काठमाडौं, साउन १३- नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति, संविधान जस्ता राष्ट्रिय विषय पूरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताएका छन्। उनले पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैलाई उम्मेद्वारी फिर्ता लिन आग्रह पनि गरे।
युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित शान्ति र संविधानका लागि राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उनले कङ्ग्रेस र एमाओवादीका प्रधान मन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नयाँ आधार तयार गर्न पनि आह्वान गरे।
“फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ”– अध्यक्ष खनालले भने।
उनले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई त्याग गर्न र एमाओवादीलाई विषयमा आधारित भएर विगतका सहमति कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न आग्रह गरे। नियम संशोधन गरेर भए पनि अहिलेको प्रधान मन्त्री चुनावको प्रक्रियाको अन्त गरेर सहमति खोज्न पनि खनालले आग्रह गरे।
सोही कार्यक्रममा नेपाली कङ्ग्रेसका उपसभापति प्रकाशमान सिंहले प्रधान मन्त्री निर्वाचनको अहिलेको चरण नटुङ्ग्याई नियम परिवर्तन गर्न नसकिने बताए। “ फुटबल खेल सुरु भयो तर हामी खेल्दैनौँ नियम परिवर्तन गरौँ भनेर हुन्छ? पहिले खेल टुङ्ग्याउँ”- उपसभापति सिंहले भने।
एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बनाउनका लागि मधेसवादी मोर्चाले उठाएको एक मधेस एक प्रदेशको माग स्वीकार गर्न नसकिने बताए।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका लागि शान्ति प्रक्रियामा बाँकी रहेका काम सकेर लोकतान्त्रिक संविधान बनाउने र मधेस लगायतका विभिन्न क्षेत्रले उठाएका माग पूरा हुने आधार र विश्वास गराउनुपर्ने अहिलेको आवश्यकता हो भने।
नेकपा(माले)का महासचिव सिपी मैनालीले लोकतन्त्र, शान्ति र संविधानप्रति बेइमान हुनेलाई प्रधान मन्त्री दिन नसकिने र त्यो अर्थमा एमाओवादीलाई सरकारको नेतृत्व दिन सकिँदैन भने। (nagariknews)
Thursday, July 29, 2010
खनालद्वारा दाहाल र पौडैललाई उम्मेद्वारी फिर्ता लिन आग्रह
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment