मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, July 28, 2010

कांग्रेसमा १ लाख ८० हजार नयाँ क्रियाशील सदस्य

विश्वमणि पोखरेल, काठमाडौं, साउन १२- बाहौँ महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसमा नयाँ सदस्यको बोलवाला देखिएको छ। पार्टीको क्रियाशील सदस्यता लिने नयाँको संख्या १ लाख ८० हजार ७७ छ भने नवीकरण गर्नेको १ लाख २७ हजार ९ सय ९२ मात्र छन्। नयाँ सदस्य झन्डै ५० हजार बढी छन्।
पार्टी विभाजित अवस्थामा संस्थापन कांग्रेसमा १ लाख ९ हजार र कांग्रेस प्रजातान्त्रिकमा करिब ७० हजार गरी जम्मा १ लाख ८० हजार हाराहारी क्रियाशील सदस्य थिए।

०५६ को महाधिवेशनमा कांग्रेसका करिब २ लाख ३० हजार क्रियाशील सदस्य थिए। तथ्यांकका आधारमा विभाजनयता पुराना ५३ हजारले पार्टीको सक्रिय राजनीति त्यागेको देखिन्छ भने अघिल्लो महाधिवेशनयतामात्रै ५० हजार नयाँ सदस्य थपिएका छन्।

केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी संविधानसभायता कांग्रेसले लिएको राजनीतिक बाटो र अडान, कांग्रेस विधानको आरक्षण व्यवस्था र आन्तरिक लोकतन्त्रको अभ्यासले नयाँमा उत्साह देखिएको बताउँछन्। ‘कांग्रेसप्रतिको आकर्षण सबै जिल्लामा बढेको देखिएको छ,' उनले भने, ‘पार्टीको पछिल्लो बाटोले उत्साह बढाएको छ।'

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य जीवनप्रेम श्रेष्ठ पनि नयाँ सदस्यता लिनेमा धेरैजसो युवा भएको दाबी गर्छन्। ‘धेरैजसो युवा छन्, ७०/८० वर्षकाले पनि पहिलोपटक सदस्यता लिएका छन्,' उनले नागरिकसँग भने।

महामन्त्री विमलेन्द्र निधि पनि कांग्रेसको युवापंक्तिमा उत्साह देखिएको बताउँछन्। ‘कांग्रेसप्रतिको विश्वसनीयता बढेकाले धेरै युवा, प्रौढ, दलित, जनजाति, महिलाको सहभागिता बढेको छ,' उनले भने।

संविधानसभायताको कांग्रेस भूमिकाले उत्साह थपिएको उनले बताए।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने कांग्रेसमा नयाँ सदस्य थपिनुलाई ‘महाधिवेशन राजनीति' प्रमुख कारक ठान्छन्। ‘कांग्रेसमा नयाँ सदस्य ह्वात्तै बढ्नुका पछाडि महाधिवेशनको राजनीतिक प्रतिस्पर्धा मुख्य कारक हो,' आचार्यले भने, ‘पुरानाकै परिवारमा सदस्यता लिने उत्साह देखिएको छ।'

कांग्रेस विधानमा पार्टीकार्यमा दैनिक रूपमा संलग्न रही लगातार दुई वर्ष साधारण सदस्य रहेकालाई क्रियाशील सदस्यता दिने व्यवस्था छ।

झापा, चितवन र काठमाडौं बढी क्रियाशील सदस्य रहेका जिल्लामा पर्छन्। झापामा ११ हजार ३ सय ५, चितवनमा ११ हजार ३ सय २० र काठमाडौंमा ९ हजार ४ सय १२ क्रियाशील सदस्य छन्। (नागरिक)

0 comments: