीहरूले चारै दल सहभागी 'संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा' बनाउने निर्णय गरेका छन्। मोर्चामा विभाजित फोरमका दुवै समूहका अध्यक्षहरू गच्छदार र यादव सहभागी हुनेछन्।

माधवकुमार नेपालले नेतृत्व गर्ने सरकारको गठबन्धनमा सामेल हुने/नहुने विवादमा १३ महिनाअघि फुटेको मधेसी जनअधिकार फोरमका दुवै खेमा पहिलोपल्ट बैठकमा सहभागी भए। बैठकले राज्य पुनःसंरचना आयोग गठन गर्नेबारे एकीकृत माओवादी, कांग्रेस र एमालेबीच बिहीबार भएको सहमतिलाई असान्दर्भिक भन्दै विरोध गरेको छ।

मधेसवादी चार दल संविधानसभामा रहेको चौथो शक्ति हो। फोरम लोकतान्त्रिकका २८, फोरमका २५, तमलोपा २० र तमलोपाको ९ गरी ८२ सिट छन्।

सद्भावना पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, फोरम (लोकतान्त्रिक) का सहअध्यक्ष शरतसिंह भण्डारी, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलगायत नेता सहभागी थिए। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने अस्वस्थ भएकाले आएनन्।

फोरम विभाजित भएर वर्तमान गठबन्धन सरकार बनेलगत्तै मधेस आन्दोलनका बेला बनेको 'संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा' निष्क्रिय भएको थियो। पार्टी फोरेर गठबन्धन सरकारमा गच्छदार सहभागी भएदेखि फोरम अध्यक्ष यादवले उनीसँग बैठक बस्नसमेत अस्वीकार गर्दै आएका थिए। 'मधेसवादी चार दलबीचको छुवाछुतको अन्त्य भएको छ,' सोनारले भने।

मोर्चा बनाउने कार्यमा क्रियाशील मधेसी जनअधिकार फोरमका सभासद् राजकिशोर यादवले भने, 'मधेसका मुद्दाबारे साझा आवाज बनोस्, संविधान निर्माणले सार्थकता पाओस् भन्नेमा मोर्चाको जोड हुनेछ।'

मोर्चा गठनसँगै मधेसी राजनीतिमा विजय गच्छदारको प्रभाव कमजोर भएर जाने मधेसी सभासद्हरूको दाबी छ। मधेसी तीन दलले यसअघि नै बैठक गरी सेना समायोजन र शान्ति प्रक्रियाका मुद्दा टुंगो नलागेसम्म माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने निर्णय गरिसकेका छन्।

गच्छदार समूहसमेत सहभागी मोर्चामा सामेल हुने निर्णयमा आफ्ना सभासद्लाई विश्वासमा लिन फोरमले सहअध्यक्ष जयप्रकाश गुप्ताले समसामयिक राजनीतिबारे बुधबार आफ्ना सभासद्सँग ५ घन्टा अन्तर्क्रिया गरेका थिए। बिहीबार फोरम (लोकतान्त्रिक) संसदीय दलको अनौपचारिक बैठकमा मन्त्रीहरू शरतसिंह भण्डारी, सर्वदेव ओझा, मृगेन्द्रसिं यादवलगायत १८ जना सभासद्ले गच्छदारको आलोचना गरेका थिए। मोर्चाको बैठक शनिबार पुनः बस्ने बताइएको छ।

0 comments: